आवरण

वैदेशिक रोजगारीको प्रलोभनमा मासिक १५ करोड ठगी

रमेश भारती २४ मंसिर २०८० १३:१३
124
SHARES
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक १५ करोड ठगी वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ-  ‘बेलायतमा रोजगारी, अमेरिकामा सस्तोमा कामदारको अफर, माल्टामा प्रक्रिया थालेको तीन महिनामै भिसा लगाइदिन्छौँ’ सामाजिक सञ्जालमा देखिने यस्ता विज्ञापनमा भर पर्दा धेरै बेरोजगार युवा ठगिन थालेका छन्। फेसबुक, इन्स्टाग्राम आदिमा प्रसारित विज्ञापनमा विश्वास गरी एजेन्टलाई पैसा बुझाउँदा उनीहरू ठगिएका हुन्।

बेरोजगार युवा ठगिने क्रम बढ्द पनि सरकारले यस्ता विज्ञापनमा रोक लगाउन सकेको छैन। साथै युवा पनि यस्तै विज्ञापनको भर परेर एजेन्टलाई लाखौँ रुपैयाँ बुझाउँदै आएका छन्। भिसा नआएपछि र पैसा पनि फिर्ता नभएपछि आफू ठगिएको पीडित बताउँछन्।

यसरी ठगिनेमध्ये एक हुन् धरान नगरपालिकाका विकास लिम्बू। उनले सामाजिक सञ्जालमा विज्ञापन देखेर आधारमा वैदेशिक रोजगारीमा जान पाँच लाख रुपैयाँ दलाललाई बुझाए। एजेन्टले बेलायत पठाइदिने आश्वासन दिएपछि उनले राहदानीसहित पाँच लाख रुपैयाँ दिए। महिनौँसम्म भिसा आएन। अन्तिममा एजेन्ट फरार भए। लिम्बू विलखबन्दमा परेका छन्।

देशभित्र कामको अवसर र रोजगारी नपाएकै कारण वैदेशिक रोजगारीमा जान खोज्दा दलालको फन्दामा परेको उनी बताउँछन्। ‘सामाजिक सञ्जालमा आउने आकर्षक विज्ञापन सहीजस्तै लाग्छ। यस्तो विज्ञापनमा रोजगारीको खोजीमा रहेका युवा ठगिन्छन्’, लिम्बूले भने, ‘भिसा लाग्छ भनेर दलालले चारपटकमा पाँच लाख असुल्यो। नक्कली भिसा बनाएर पैसा मागेको रहेछ। सात महिनासम्म वैदेशिक रोजगारीमा नपठाएपछि प्रहरीमा उजुरी गरेँ।’

लिम्बूलाई इटहरीमा कार्यालय खोलेर बसेका विकास स्यामी भन्ने व्यक्तिले ठगेका थिए।

अर्का ठगिने युवा हुन् धनगढीका पर्वत चन्द। क्यानडामा कृषि क्षेत्रमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालको विज्ञापन देखेपछि उनी एजेन्टको सम्पर्कमा गए। उसले मागेअनुसार ऋण खोजेर भए पनि सात लाख रुपैयाँ बुझाए। तर भिसा नआएपछि उनी आफू ठगिएको स्पष्ट भए।

चन्दा काठमाडौँस्थित पुतलीसडकमा दर्ता नै नगरी सञ्चालित बूढानीलकण्ठकी फूलमाया जिरेलले सञ्चालन गरेको कन्सल्टेन्सीबाट ठगिएका थिए।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति पाइलैपिच्छे भेटिने गरेको चन्दले बताए। ‘सामाजिक सञ्जालमा गरेको विज्ञापनको प्रलोभनमा पर्दा ठगिएँ। एकातिर पैसा गयो भने अर्कोतिर राहदानीसमेत हरायो। अहिले प्रमाण नभएर बुझाएको पैसा डुब्यो’, चन्दले भने। उनी‘वैदेशिक रोजगारीमा यूएई गएर फर्किएका थिए। क्यानडामा राम्रो आम्दानी हुन्छ भनेर दुबईमा कमाएको पैसा फसाएको उनी बताउँछन्। चन्द भन्छन्, ‘नेपालमै केही गरौँ भनेर यूएईबाट फर्किएको थिएँ। तर यहाँ काम गर्ने वातावरण नै नभएपछि विदेश जान खोजेको थिएँ।’

रामेछाप मन्थलीका विकास जोगी पनि वैदेशिक रोजगारीमा जान खोज्दा ठगिएका छन्। जोगी माल्टा जाने चक्करमा ठगिएको बताउँछन्। माल्टा पठाउने भनेर काठमाडौँमा रहेको नाइस म्यानपावर प्रालिले दुई लाख रुपैयाँ खाइदिएको उनले गुनासो गरे। ‘माल्टाको रोजगारीमा जाने भनेर एक वर्षअगाडि नाइस म्यानपावरलाई दई लाख रुपैयाँ बुझाएँ। तर उक्त म्यानपावरले अर्को महिना भन्दै एक वर्षदेखि झुक्याइरहेको छ’, जोगीले भने, ‘अहिले राहदानी र पैसा माग्दा फिर्ता दिँदैन।’

वैदेशिक रोजगार विभागमा लिम्बू, चन्द र जोगीजसरी ठगिएका दैनिक २० जनाभन्दा बढी युवा गुनासोसहित आउने गरेको विभागका अधिकारीहरू बताउँछन्।
रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र पोल्यान्डलगायतका देशको वैदेशिक रोजगारीको प्रलोभनमा परी शिक्षित युवा ठगीमा परिरहेको विभागको वार्षिक अध्ययनमा उल्लेख छ।

स्वदेशमा मात्रै होइन, विदेशमा पनि नेपाली युवा दलालको फन्दामा पर्ने गरेका छन्। रोजगारदाता देशबाट अर्को विकसित देश जाने चक्करमा ठगिने गरेको जानकारहरू बताउँछन्। भारत, यूएई, कतार, कुवेत र मलेसियाबाट अमेरिका, युरोप, क्यानडा र अफ्रिकी देशमा रोजगारीको प्रलोभनमा धेरै नेपाली ठगिने गरेको सम्बन्धित देशका दूतावासले जनाएका छन्।

मासिक १५ करोड ठगी

वैदेशिक रोजगार विभागका अनुसार सामाजिक सञ्जालबाट गरिने विज्ञापन, व्यक्तिगत, म्यानपावर, कन्सल्टेन्सी, एजेन्ट, संघसंस्था, भिजिट भिसा र दलालमार्फत मासिक ९ हजारभन्दा बढी युवा ठगिने गरेको विभागको पछिल्लो अध्ययन प्रतिवेदनमा उल्लेख छ।  यस्ता युवाबाट म्यानपावरका एजेन्ट, म्यानपावर कम्पनी र रोजगारी तस्करीले मासिक १५ करोड रुपैयाँभन्दा बढी आर्थिक ठगी गरिरहेको विभागको अध्ययनमा उल्लेख छ।

रोजगारीको खोजीमा रहेका युवासँग म्यानपावरका एजेन्ट, रोजगारी तस्करी र म्यानपावर कम्पनीले प्रतिव्यक्ति ७० हजारदेखि १ लाखसम्म प्रोसेसिङका नाममा पैसा लिने गरेको उजुरी आएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।

भ्रमपूर्ण विज्ञापन गरी तस्करले देशअनुसार कामदारसँग प्रक्रियाका नाममा अग्रिम पैसा लिएर भाग्ने गरेको उनले बताए। उप्रेतीका अनुसार युरोपेली देश, अमेरिका र क्यानडाजस्ता देशमा वर्किङ भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने गिरोह सक्रिय छ।

‘सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन सामान्यदेखि ठूलो रकम ठगी भइरहेको छ। म्यानपावर कम्पनीभन्दा पनि सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने व्यक्तिगत गिरोह ठूलो छ’, उनले भने, ‘सामाजिक सञ्जालको विज्ञापनका आधारमा रोजगारीका नाममा ठगिएका मासिक पाँच सयभन्दा बढी पीडित समस्या लिएर आउने गरेका छन्।’

विभागका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्नेहरूले ठगी गरेको उजुरी परेको छ।

सामाजिक सञ्जालमा हुने विज्ञापनको भ्रममा परी नठगिन रोजगारीको खोजीमा रहेका युवालाई विभागले आग्रह गर्दै आएको छ। उप्रेतीले सामाजिक सञ्जालमा आएका युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारी पाइने भन्नेजस्ता भ्रामक विज्ञापनको विश्वास नगर्न आग्रह गरे।

वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) हरूले प्रचलित कानुनबमोजिम नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाउन सक्ने व्यवस्था वैदेशिक रोजगार ऐनमा छ।

विभागले आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्न पाइँदैन। तर पछिल्लो समयमा अध्ययनका लागि विद्यार्थी बाहिर पठाउने कन्सलटेन्सी, ट्राभल एजेन्सी, व्यक्तिगत दलाल, म्यानपावरका एजेन्ट र म्यानपावरले समेत सामाजिक सञ्जालमा विज्ञापन गरी युवालाई ठग्दै आएका छन्।

चालु आर्थिक वर्षको साढे ४ महिनामा वैदेशिक रोजगारीमा खोजीमा रहेका करिब २ हजार युवा ठगिएको विभागको तथ्यांक छ। यस अवधिमा ५ सय ४३ वटा उजुरी परेको उप्रेतीले जानकारी दिए।

गत आर्थिक वर्षमा २ हजार ३ सय रोजगारीमा ठगिएको उजुरी परेको थियो। वैदेशिक रोजगारीका नाममा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी ठगि भएको बिगो दाबीसहितको उजुरी पर्ने गरेको छ। विभागमा व्यक्तिगत र संस्था रूमा ठगिएका पीडितले उजुरी गर्ने गरेका छन्।

प्रकाशित: २४ मंसिर २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =