कांग्रेसको एजेन्डामा सबै दलहरूलाई ल्याउन सफल भयौँ : देउवा

हिमाल प्रेस ३ पुष २०८० १९:३९
8
SHARES
कांग्रेसको एजेन्डामा सबै दलहरूलाई ल्याउन सफल भयौँ : देउवा

पोखरा- नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको एजेन्डामा सबै दलहरूलाई ल्याउन सफल भएको बताएका छन्। पोखरामा मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले सबै दलहरूले कांग्रेसको एजेन्डा पछ्याइरहेको बताएका हुन्।

उनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर आगामी २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बनाउन लाग्नुपर्ने बताए। उनले भने, ‘अब गुट उपगुट होइन, पार्टीलाई बलियो बनाएर लैजानुपर्छ।’ अहिलेको गठबन्धन बाध्यता भएको उनले जिकिर छ। कुनै पनि दलले बहुमत ल्याउन नसकेको अवस्थामा दलहरुको गठबन्धन बाध्यता भएको उनको भनाइ छ।

पार्टीका महामन्त्री गगन थापाले नेताहरुको लागि पार्टी कर्म र कार्यकर्ताका लागि आस्था भएको बताए। द्वेष, उत्तेजना, घृणाको राजनीति गर्न नहुने उनको सुझाव छ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा सुदृढीकरणको आवश्यकता रहेकोमा जोड दिए। सहमहामन्त्री जीवन परियारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि जनताले त्यसको महसुस गर्न नपाएको गुनासो गरे।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले २ दिनसम्म चल्ने सम्मेलनमा ५ जना प्रतिनिधिले भाग लिएको बताए। सम्मेलनले पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न र जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न सहज हुने भन्दै पार्टीलाई सशक्त र गतिशील बनाउन बल पुग्ने गण्डकी उनको भनाइ छ। उद्घाटन पोखरा सभागृहमा भए पनि बुधबार बन्दसत्र महेन्द्रपुलस्थित पोखरा पार्टी प्यालेसमा हुनेछ।

सम्मेलनमा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अवधारणा पत्र, प्रदेशका महामन्त्री किरणबाबुु श्रेष्ठले सांगठानिक प्रतिवेदन, अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन एवं कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेस गण्डकी प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेलले बताए।

यसैबीच सम्मेलनमा टाँगिएको ब्यानरमा अंकित ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ वाक्य देउवाको निर्देशनमा हटाएको छ। नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच केही समय भनाभन नै भएको थियो। सभापति देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र उक्त वाक्य हटाउन टेप टाँसिएको थियो।

प्रकाशित: ३ पुष २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =