वैदेशिक रोजगारीमा ठगी : ‘श्रम सम्झौता नगरी जाँदैनजानू’

विजय नेपाल १ पुष २०८० १६:३६
8
SHARES
वैदेशिक रोजगारीमा ठगी : ‘श्रम सम्झौता नगरी जाँदैनजानू’ वैदेशिक रोजगारीमा जान लागेका युवालाई परामर्श दिँदै सामी परियोजनाका कर्मचारी। तस्बिर : विजय नेपाल

पोखरा– वैदेशिक रोजगारीका क्रममा अधिकांश युवा एजेन्टका अतिरिक्त आफन्त, म्यानपावर कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिँदै आएका छन्। ठगीका घटना बढे कतिपयलाई उजुरी कहाँ दिने भन्ने समस्या छ। साथै ऋण गरेको पैसा डुब्ने र काम पनि नपाइने भएकाले श्रम सम्झौताबिना रोजगारीमा नजान भुक्तभोगीहरूले सुझाव दिएका छन्। कोही युवा स्वदेशमै ठगिएर ऋणमा डुबेका छन् भने कोही विदेशमा पुगेपछि ठगीमा परेर फर्कन बाध्य भएका छन्।

विदेशमा पुगेर ठगीमा परेको थाहा पाउने महिला हुन् कास्की याङ्जाकोटकी पार्वती परियार। उनी राम्रो कमाइ हुने आसमा गत वर्ष एजेन्टमार्फत घरेलु कामदारका लागि कुवेत उडिन्। त्यहाँ पुग्दा सोचेजस्तो रहेनछ। काम त पाइन् तर तलब छैन। तलब माग्दा मालिकबाट उल्टै धम्की सहनुपर्‍यो। खानै नपाउने अवस्था आएपछि ६ महिने कुवेत बसाइ उनका लागि निकै कष्टकर बन्यो।

परियार सामी परियोजनाको पहलमा स्वदेश फर्किइन्। कुवेतमा भोगेको कहालीलाग्दो घटना स्मरण गर्दै उनले भनिन्, ‘मलाई त यस्तो भयो। विदेश जाँदा सकेसम्म बुझेर जानू, घरेलु कामदारमा नजानू, श्रमसम्झौता गरेर मात्रै जानू।’

उनका अनुसार घरेलु कामदारभन्दा कम्पनीमा राम्रो हुन्छ। वैदेशिक रोजगारीमा गएर १ लाख रुपैयाँभन्दा बढी रकम गुमाएकी उनी राम्रो काम पाए फेरि विदेश जानुपर्ने मनस्थितिमा छिन्। उनी भन्छिन्, ‘यहाँ बसेर फाइदा छैन। जागिर पाइँदैन। जानु त पर्ने होला नि।’

साथीभाइको लहैलहैमा माल्टा जाने भनी लमजुङ क्लोलासोथार-९ टक्सारका २४ वर्षीय नवीन गुरुङले २ लाख २० हजार रुपैयाँ डुबाएका छन्। नयाँदिल्लीस्थित दूतावासले भिसा दिन इन्कार गरेपछि उनी माल्टा जान त पाएनन् नै ऋण गरेको रकम पनि डुब्यो।

गुरुङले माल्टा जान भनी एजेन्टलाई ४ लाख रुपैयाँ बुझाएका थिए। भिसा नआएपछि सम्बन्धित निकायमा उजुरी दिए। बल्लतल्ल १ लाख ८० हजार फिर्ता पाए पनि बाँकी मन मारेका छन्।

गत आव २०७९/८० मा कास्कीमा १ सय ७२ जनाले वैदेशिक रोजगारीका क्रममा ठगिएको भनेर उजुरी दिएका छन्। वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत संस्था वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन (सामी) परियोजनाले संकलन गरेको विवरणअनुसार तीमध्ये १५ जना महिला छन्। उनीहरूमध्ये ४१ जनाले दिएको उजुरीको समाधान भएको छ भने अन्य प्रक्रियामा रहेको सामी परियोजनाअन्तर्गत आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता हेमराज अधिकारीले बताए।

उजुरीको संख्या बढिरहेको उनी बताउँछन्। अघिल्लो आव २०७८/७९ मा १ सय ३३ र आव २०७७/७८ मा ३५ उजुरी परेका थिए। तीमध्ये महिलाका उजुरी क्रमशः १२ र ३ थिए।

आव २०७९/८० मा उजुरीबापत माग दाबी रकमध्ये महिला पुरुष दुवै गरी कुल ९५ लाख क्षतिपूर्ति दिलाइएको थियो।

आव २०७८/७९ मा पुरुषलाई ३९ लाख ९१ हजार तथा महिलालाई २८ लाख २० हजार तथा आव २०७७/७८ मा पुरुषलाई ६ लाख ५५ हजार र महिलालाई १ लाख २५ लाख पीडितमार्फत क्षतिपूर्ति दिलाइएको अधिकारीले बताए।

चालु आवको पाँच महिनामा ठगीमा परेको भनेर १ महिला र ३४ पुरुष गरी ३५ ले उजुरी दिएका छन्। जसमा १३ लाख ८० हजार रुपैयाँ रकम दाबी गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामीले वैदेशिक रोजगारको क्षेत्रमा सीप, सूचना र परामर्श, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र कानुनी सहायता उपलब्ध गराउँदै आएको छ।

कास्कीमा आफूहरूले वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउन आउनेलाई सचेतना दिइँदै आएको अधिकारीले बताए। कार्यालयले श्रम स्वीकृतिको महत्त्व, स्वास्थ्य परीक्षण, बिमा, अभिमुखीकरण तालिम, रसिद वा भर्पाई, नेपालकै विमानस्थलको प्रयोग, सीपको महत्त्व, कानुनी प्रावधानलगायतबारे जानकारीसहित सम्बन्धित व्यक्तिलाई सचेत गराउँदै आएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको उजुरी शाखामा कार्यरत नासु चेतराज आचार्यले वैदेशिक रोजगारीमात्र नभई विभिन्न ठगीमा परेको भनी महिनामा २०/२५ वटा उजुरी पर्ने गरेको बताउँछन्। उनका अनुसार प्रमाणका रूपमा चेक फिर्ता लिएका, कुनैले भौचर जम्मा गरेको निस्सा लिएर आउँछन् भने कुनैले म्यासेजमा कुराकानी गरेको तर केही पनि प्रमाण नभएको भनी गुनासो लिएर आउने गरेका छन्। त्यस्ता उजुरीमध्ये रकम बुझाएको भौचरमा वैदेशिक रोजगार लेखेका भएमात्र वैदेशिक रोजगार विभागमा पठाउने गरिएको छ। त्यसबाहेक जिल्ला तहबाटै ठगी अभियोगमा मुद्दाको किनारा लगाइने जानकारी आचार्यले दिए।

जिल्ला प्रशासन कार्यालय कास्कीको उजुरी शाखामा कार्यरत नासु चेतराज आचार्य।

वैदेशिक रोजगारीका क्रममा सम्भावित ठगीबाट जोगिन जनचेतना आवश्यक हुने उनको भनाइ छ। विदेश जानेहरूले रकम बुझाएको भौचरमा वैदेशिक रोजगारी खण्डमा अनिवार्य चिह्न लगाउनुपर्ने सुझाव उनी दिन्छन्।

पोखरास्थित वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मी वैदेशिक रोजगारका क्रममा हुने ठगीका घटनामा उजुरी कहाँ दिने? कसरी दिने? भन्नेमा कतिपय अझै अनविज्ञ रहेको बताउँछन्।

कास्कीमा गत वर्ष वैदेशिक रोजगारीको क्रममा करिब ४ करोड रुपैयाँ हाराहारी ठगिएको भनी उजुरी दर्ता भएको उनले बताए। गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ, नवलपुर, तनहुँ, स्याङ्जा, कास्कीबाट वैदेशिक रोजगारीमा जानेको संख्या धेरै छ।

वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयलाई वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाको उजुरी लिने र मिलापत्र गराउने अधिकार छ। तर यस्ता ठगीका उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिबाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ। सबै अधिकार जिल्ला तहमा पनि व्यवस्था हुनुपर्ने पीडितको माग छ।

प्रहरीमा गत वर्ष ४१ ठगीका उजुरी

वैदेशिक रोजगार ठगीसम्बन्धी कास्की प्रहरीमा गत वर्ष ४१ उजुरी दर्ता भए। ती उजुरीका आधारमा साढे १ करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको माग दाबी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत आव २०७९/०८० मा कार्यालयमा दर्ता हुन आएका कुल ४१ उजुरीअनुसार १ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबर रकम ठगी भएको हो। सबैभन्दा बढी साउन र मंसिरमा सातवटा उजुरी परेका थिए। त्यसपछि जेठ, कात्तिक र चैतमा चारचारवटा उजुरी परेका छन्। जेठमा परेका चार उजुरीमा ठगी भएको उल्लिखित ४२ लाख ६० हजार वर्षभरिकै सबैभन्दा धेरै रहेको प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए।

कास्की प्रहरीले चालु आव २०८०/०८१ को चौमासिकमै १५ उजुरी लिएको छ। साउनमा ५, भदौमा २, असोजमा ४ र कात्तिकमा ३ उजुरी दर्ता हुँदा कुल ८४ लाख ५० हजार रुपैयाँ बराबरको रकम ठगी भएको दाबी गरिएको छ।

प्रहरीले वैदेशिक रोजगारी भए वैदेशिक रोजगार बोर्डमा पठाउने र त्यससम्बन्धी रकम लेनदेनको ठगी भए जिल्ला तहमै किनारा लगाउने गरेको प्रवक्ता विकले बताए।

वैदेशिक रोजगारीको प्रलोभनमा मासिक १५ करोड ठगी

प्रकाशित: १ पुष २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =