देशैभर म्यानपावरका ‘अवैध’ शाखा, ठगिँदै युवा

हिमाल प्रेस १६ कार्तिक २०८० ७:०२
46
SHARES
देशैभर म्यानपावरका ‘अवैध’ शाखा, ठगिँदै युवा

काठमाडौँ– वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले नेपालका मुख्य सहरमा बिनाअनुमति शाखा कार्यालय खोलेर सञ्चालन गर्दै आएका छन्। ती शाखा कार्यालयले स्थानीय सञ्चारमाध्यममा विज्ञापन गरी राजधानी काठमाडौँसम्म युवा ल्याउने गरेका छन्। जसका कारण काठमाडौँबाहिर रोजगारीको खोजीमा रहेका युवा एजेन्टबाट ठगिने गरेको गुनासो वैदेशिक रोजगार विभागमा आउने गरेको छ।

विभागले गत असोजमै म्यानपावर कम्पनीलाई शाखा कार्यालय तत्काल नवीकरण गराउन निर्देशन दिएको थियो। अधिकांश म्यानपावरबार कम्पनीले शाखा कार्यालयको नवीकरण नगरेको विभागले जनाएको छ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ को दफा ५ को उपदफा १ मा प्रत्येक आर्थिक वर्षको असोजभित्र शाखा कार्यालयको नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

विभागका महानिर्देशक मदन दाहालका अनुसार हालसम्म ३२ वटा म्यानपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन्। तर देशका मुख्य सहरमा ८ सय ५८ वटै म्यानपावरका शाखा कार्यालय छन्।

विभागको वार्षिक प्रतिवेदनले पनि अधिकांश शाखा कार्यालय अवैध भएको औँल्याएको छ। अवैधमा रूपमा खोलिएका शाखा कार्यालयको विभागले अनुमगन गर्न सकेको छैन। अनुगमन नहुँदा म्यानपावरले उन्मुक्ति पाउने गरेका छन्।

विभागका महानिर्देशक दाहाल देशका मुख्य सहरमा प्रायः सबै म्यानपावरका शाखा कार्यालय रहेको बताउँछन्। उनका अनुसार कतिपय शाखा कार्यालय अवैध रूपमा सञ्चालनमा रहेको विषयमा अध्ययन भइरहेको छ।

कार्यविधि विपरीत शाखा कार्यालय

कार्यविधिमा प्रत्येक शाखा कार्यालयको धरौटी शुल्क दुई लाख रुपैयाँ तोकिएको छ। शाखा कार्यालयमा कार्यालय प्रमुख रहने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा र सहायक कर्मचारीका लागि एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ। शाखा कार्यालयमा कर्मचारी नराखेर म्यानपावरहरूले एजेन्ट राख्ने गरेका छन्।

कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ। कार्यविधिमा वार्षिक एक हजार कामदार पठाउने म्यानपावर कम्पनीलाई एक, दुई हजार पठाउनेलाई दुई, तीन हजार पठाउनेलाई तीन, तीनदेखि पाँच हजार पठाउनेलाई पाँच र पाँच हजारभन्दा धेरै पठाउनेलाई केन्द्रीय कार्यालयसहित सात वटासम्म शाखा सञ्चालनको अनुमति दिने व्यवस्था छ। ती शाखा कार्यालयले कार्यविधिमा भएको नियमअनुसार धरौटी राखेको पाइँदैन।

एजेन्टकै भरमा ७० प्रतिशत म्यानपावर सञ्चालन

एजेन्टकै भरमा ७० प्रतिशत म्यानपावर सञ्चालनमा रहेको विभागकै कर्मचारीको दाबी छ। विभागले २०७२ सालमै एजेन्ट खारेजी गरेको थियो। तर म्यानपावरको कर्मचारी भएर एजेन्टले गाउँगाउँबाट कामदार खोजेर राजधानी ल्याउने गरेका छन्।

झापाको बिर्तामोड, सुनसरीका इटहरी र धरान, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, चितवनको भरतपुर र दाङमा म्यानपावरका शाखा कार्यालय सञ्चालनमा छन्। गत वर्ष विभागले देशका मुख्य सहरमा रहेका शाखा कार्यालयमा अनुगमन गरेको प्रतिवेदन भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थन्किएको छ।

देशभर करिब २ हजारभन्दा बढी एजेन्टले म्यानपावरको सहयोगी भएर काम गरिरहेका छन्। उनीहरू सबै म्यानपावरसँग जोडिएको समेत विभागको भनाइ छ। म्यानपावर प्रायः एजेन्टमार्फत चलेका छन्। एजेन्ट नहुनु भने ८० प्रतिशत म्यानपावरले कामदार खोज्न नसक्ने अवस्था आउने विभागका एक कर्मचारीले बताए।

एजेन्टले महिनैपिच्छे कामदार खोजेर म्यानपावरसँम्म ल्याउँछन् र हरेक कामदारबाट २० हजारसम्म कमिसन लिने गरेको पाइएको ती कर्मचारीले जानकारी दिए।

एजेन्टबाटै म्यानपावरले कामदार वैदेशिक रोजगारीमा पठाउँदा नगद कारोबारसमेत गर्दै आएको र यो वैदेशिक रोजगार नीतिविपरीत भएको उनले बताए।

‘रोजगारीको खोजीमा रहेका कामदार खोज्ने, पैसा उठाउने, कामदारसँग पैसाको कुरा मिलाउने, रोजगारीको बारेमा जानकारी गराउन र काठमाडौँसम्म कामदार ल्याउने काम पनि एजेन्टले गर्छन्। यस क्षेत्रमा अहिले म्यानपावरभन्दा एजेन्ट बलियो छन्’, उनले भने, ‘पछिल्लो समय म्यानपावर कम्पनीले विदेशबाट ‘डिमान्ड’ ल्याउनुअघि शाखा कार्यालयमार्फत विज्ञापन गरी कामदारसँग अग्रिम पैसासमेत उठाउने गरेका छन्। यस्तो उजुरी दैनिक विभागमा आउने गरेको छ।’

कामदारसँग उठाएको पैसा म्यानपावरले भिसा व्यापारमा लगानी गर्दै आएको उनको भनाइ छ। एजेन्टले वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारसँग चर्को रकम लिने गरेको कामदारको गुनासो छ।

एजेन्टले चलाएकै म्यानपावरका शाखा कार्यालयबाट कामदार बढी ठगिएको गरेको उजुरीसमेत दैनिक विभागमा पर्ने गरेका छन्। म्यानपावर कम्पनीले धेरैजसो आर्थिक कारोबार म्यानपावरको शाखा कार्यालयबाटै हुने गरेको पनि कामदार बताउँछन्।  हाल वैदेशिक रोजगारीमा दैनिक ४२ वटा देश दैनिक १ हजार ४ सय जना जाने गरेको तथ्यांक छ।

प्रकाशित: १६ कार्तिक २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =