सहरमा आज : चित्रकला प्रदर्शनी र फिल्म फेस्टिभलसहित थिएटरमा चार नाटक

सुस्मिता बजगाईं २३ मंसिर २०८० ६:५४
140
SHARES
सहरमा आज : चित्रकला प्रदर्शनी र फिल्म फेस्टिभलसहित थिएटरमा चार नाटक

काठमाडौँ– आज त शनिबार। बिदाको दिन। पक्कै पनि फुर्सदमै हुनुहुन्छ होला। अझ परिवारसँग बिदाको दिन के गर्ने भनेर योजना पनि बनाइरहनुभएको होला। यदि त्यसो हो भने तपाईंका लागि तलको जानकारी महत्त्वपूर्ण हुन सक्छ। हेर्नुहोस् आज काठमाडौँ उपत्यकामा हुने मनोरञ्जनात्मक गतिविधिहरूको सूचीः-

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’

आजदेखि उपत्यकामा ‘सामूहिक अधिकार’ भन्ने नाराको साथ ११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु हुँदैछ। फेस्टिभल प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास वोर्डको सभा हलमा हुनेछ।

मंसिर २६ सम्म चल्ने महोत्सवमा २६ देशका मानव अधिकारका विषयमा निर्माण भएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी ५४ वटा फिल्म प्रदर्शन गरिनेछ। साथै महोत्सवमा सिनेमा प्रदर्शनका अलवा सिनेमाकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीच बहस पनि हुनेछ।

फेस्टिभल मानव अधिकार सिनेमा केन्द्रले आयोजना गरेको हो।

प्रज्ञा प्रतिष्ठानमा ‘लहना र तीर’

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कवितासंग्रह ‘लहना र तीर’ लोकार्पन हुँदैछ। पुस्तकका लेखक अभय श्रेष्ठ हुन्।
दिउँसो १ वजे सुरु हुने कार्यक्रमा वक्ताहरु सुरेश किरण, ज्ञानु अधिकारी र सन्तोष परियार छन्। कार्यक्रम सहजीकरण दिपक सापकोटाले गर्नेछन्। पुस्तक बुकहिलले प्रकाशन गरेको हो।

नेपाल कला परिषद्मा ‘निङ्योः आर्ट एन्ड ब्यूटी अफ जापानीज डल’

मंसिर २० गतेदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा ‘निङ्योः आर्ट एन्ड ब्यूटी अफ जापानीज डल’ नामक प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा जापानी पुतलीको पुरातात्विक संस्कार र संस्कृति, इतिहास र लोककथा झल्कने डलहरु छन्। डल जापान फाउन्डेसनले संकलन गरेको हो।
पुस ५ गतेसम्म चल्ने प्रदर्शनीमा प्रवेश निःशुल्क छ। प्रदर्शनी बिहान साढे नौ बजेदेखि दिउँसो साढे ४ बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनी नेपालीहरुलाई जापानी संस्कृतिबारे परिचय र प्रर्वद्वन गर्ने उद्देश्यले जापानी दूतावास र जापान फाउन्डेसनले आयोजना गरेको हो।

थिएटरमा चार नाटक

कौशीमा ‘बोधि– सत्त्व’

टेकुस्थित कौशी थिएटरमा मंसिर २० गतेदेखि सांस्कृतिक नाटक ‘बोधि–सत्त्व’ मञ्चन भइरहेको छ। नाटकको परिकल्पना, लेखन तथा निर्देशन चन्द्रमान मुनिकारले गरेका छन्। नाटक पौष ४ गतेसम्म मञ्चन हुनेछ।

इँगिहोपो कोँइच सुनुवारले नाट्य रूपान्तरण गरेको नाटकमा कलाकार सुदनमान मुनिकार, संगीता थापा, नानुमैंया महर्जन, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सिर्जना शर्मा, अन्जु श्रेष्ठ, आकाश नेपाली, नविन काफ्ले र नानुमैया महर्जनको अभिनय छ। साताको प्रत्येक दिन प्रत्येक दिन साझँ ५ बजे मञ्चन हुने नाटक शनिबार भने एक बजेको अतिरिक्त शो पनि हुनेछ।

गुरुकुलमा ‘काल’

थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा नाटक ‘काल’ मञ्चन भइरहेको छ। समाजमा मनोरोगी भएका मानिसहरुको उपचार नाटकको माध्यमबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा आधारित छ।

मंसिर १४ देखि मञ्चन भइरहेको नाटकको परिकल्पना, लेखन तथा निर्देशन राम भजन कामतले गरेका छन्। नाटकमा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल र प्रविण खतिवडासहित निता राई, सन्देश कार्की, अर्जुन शिवाकोटी, सुरवी कामत, सलिना क्षेत्री, रोशन चन्दलगायतको अभिनय छ। नाटक मंसिर ३० सम्म मञ्चन हुनेछ।

नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो साढे ४ बजे मञ्चन हुनेछ। आज शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।

शिल्पीमा ‘ब्यूँझिएको सिरानी’

मंसिर १५ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी गोठाले नाटकघरमा नाटक ‘ब्यूँझिएको सिरानी’ पुनः मञ्चन भइरहेको छ। जेडी तमू निर्देशित नाटक मानसिक स्वास्थ्यको विषयमा आधारित छ।

नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सिर्जना भट्टराईलगायतले अभिनय गरेका छन्। नाटक मंसिर ३० गतेसम्म मञ्चन गरिनेछ।

प्रत्येक दिन साझँ पाच बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो एक बजेको अतिरिक्त शो पनि हुनेछ।

मण्डलामा ‘मानिस हराएको सूचना’

मंसिर १५ गतेदेखि थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मानिस हराएको सूचना’ मञ्चन भइरहेको छ। नाटक अस्तित्व बिर्सिएर आफैंभित्र हराइरहेका मानिसको कथामा आधारित छ।
नाटकका लेखक अमित गिरी हुन्।

नाटकको निर्देशन लेखक गिरी र सन्तोष विष्टले गरेका छन्। मंसिर २४ सम्म मञ्चन हुने नाटकमा शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश बिमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईंको अभिनय छ।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका पाँच बजे मञ्चन हुनेछ। भने शनिबार १ बजेको अतिरिक्त शो हुनेछ।

हलमा नेपाली र बलिउड फिल्म

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ। मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्।

फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत सिभिल मल, लबिम मल र भाटभटेनी भक्तपुरमा फिल्मको शो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज फिल्म ‘दिमाग खराब’ चलिरहेको अन्य हल हुन्।

बासेन्जी

असोज २६ देखि फिल्म ‘बासेन्जी’ रञ्जना सिनेप्लेक्समा प्रदर्शनरत छ। नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। फिल्म अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले निर्देशन गरेका हुन्। फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ।

एनिमल

बलिउड फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगा निर्देशित फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ। एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्म रश्मिका मन्दाना, अनिल कपूर, बबी देओललगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको शो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाजमा बलिउड फिल्म ‘एनिमल’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाज, कलंकी सिनेमा, डीएम सिनेमा बलिउड फिल्म ‘एनिमल’ चलिरहेको अन्य हल हुन्।

सामबहादुर

मंसिर १५ गतेदेखि प्रदर्शन भइरहेको बलिउड फिल्म ‘सामबहादुर’ बायोपिक ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक मेघना गुजार हुन्।

सन् १९७१ को भारत–पाक युद्धको बेलामा भारतीय सेना प्रमुख र त्यसअन्तर्गतको गोर्खा रेजिमेन्टको नेतृत्व गरेका साम मनकेशवा कथामा आधारित छ। साथै भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सेनाको कथावस्तु पनि समेटिएको छ। विक्की कौशल मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारले अभिनय गरेका छन्। आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टरमा फिल्मको शो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स बलिउड फिल्म ‘सामबहादुर’ प्रदर्शन भइरहेको छ।
क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज बलिउड फिल्म ‘सामबहादुर’ चलिरहेको अन्य हल हुन्।

प्रकाशित: २३ मंसिर २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =