नेपालका सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू हुन् : डा. शेखर कोइराला

'बैँक र व्यापारी/उद्यमी एकै व्यक्ति हुँदा बैँकले मात्रै नाफा कमाए। साना किसानले ऋण नै पाएनन्'

विनोद परियार १६ मंसिर २०८० १९:४९
72
SHARES
नेपालका सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू हुन् : डा. शेखर कोइराला

लुम्बिनी- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैँकका लगानीकर्ता र व्यवसायी/उद्योगीहरू एउटै व्यक्ति हुँदा नेपालमा समस्या उत्पन्न भएको टिप्पणी गरेका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यपार व्यवसाय नभएर सबै निराश भइरहेका बेला बैंकहरूले मात्र नाफा कमाउनुमा बैंक र व्यवसायी/उद्यमी एउटै घरानाको हुनु एक प्रमुख कारण रहेको बताएका हुन्।

‘यो देशमा कुनै क्षेत्र छ भने त्यो बैंक मात्रै फस्टाएको छ, व्यवसाय छैन, तर बैंकहरू मुनाफामा गइरहेको तपाईँ थाहा पाउनुहुन्छ, किन यस्तो भयो?’  डा. कोइरालाले भने, ‘कुनै पनि प्रजातान्त्रिक मुलुकमा बैंक र उद्यमी/व्यवसायीहरू एउटै घरानाका हुँदैनन्, हाम्रोमा हुँदा यो समस्या देखियो, हाम्रै साथीहरू पनि हुनुहुन्छ।’

नेता कोइरालाले सबभन्दा ठूलो मिटरब्याजी बैंकहरू भएको समेत आरोप लगाए। उनले ब्याज पनि चर्को असुल्ने र साना किसानलाई बैंकले ऋण लगानी नगरेको बताए। एउटै व्यापारिक घरानालाई बैंकहरूले १ अर्ब, २ अर्ब ऋण लगानी गर्ने गरे पनि साना किसानलाई ऋण नदिने अवस्थाबारे सबै जानकार हुनुपर्ने  उनले बताए।

कोइरालाले महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र सुधारउन्मुख भएको बताए पनि आमजनता अर्थतन्त्रकै कारण निराश भएर बसेको बताए। ‘म हिजोदेखि बुटवलमा छु। व्यापारी व्यवसायीसँग कुरा गर्दा यहाँको अवस्था कहालीलाग्दो छ। ३५ प्रतिशत दुकान बन्द भएका छन्, सटर खाली भइसके। यस्तै अवस्था देशभर छ,’ उनले भने। कोइरालाले व्यापारी, उद्यमी, बिचौलिया, कर्मचारी र राजनीति गर्नेहरूको मिलोमतोले मुलुकमा भ्रष्टाचार मौलाउँदा समस्या आएको बताए।

‘मुलुकमा सुशासन छैन। भ्रष्टाचार बढेको बढेकै छ। सरकार पारदर्शी छैन। दण्डहीनता झन् मौलाएको छ’, कोइरालाले भने, ‘हामी पनि सरकारमा छौँ तर भाग आउला भनेर मौन बसेका छौँ। यो मिलिभगतमा गरेको नियन्त्रित लोकतन्त्र हो। यसलाई चिर्न सक्नुपर्छ।’ उनले दलहरूकै कमजोरीले युवा विदेश पलायन भएकाले तिनीहरूलाई देशभित्रै राख्न सक्ने वातावरण बनाउन सरकारले काम गर्नुपर्ने बताए।

कोइरालाले कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गरेर आयात प्रतिस्थापन गर्नुपर्ने विकल्प पनि सुझाए। ‘कृषिमा आधारित उद्योगको प्रवर्द्धन गर्दा स्वरोजगार र रोजगारको अवसर प्राप्त हुन्छ। यसतर्फ हाम्रो ध्यान जानुपर्छ’, कोइरालाले भने। उनले लुम्बिनी प्रदेश गौतमबुद्धको जन्मभूमि भएकाले यहाँ धार्मिक पर्यटनको सम्भावना रहेको बताए। गौतमबुद्धले शान्ति र त्याग सिकाएको स्मरण गर्दै कोइरालाले नेपाली कांग्रेसमा पनि त्यागको भावना जागृत हुनुपर्ने पनि बताए।

नेपाली कांग्रेस परिवर्तन भएमा मात्रै देश परिवर्तन हुने बताउँदै कोइरालाले उग्र महत्त्वाकांक्षा र आचरण त्याग्न कार्यकर्ता र युवा भनिने नेतालाई आग्रह गरे। उनले मंसिर २०८२ भित्र कांग्रेसको अधिवेशन गर्नुपर्ने बताउँदै त्यही नयाँ नेतृत्वले २०८४ को निर्वाचन गराउने र कांग्रेस एक्लै चुनावमा होमिनुपर्ने बताए। कोइरालाले नेपाली कांग्रेसलाई संघीयताविरोधी भन्ने गरेको तर्फ संकेत गर्दै प्रदेशको सम्मेलन लुम्बिनीबाट सुरु गरेर त्यसलाई चिरेको पनि प्रस्ट पारे।

कोइरालाले सम्मेलनले मुलुकभर नयाँ सन्देश दिने गरी निर्णय गर्नसमेत शुभकामना दिए। सम्मेलनको बन्दसत्र आइतबार बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

गगन गर्जन : जनप्रतिनिधिले जनताकै पक्षमा काम गर्नुस्, ढुकेर बसेका राजावादी लाइनमा आउँछन्

प्रकाशित: १६ मंसिर २०८० १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =