भारतको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना सुरू

हिमाल प्रेस २८ मंसिर २०८० ११:४९
6
SHARES
भारतको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना सुरू

काठमाडौँ– भारत सरकारको आर्थिक सहयोगमा नेपालका विभिन्न क्षेत्रमा पूर्वाधार निर्माण गर्ने उद्देश्यले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास गरिएको छ।

पूर्वमन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले नेपाल–भारत विकास सहकार्यअन्तर्गत उक्त परियोजनाको उद्घाटन गरेका छन्। यसअन्तर्गत भारत सरकारको ३ करोड ७९ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उदयपुरको बेलका नगरपालिकास्थित जनता बेलका माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको यो परियोजनामार्फत भारत सरकारको अनुदान सहयोगमा कक्षा कोठा र अन्य पूर्वाधारसहितको तीन तल्ले विद्यालय भवनको निर्माण हुनेछ।

भारत सरकार र नेपालबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइने भएको हो। उदयपुरको बेलका नगरपालिकामार्फत यो परियोजनाको कार्यान्वयन अगाडि बढेको छ।

कार्यक्रममा बोल्दै डा. नारायण खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले गर्दै आएको निरन्तर विकास र सहयोगको प्रशंसा गरे।

भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण हिस्सा भएको बताए। उनले परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा रहेका विभिन्न क्षेत्रलाई समेटेको धारणा राखे।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यी मध्ये ८४ वटा परियोजना कोशी प्रदेशमा छन् जसमा ११ वटा परियोजना उदयपुरमा छन्।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १२ वटा एम्बुलेन्स र १ वटा स्कुल बस उदयपुर जिल्लालाई उपलब्ध गराइएको छ।

प्रकाशित: २८ मंसिर २०८० ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =