रथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान र बलाधिकृतको जिम्मेवारी

हिमाल प्रेस २९ मंसिर २०८० १९:४०
792
SHARES
रथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान र बलाधिकृतको जिम्मेवारी

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देललाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्। उनले प्रधानसेनापति शर्मापछि दोस्रो रोल क्रममा सेनाको कमाण्ड सम्हाल्नेछन्। शर्मा आगामी भदौमा अवकाश भएपछि उनको स्थानमा उनै सिग्देल पुग्नेछन्।

सिग्देललाई मन्त्रिपरिषद्ले मंसिर २८ गते बढुवा गर्ने निर्णय गरेको थियो। यद्यपि उनको फाइल मन्त्रिपरिषद्‌‍‍मा गत बिहीबार नै प्रस्तुत भएको थियो। सेनाभित्र ताराध्वज पाण्डेले जन्ममिति तलमाथि गरेको पत्ता लागेपछि उनले आफ्नो छवि बचाउन राजीनामा दिएका थिए। उनीसँगैका सिग्देलको पनि त्यस्तै हो कि भनेर केहीले हावामा तीर चलाउँदा र राजनीतिक नेतृत्वले अलमल गर्दा एक साता ढिला गरी उनको बढुवा भएको हो।

२०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ फागुन ३ मा नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ देखि नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए।

रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, सम्भाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्दै यो तहमा आएका हुन्।

उनी भारत, इण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी हुनुका रथी सिग्देलले चीनबाट एनडीसी प्रशिक्षण सम्पन्न गरेका हुन्। उनले युगोस्लाभिया, ताजकिस्तान र लाइबेरियामा शान्ति सेनामा सहभागी भएर पनि काम गरिसकेका छन्।

जंगी अड्डामा उनी एक कुशल, अध्ययनशील, निडर, आफ्नो कुरा राख्न सक्ने र राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने, घर धाउने नगर्ने हुनाले अन्य त्यस्ता सेनाका अधिकारीलाई पनि उनले राजनीतिक फेरो वा केही लगाएको थाहा पाएमा सतर्क गराउने गर्छन्। सेना राज्यको अन्तिम समयसम्म लड्ने र आफ्ना नागरिक एवं भूभागको रक्षा गर्ने अंग हुनाले कुनै दल विशेषसँग नभई सबैको हुनुपर्ने र राजनीतिक नेतृत्वले पनि त्यसै गरी हेरिदिन पर्नेमा उनी अडिग छन्।

२०८१ भदौमा हालका प्रधानसेनापति शर्माको कार्यकाल सकिएपछि सिग्देल प्रधानसेनापति बन्ने हुनाले उनलाई रोक्न ‘भडुवा’ समूह लागेको नेतृत्वको बुझाइ छ। सिग्देल २०७६ असोजमा उपरथीमा बढुवा भएका थिए। त्यतिबेला नै उनको उमेर विवाद छानबिन भएको र अहिले पनि उमेर र सर्टिफिकेट हेरेर मात्र बढुवा सिफारिस गरिएको हो।

अनुशासनमा निकै जोड दिने उनले हरेकलाई त्यसमा अडिग रहन पनि सिकाउँदै आएका हुन्छन्। विगतमा गरेका कारबाहीलाई समेत ध्यानमा राखेर अघि बढ्न संकेत गर्ने उनी भित्री हृदयमा कोमल भए पनि सेनाभित्र कडा रुपमा प्रस्तुत हुन्छन्। सेना सधैँ तयारी अवस्थामा रहन पर्ने, सधैँ युद्धकालीन, प्राकृतिक प्रकोपमा उद्धारका लागि पनि लागिरहन पर्ने हुनाले पनि तयारी अवस्थामा रहनुपर्ने बताउँछन्।

हाल नीति तथा योजना विभागको विभागीय प्रमुखमा रहेर काम गरिरहेका उनले अब सेनाको दोस्रो तहको कमाण्ड लिनेछन्। जंगी अड्डामा आयोजित समारोहमा उनलाई शर्माले चिह्न लगाउँदै जिम्मेवारी थपिएको भन्दै बधाई समेत दिएका थिए। उनी आजैदेखि बलाधिकृत नियुक्त भएका छन्।

सिग्देलसँगै अर्का एक सहायक रथी सन्तोषबल्लभ पौडेल उपरथीमा बढुवा भएका छन्। उनलाई पनि दर्ज्यानी चिह्न  प्रदान गरिएको थियो। तर उनी विवादमा परेर राजनीतिक शक्तिको आडमा यहाँसम्म आएका हुन्। २०६३ मा बझाङमा गुल्मपति हुँदा हतियार हराएर कोर्ट मार्सलमा परेका र तत्कालीन राजनीतिक शक्तिका कारण उनले जरिबाना तिरेर सेनामा रहन सफल भए।

त्यस्तै उनी गणेशदलमा गणपति हुँदा पुरुष र महिलाबीचको ‘ह्यारेसमेन्ट’ केसमा कमाण्ड हाँक्न नसकेको, लामो समय अनेकन् उपाय गरेर विदेशमा रहेको र पछिल्लो समय शान्ति सेना निर्देशनालयमा कार्यरत रहँदा रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध छानबिन अघि बढेको छ। उनले आफूमार्फत् मात्र नभई श्रीमतीमार्फत् समेत सेनामा बढी नै चलखेल गर्ने गरेको आरोप लागेका पौडेल पनि उपरथी भएपछि सेनाभित्रको एक तप्का आश्चर्यमा परेको छ।

उनको फाइल एकपटक रक्षा मन्त्रालयबाट फिर्ता आएको थियो। क्याडेटमा आवेदन दिँदाको उमेर पनि नपुगेको विषय रहँदारहँदै पनि निगाहमा बढुवा भएको सैनिक अधिकारीहरू बताउँछन्। पौडेललाई खाली रहेको पश्चिम पृतनापतिमा नियुक्त गरिएको छ। दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो।

प्रकाशित: २९ मंसिर २०८० १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =