लुम्बिनी– चार वर्षअघिसम्म रूपन्देही तिलोत्तमा-३ जानकीनगरकी ४८ वर्षीया सुनिता रेग्मीको परिचय गृहिणीका रूपमा सीमित थियो। अहिले उनी सफल पुष्प उद्यमीका रूपमा चिनिएकी छन्।
श्रीमान् गैरसरकारी संस्थाको जागिरे भएकाले आधारभूत आवश्यकताका लागि कुनै उद्यम गर्नुपर्ने बाध्यता उनलाई थिएन। श्रीमान्को जागिरकै सिलसिलामा लामो समय काठमाडौँ बसिन्। चार वर्षअघि आफ्नै घर जानकीनगर फर्केर सुनिताले फूलखेती (पुष्प व्यवसाय) गर्न थालेकी हुन्।
‘पहिले म गृहिणी मात्रै थिएँ। केही समय बिमा कम्पनीमा काम गरेँ। नयाँ उद्यम गर्ने सोच थियो’, सुनिताले भनिन, ‘त्यही क्रममा फूलखेती गर्न थालेँ।’ सुनिताले बाह्रै महिना फूल उत्पादन गर्छिन्।
उनले तिलोत्तमाका छुटाछुट्टै दुई ठाउँमा गरी आठ कठ्ठा जमिनमा फूलखेती गरिरहेकी छन्। थप अर्को ठाउँमा १० कठ्ठामा माघदेखि फूल लगाउने तयारी उनको छ। तिहार लक्षित गरेर फूलखेती गर्ने त धेरै हुन्छन्। तर उनले विगत चार वर्षदेखि बाह्रै महिना निरन्तर फूलखेती व्यावसायिक रूपमा गर्दैै आएकी छन्।
सुरभी कृषि फर्म दर्ता गरी सुरु गरेको फूलखेतीबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको सुनिता बताउँछिन्। ‘तिहारका लागि मात्रै भनेर मैलै फूलखेती गर्दिनँ। वर्षमा तीन सिजन लगाउँछु। एक सिजनमा खर्च कटाएर डेढ देखि दुई लाखसम्म आम्दानी हुन्छ’ उनले भनिन्।
उद्यमशील बन्नुपर्छ भन्ने सोचकै कारण आफू फूलखेतीमा लागेको उनी बताउँछिन्। ‘आफ्नै पौरखमा बाँच्नुपर्छ, केही न केही उद्यम काम गर्दा आफूसँगै अन्यले पनि रोजगारी पाउन सक्छन्’, उनले भनिन्, ‘त्यसैका लागि पनि फूलखेती गर्न प्रेरणा मिलेको छ।’ परिवार र समाजका अगुवाले माटोधुलोसँग किन खेलेको भनेर भन्ने प्रश्न गर्ने गरेको उनले बताइन्। ‘नपुग्दो के छ र? किन यस्तो दुःखको काम छोड भन्ने सुझाव आउँछ’, सुनिताले भनिन्। उनी फूलखेतीले आफूलाई सन्तुष्टि दिएको बताउछिन्।
घरमा केही काम भएन भनेर बस्ने महिला दिदीबहिनीका लागि सुनिता उदाहरणीय पात्र हुन्। आफू मात्रै होइन, दुई जनालाई नियमित रोजगारी दिएकी छन्। फूल टिप्न र रेखदेखका लागि एक जना र नियमित माला बनाउन एक जना खटिएका छन्।
मालाको माग भएका बेला छिमेकीका अन्य चार/पाँच जना महिलालाई काम दिन्छिन्। ‘फूल उत्पादन राम्रो हुँदा बजार नपाउने समस्या छैन। प्रायः आफैँले माला बनाएर बेच्छु’, उनले भनिन्, ‘अर्डर आएका बेला छिमेकका दिदीबहिनीलाई काम दिन्छु।’
अहिले तिहारका लागि माला तयार भइरहेको छ। सुनिताले सयपत्री फूलखेती गरेकी छन्। उनका अनुसार थोरै लगानी र थोरै समय दिएर उद्यमी बन्नका लागि फूलखेती राम्रो छ। बाह्रै महिना फूलखेती गर्ने भएकाले पनि सुनिताका लागि बजारको अभाव भोग्नुपरेको छैन।
उनले उत्पादन गरेको फूल पोखरा, धनगढी, चितवन, दाङ, बागलुङ र महेन्द्रनगरसम्म पुग्छ। ‘माघ फागुनमा फूलको माग बढी हुन्छ। कहिलेकाहीँ त अर्डर लिनै नसक्ने अवस्था पनि आउँछ’, उनले भनिन्।
एक सिजनमा दुई हजारसम्म माला उत्पादन
सुनिताले तिलोत्तमा-३ जानकीनगर र शंकरनगरमा फूलखेती गर्दै आएकी छन्। उनका अनुसार एक ठाउँमा दुई सिजन फूल उत्पादन गर्न सकिन्छ। सुनिताले एक सिजनमा १५ सय देखि २ हजारसम्म माला उत्पादन गर्ने बताइन्। उनले भनिन्, ‘आठ कठ्ठा जग्गामा वार्षिक रूपमा आठ हजार माला तयार हुने गरी फूल उत्पादन हुँदै आएको छ।’
सुनिताले अहिले सयपत्री मात्रै फूल लगाएकी छन्। उनले अघिल्लो वर्ष गोदावरी फूल लगाकी थिइन्। तर गोदावरीका लागि थप मल र टनेल आवश्यक पर्ने भएकाले सयपत्री मात्रै लगाएको उनले बताइन्। ‘फूल उत्पादन राम्रै हुन्छ, तर गुणस्तरी बिउ नपाउँदा कहिलेकाहीँ उत्पादन कम हुन्छ’, उनले भनिन्। उनले यस वर्ष बिउको गुणस्तर नहुँदा गत वर्षभन्दा कम मात्रामा फूल उत्पादन हुने बताइन्।
स्थानीय सरकारले मल, बिउको व्यवस्थापन गर्ने र महिला उद्यमीलाई प्रोत्साहन गर्न सके महिलाका लागि फूलखेती निकै राम्रो हुने उनको अनुभव छ। सरकारले नेपालमै उत्पादन हुने फूलका मालाको खपत गर्ने नीति लिनुपर्ने उनको माग छ। तिहारसँगै विवाह, पूजा, ठूला सभा समारोह, सार्वजनिक कार्यक्रम, सम्मान तथा स्वागत कार्यक्रममा सयपत्री फूल र यसको माला धेरै प्रयोग हुन्छ।