प्रधानाध्यापककै मिलेमतोमा छात्रामाथि यौन दुर्व्यवहार!

हिमाल प्रेस ९ पुष २०८० १८:००
1.6k
SHARES
प्रधानाध्यापककै मिलेमतोमा छात्रामाथि यौन दुर्व्यवहार!

काठमाडौँ- छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल नगरपालिकास्थित जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्।

पाँचखाल नगरपालिका–६ मा रहेको उक्त विद्यालयमा कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरू पक्राउ परेका हुन्।

प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको बताए।

उनले भने, ‘जोरपाटी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग भेट भयो। विद्यालय अनुगमन गर्न जाने क्रममा गम्भीर घटना भएको थाहा भयो। कक्षा ९ की छात्रालाई दसैँ र तिहारको बीचमा त्यही विद्यालयमा पढाउने शिक्षकले होटलमा लगेर करणाी गर्नुभएछ। पैसा पनि दिनुभएछ।’

विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ। खरेल भन्छन्, ‘पिन्सिपलले नै मोबाइलबाट अश्लील म्यासेज पठाउनुभएको रहेछ।’

घटना बाहिरिएसँगै प्रमुख खरेलले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन्। उनले कानुनले तोकेअनुसार हदैसम्मको कारबाहीको माग गरेका छन्।

प्रभुख खरेलले छात्राको स्वास्थ्य जाँच गर्न निर्देशन दिनुका साथै अभिभावकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रधानाध्यापककै मिलेमतोमा छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि नगरपालिकाअन्तर्गतका प्रधानाध्यापकलाई कार्यकक्षमा डाकेर छलफल गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल।

खरेलकै रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी प्रधानाध्यापकलाई बर्खास्त गरी विद्यालयमा कार्यवाहक प्रधानाध्यापकसमेत तोकिएको छ।

मेयर खरेलले आफ्नो साढे ६ वर्षको अवधिमा पहिलो पटक शिर निहुरिएको बताए। उनले यस्तो जघन्य अपराध गर्ने शिक्षकलाई तुरुन्तै बर्खास्त गर्न शिक्षा विभागलाई अनुरोधसमेत गरेका छन्। उनले भने, ‘पाँचखाल नगरपालिकामा मैले काम गरेको साढे ६ वर्ष भयो। आज मेरो शिर पहिलोपटक निहुरियो। ’

उनले नगरपालिकाअन्तर्गतका विद्यालयमा यौनजन्य क्रियाकलाप भए नभएको अनुसन्धान सुरु गरिने पनि बताए।

‘प्रत्येक स्कुलमा विगतदेखि नै यस्ता क्रियाकलाप भएका छन् कि छैनन् भनेर अनुसन्धान गर्न बाध्य भयौँ। सबैले सबैलाई शंकाको दृष्टिकोणले हेर्नुपर्ने भयो। यस्ता गतिविधि कोही कसैले गर्नुभएको छ भने स्वस्फूर्त आउनुपर्‍यो। होइन भने छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।’

उक्त घटना लुकाउने प्रयास भइरहेकोमा आफैँ उपस्थित भएर दोषीहरूलाई प्रहरीको जिम्मा लगाइएको प्रमुख खरेलले बताए।

खरेलले सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकलाई यौनजन्य घटना अन्त्यसम्बन्धी विद्यार्थीलाई परामर्श दिन पनि निर्देशन दिएका छन्। उनी भन्छन्, ‘थप प्रहरीले अनुसन्धान गरेर, सत्यतथ्य बाहिर ल्याउनेछ। घटनालगत्तै नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरूलाई आवश्यक निर्देशन दिएको छु।’

प्रकाशित: ९ पुष २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =