छ सीप, छैन बजार

हिमाल प्रेस ५ पुष २०८० २१:४३
10
SHARES
छ सीप, छैन बजार

तनहुँ- तनहुँको देवघाट गाउँपालिका-४ बासपानी डुडे बसेनीका ४० वर्षीया फूलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त छिन्। आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पुर्ख्यौली पेसाबाट नै आम्दानी गर्दै आएको फूलमायाले बताइन्।

खेतीबाली लगाउनुका साथै फूलमायाले बाख्रा, कुखुरा पालेकी छन्। मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उनले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताइन्। डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उनले सुनाइन्।

‘हामीले पुर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ। महिलाले डालो, सोली बुन्छौँ। पुरुषले ठूलो भकारी बुन्छन्,’ उनले भनिन्। यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुर्‍याउने गरिएको उनले बताइन्।

दुई सय रुपैयाँ प्रतिघनमा बाँस किनेर सामग्री बनाउँदै आएको फूलमायाले जानकारी दिइन्। ‘ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ। बाँसको घनअनुसार सामान बनाउने हो,’ उनी भन्छिन्।

फूलमायाका अनुसार १२० रुपैयाँमा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ। ‘पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो। अचेल पहिलाको जस्तो किन्दैनन्,’ उनले भनिन्, ‘यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ।’

यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फूलमायाले अनुभव सुनाइन्। ‘अहिले छोराहरूले रोजगारी गर्छन्। आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ। सीप त छ तर बजार र मूल्यको समस्या हुने गरेको छ,’ उनी भन्छिन्।

यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताए। बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ।

उनका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ। ‘किनेर बनाउनु पर्ने भएकाले महँगोमा बेच्दा बिक्री हुँदैन। कम मूल्यमा बेच्दा सीप र मेहनत अनुसारको लागत उठ्दैन,’ उनले भने। रासस

प्रकाशित: ५ पुष २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =