लेखनाथ साहित्य पुरस्कार प्रदान

हिमाल प्रेस १५ पुष २०८० २०:०४
14
SHARES
लेखनाथ साहित्य पुरस्कार प्रदान

पोखरा- कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्ती अवसरमा आइतबार विभिन्न पुरस्कार प्रदान गरिएको छ। लेखनाथको परिवारजनबाट स्थापित एवं लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कारबाट शताब्दी काव्यपुरुष गोपाल वैद्य किञ्जल्क (१०३ वर्षीय) सम्मानित भए।

आइतबार भैरवटोलस्थित किञ्जल्ककै निवासमा पुगेर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उनलाई ५० हजार रुपैयाँ र सम्मानपत्र अर्पण गरे। सम्मानित व्यक्तित्व नेपाली र संस्कृत भाषामा सिद्धहस्त मानिन्छन्।

पुरस्कार अर्पण गर्दै महानगर प्रमुख आचार्यले नेपाली र संस्कृत दुवै साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएका शताब्दी पुरुषलाई सम्मान गर्न पाउँदा गर्वको महसुस भएको बताए।

समारोहमा सरुभक्त, तीर्थ श्रेष्ठ, परिवारका तर्फबाट रामगोपाल ढेवाजु, पुरस्कार संस्थापकतर्फबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराई, डा. प्रतिभा पाण्डे लगायतको उपस्थिति रहेको थियो।

यस्तै, कविशिरोमणिको जन्मस्थल अर्चलेमा आयोजित समारो कुन्तीदेवी साहित्य पुरस्कारबाट भागिरथि श्रेष्ठ सम्मानित भइन्। लेखनाथ पौड्यालका परिवारबाट स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ। लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराम ढकालले सम्मानित स्रष्टा भागिरथि श्रेष्ठको जीवनी र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारे।

साथै, लेखनाथ सांस्कृतिक पुरस्कार लोकसांस्कृतिक संरक्षण समिति पोखरा–२६ लाई २५ हजारसहित प्रदान गरिएको छ। मधुमाया ढकाल शिक्षा पुरस्कार जनज्योति माविको एसइईमा सर्वोत्कृष्ट हुने छात्रा स्मृति बिकलाई प्रदान गरिएको छ। पुरस्कार राशि १० हजार छ। दुवै पुरस्कार प्रतिष्ठान अध्यक्ष ढकालले बाबु र आमाको नाममा स्थापना गरेका हुन्।

यसैबीच, लेखनाथ पत्रकारिता पुरस्कारबाट कान्तिपुरका दीपक परियार सम्मानित भए। लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित उक्त पुरस्कारको राशि ११ हजार र सम्मानपत्र छ।

प्रकाशित: १५ पुष २०८० २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =