सर्वसाधारण ठग्ने औजार बन्यो प्रिमियम आईपीओ

मस्त केसी २९ असोज २०८० ६:५३
352
SHARES
सर्वसाधारण ठग्ने औजार बन्यो प्रिमियम आईपीओ

कम्पनीको प्रोफाइलबिना जसलाई पनि प्रिमियममा आईपीओ जारी गर्न दिँदा नियामकमाथि प्रश्नमात्रै तेर्सिएको छैन। सर्वसाधारणले अर्बौँ रुपैयाँ गुमाइरहेका छन्।

असोज २५ गते घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्य ४३४.८० रुपैयाँमा झर्‍यो। दोस्रो बजारमा कारोबार सुरु भएको महिना दिनमै यसको मूल्य आईपीओभन्दा सस्तो हुन पुग्यो। कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा बिक्री गरेको थियो।

यसको सेयर निष्कासनमा थुप्रै विवाद आयो। कर्मचारी र प्रभावित क्षेत्रका बासिन्दाले छुट्ट्याएको सेयर खरिद गरेनन्। स्वार्थ जोडिएको, लगानीकर्ता एउटै समूह भएकाले क्रेडिट रेटिङ गरेकोलगायत कारण आईपीओ बिक्री स्थगित भएको थियो। कम्पनी विवादित बनेपछि धितोपत्र बोर्डले आईपीओको पैसा फिर्ता लिन सक्ने व्यवस्थासमेत गर्नुपर्‍यो।

विवादका बीच दोस्रो बजारमा आएको घोराही सिमेन्टको मूल्य घट्नु स्वाभाविक हो। तर पछिल्लो समय प्रिमियम आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबार सुरु गरेका कम्पनीप्रति लगानीकर्ता आकर्षित छैनन्।

जस्तो– रिलायबल नेपाल लाइफले १५७ रुपैयाँ प्रिमियम थप गरी २५७ रुपैयाँमा आईपीओ खुलाएको थियो। भदौ ३१ गतेदेखि कारोबार सुरु भएको यसको मूल्य घट्दो क्रममा छ। पहिलो दिन ४८६ रुपैयाँमा कारोबार सुरु भएको रिलायबल नेपाल लाइफको मूल्य असोज २५ गते ४२४.६० रुपैयाँमा झरेको छ।

सिटिजन्स लाइफ इन्स्योरेन्सको मूल्य पनि ओरालो गतिमै छ। सिटिजनले २४४ रुपैयाँको प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो। असोज १४ गते ५०८ बाट कारोबार सुरु भएको यसको मूल्य अहिले ४१० रुपैयाँ प्रतिकित्तामा झरेको छ।

प्रिमियममा आईपीओ निकालेको आईएमई लाइफ इन्स्योरेन्सको हालत पनि अन्य कम्पनीको जस्तै छ। आईएमई लाइफले २३६ रुपैयाँ प्रिमियममा आईपीओ निकालेको थियो। साउन २१ गतेबाट कारोबार सुरु भएको यो कम्पनीको मूल्य बढेर ६४० सम्म पुग्यो। त्यसपछि घट्दै अहिले ४८१ रुपैयाँ प्रतिकित्तामा आएको छ।

प्रिमियममा आईपीओ जारी गरेको अर्को बिमा कम्पनी सन् नेपाल लाइफको दोस्रो बजार कारोबार पनि निराशाजनक छ। १३९ रुपैयाँ प्रिमियम थप्दै २३९ रुपैयाँ प्रतिकित्तामा सेयर जारी गरेको यो कम्पनीको कारोबार असोज ४ गतेदेखि सुरु भएको थियो। ४७५ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको मूल्य असोज २५ गते ४४० मा झरेको छ।

पछिल्ला केही महिना बिमा कम्पनीले लगातार प्रिमियममा आईपीओ जारी गरे। तर दोस्रो बजारमा कसैले पनि उत्साहजनक व्यापार गर्न सकेनन्। प्रिमियम दरका कुनै पनि बिमा कम्पनीको सेयर मूल्य औसत कम्पनीभन्दा बढी छैन। अझै थुप्रै कम्पनी प्रिमियममा आईपीओ निकाल्ने अनुमति पाएर बसेका छन्।

विवादित अर्को कम्पनी सोनापुर सिमेन्टले प्रिमियममा आईपीओ बेचिसकेको छ। यसको संरक्षित सेयर प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीले नकिनेपछि सर्वसाधारणलाई बेचिएको छ। दसैँपछि यसले दोस्रो बजारमा कारोबार गर्नेछ। दसैँलगत्तै जगदम्बा सिमेन्ट पनि प्रिमियममा आईपीओ जारी गर्ने तयारीमा छ।

धितोपत्र बोर्डले कुनै मापदण्डबिना जस्तोसुकै कम्पनीलाई पनि प्रिमियममा आईपीओ निकाल्ने अनुमति दिँदा यो अवस्था आएको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन्। ‘प्रिमियममा आईपीओ बिक्री गरेका र अनुमति पाएर बिक्री गर्ने क्रममा रहेका अधिकांश कम्पनी त्यसको लायक छैनन्,’ उनी भन्छन्, ‘घोराही सिमेन्टकै उदाहरण सम्झिँदा पनि धेरैमा नियामक र सम्बन्धित कम्पनीमाथि शंका गर्ने ठाउँ छ।’ यसरी सर्वसाधारण ठगिएको उनको बुझाइ छ।

केही वर्षअघिसम्म प्रिमियम आईपीओको दोस्रो बजारमा बेग्लै सान थियो। यसअघिको सेयर बजारले ११०० को न्यूनतम विन्दु छुँदा शिवम् सिमेन्टले प्रिमियम आईपीओ निष्कासन गरेको थियो। बजारको त्यो हालतमा पनि प्रतिकित्ता ३०० रुपैयाँको प्रिमियम आईपीओ महिना दिनमै ७३३ रुपैयाँ पुगेको थियो। बजारको प्रतिकूल अवस्थाको बेलामा समेत शिवम्को मूल्य ५९ प्रतिशतले बढेको थियो।

पछिल्लो केही महिनो प्रिमियममा आईपीओ निकाल्ने कम्पनीले बजारको विश्वास पाएका छैनन्। यस्ता कम्पनी महँगो मूल्यमा आईपीओ निकालेर सर्वसाधारण ठग्न पल्किएका छन्। जुन प्रिमियममा आईपीओ जारी गरेका कम्पनीको सेयर मूल्यले स्पष्ट पार्छ।

प्रकाशित: २९ असोज २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =