जाजरकोट भूकम्प : उपमेयर सिंहसहित ५५ जनाको सामूहिक दाहसंस्कार गरियो

हिमाल प्रेस १९ कार्तिक २०८० १७:४३
52
SHARES
जाजरकोट भूकम्प : उपमेयर सिंहसहित ५५ जनाको सामूहिक दाहसंस्कार गरियो

काठमाडौँ– शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएकी जाजरकोटको नगलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित ५५ जनाको अन्तिम संस्कार गरिएको छ। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहितको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो। नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए।

‘पालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ,’ उनले भने। भूकम्प गएको समयमा उपप्रमुख सिंह सदरमुकाम खलङ्गा भए पनि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो।

अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ। शुक्रबारको भूकम्पमा परि सबैभन्दा धेरै जाजरकोटमा मानविय क्षति भएको थियो।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएकी जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सिंहलगायतकालाई श्रद्धाञ्जली अर्पण गर्दै राहत र उद्धारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण सुरु गरिएको बताए।

‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्नेगरी राहत सामग्री पठाएका छौं, थप केही आउने क्रम जारी छ,’ उनले भने, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौं, सोही गतिमा राहत पनि वितरण गर्छौं।’

उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाए। शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो।

तस्बिरहरू : रासस

प्रकाशित: १९ कार्तिक २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =