तयार भए अस्थायी सिकाइ केन्द्र

हिमाल प्रेस १८ मंसिर २०८० ७:२२
8
SHARES
तयार भए अस्थायी सिकाइ केन्द्र

रुकुमपश्चिम- भूकम्पबाट प्रभावित रुकुमपश्चिमका विद्यालयहरूमा पठनपाठन नियमित बनाउन अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २१३ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका हुन्।

अस्थायी सिकाइ केन्द्र निर्माण भएपछि विद्यालयमा आउने विद्यार्थी संख्यामा वृद्धि भएको छ। स्थानीय तहले विभिन्न दातृ निकायसँग समन्वय गरेर अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन नियमित गरिएको जनाएका छन् ।

आठबिसकोट नगरपालिकामा १३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् । आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टका अनुसार पठनपाठनलाई नियमित गर्न अस्थायी सिकाइ केन्द्र तयार भएको बताउँदै पढ्न आउने विद्यार्थी संख्या बढेको जानकारी दिए।

सानीभेरी गाउँपालिकाका शिक्षा अधिकृत भुपालसिंह विष्टले पालिकाभर सबै विद्यालयहरूमा पठनपाठन नियमित भइरहेको जानकारी दिए। उनले सामग्री अपुग भएपछि अस्थायी सिकाइ केन्द्र निर्माण हुन नसकेका विद्यालयमा अहिले सिकाइ केन्द्र बनिसकेको बताए।

आठबिसकोट नगरपालिका–१४ मा रहेको जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक संगम थापाले विद्यालयमा सात वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएसँगै औपचारिक रूपमा शिक्षण सिकाइ सुरु भएको बताए।

भूकम्पले मानवीय क्षतिसँगै घर र विद्यालयसमेत भत्किएका र चर्किएका छन् । यसका कारण अधिकांश विद्यार्थी र शिक्षकमा मनोवैज्ञानिक त्रास रहेको बताइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रसाद पुनले मनोवैज्ञानिक त्रासकै कारण सबै विद्यालयमा अझै पनि सहज पठनपाठनको वातावरण तयार हुन नसकेको बताए।

रुकुमपश्चिमका २८८ वटा सामुदायिक र २० वटा संस्थागत विद्यालयमध्ये १९६ वटा विद्यालय प्रभावित बनेका छन् । ५२ वटा विद्यालयका २४४ भवन र सात सय वटा कक्षाकोठामा क्षति पुगेको छ । ५५ वटा शौचालय पूर्ण र ८३ वटामा आंशिक क्षति पुगेको तथ्यांक कार्यालयले दिएको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित: १८ मंसिर २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =