अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न लुम्बिनीमा सडक खाना महोत्सव

हिमाल प्रेस ११ पुष २०८० १५:०४
38
SHARES
अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न लुम्बिनीमा सडक खाना महोत्सव

लुम्बिनी- अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी बुद्धजन्मस्थल लुम्बिनीमा दशौं खाना सडक महोत्सव हुने भएको छ। लुम्बिनी होटल संघ, नेपाल (लाहान) को आयोजनामा ३१ डिसेम्बर (पुस १५)को दिन लुम्बिनी साँस्कृतिक सडक खाना महोत्सव हुने भएको हो।

संघले बुधबार पत्रकार सम्मेलन गरी लुम्बिनी आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गरी सडक खाना महोत्सव गरिएको जनाएको छ। स्थानीय खानपिनका परिकारहरूका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरू महोत्सवमा उपलब्ध गराइने अध्यक्ष गोविन्द ज्ञवालीले बताए।

महोत्सवमा स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राह्मण समुदाय, नेवारी समुदाय, गुरुङ्ग, मगर समुदाय, आदिका खानपिनका साथै पाल्पाको किनिया रोटी बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामी मिठाइ इम्रिति (अमृति) लगायतका परिकार उपलब्ध रहने अध्यक्ष ज्ञवाली बताए।

पत्रकार सम्मेलनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सडक खाना महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए। साँस्कृतिक महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै मेयर मुसलमानले भव्य रुपमा मनाउन आग्रह गरे।

महोत्सवमा नौमती, पञ्चेबाजा बिरहा थारु झुमराका साथै आधुनिक पप डिजे गीत संगीतको माध्यमबाट मनोरञ्जन उपलब्ध गराइने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए। लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा लुम्बिनी पर्यटन विकास परिषद आयोजकका रूपमा रहनेछन। महोत्सव लक्षित गरी लुम्बिनी होटल संघले पुस १६ गतेका निम्ति होटल कोठामा १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए।

महोत्सवमा भारतबाट २० हजार बढी पर्यटक आउने र आन्तरिक रुपमा पनि पर्यटकको बाक्लो अवलोकलन हुने आयोजकले दाबी गरेको छ। महोत्सव लक्षित सुरक्षा व्यवस्थापनका लागि पनि समन्वय भइरहेको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न गर्न करिब १२ लाख अनुमानित खर्च लाग्ने जनाईएको छ।

प्रकाशित: ११ पुष २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =