कुवेतको अस्पतालमा अलपत्र प्यूठानकी तुलसाको उद्धार

हिमाल प्रेस २० कार्तिक २०८० ८:३१
280
SHARES
कुवेतको अस्पतालमा अलपत्र प्यूठानकी तुलसाको उद्धार

लुम्बिनी- डेढ वर्षदेखि कुवेतको अस्पतालमा अलपत्र प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोटका ४७वर्षीया तुलसा जीसीको सरकारले उद्धार गर्ने भएको छ।

वैदेशिक रोजगारीमा गएकी तुलसा बिरामी भएपछि कुबेतको आदान अस्पतालमा पैसा तिर्न नसकेर अलपत्र परेकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएको बेला प्यूठानका युवा समाजसेवी प्रदीप जीसी सहितको टोलीले उद्धारका निम्ति निवेदन दिएपछि कुवेतमा अलपत्र तुलसालाई परराष्ट्र मन्त्रालयले टिकट उपलब्ध गराएर उद्धार गर्ने भएको हो।

‘प्रधानमन्त्री कार्यालयका सञ्चार विज्ञ मनहरी तिमिल्सिना मार्फत प्रधानमन्त्रीलाई निवेदन दिएका थियौं, परराष्ट्र मन्त्रालय मार्फत उद्धारका लागि काम भएको छ’ उद्धारका लागि पहल गरेका प्रदीप जीसीले भने।

उनका अनुसार प्रधानमन्त्री सचिवालय र पराराष्ट्र मन्त्रालयको समन्वयमा अलपत्र नेपाली चेलीलाई स्वदेश ल्याउन सकिने अवस्था आएको हो। परराष्ट्र मन्त्रालयबाट तुलसालाई नेपाल ल्याउँने प्रवन्ध भएको भन्दै हवाई टिकट समेत प्राप्त भएको जीसीले बताए।

‘कात्तिक २३ गते काठमाडौंमा भेट हुनेछ, पारिवारिक रेखदेख, हेरचाह र थप उपचार पश्चात् बिरामीको स्वास्थ्यमा धेरै सुधार आउनेछ’ प्रदीपले भने। डेढ वर्षदेखि कुँवेतको अस्पतालमा छट्पटाएर बस्दा परिवारमा विचल्ली भएको थियो।

घरको आर्थिक अवस्थाका कारण कुवेत गएकी तुलसा बिरामी भएपछि करिव २ महिनासम्म परिवारसँग सम्पर्क भएको थिएन। सामाजिक सञ्जालमा सम्पर्कविहिन भएको सूचना राखेपछि अस्पतालमा उपचाररत रहेको खबर आएको थियो।

भारत हुँदै कुवेत पुगेकी हुन्। आर्थिक अवस्था कमजोर रहेको र ५ लाख रुपैयाँ पनि जोहो गर्न नसक्दा अस्पतालमै रहेकी तुलसालाई नेपाल ल्याउने वातावरण बनाइदिएकोमा परिवारले खुशी व्यक्त गरेका छन्। तुलसाको २ छोरा, २ छोरी र श्रीमान छन्।

प्रकाशित: २० कार्तिक २०८० ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =