चलायमान रंगमञ्च, मञ्चनको तयारीमा पाँच नाटक

सुस्मिता बजगाईं १४ मंसिर २०८० ६:४५
246
SHARES
चलायमान रंगमञ्च, मञ्चनको तयारीमा पाँच नाटक

काठमाडौँ- नेपालीको महान् चाडपर्वका कारण सेलाएको रंगमञ्च चलायमान हुन थालेको छ। उपत्यकामा रहेका नाटकघरहरू नाटक मञ्चनको तयारीमा लागेका हुन्। मंसिर १४ गतेदेखि मण्डला नाटकघर, आरोहण गुरुकुल, कौसी र शिल्पी थिएटरमा विभिन्न नाटक मञ्चन हुँदैछन्।

नाटकघरमा क्रमशः ‘मानिस हराएको सूचना’, ‘बोधि–सत्त्व’, ‘काल’, ‘मोन्टाज’ र ‘ब्यूँझिएको सिरानी’  मञ्चन हुँदैछ। रातोपुलस्थित ओजस थिएटरमा भने नाटक ‘कर्तव्य’ मञ्चन गर्ने तयारी छ।

बत्तीसपुतलीस्थित शिल्पी गोठाले नाटकघरमा दसैँ सुरु भएलगत्तै रोकिएको नाटक ‘ब्यूँझिएको सिरानी’ पुनः मञ्चन हुन लागेको हो। ‘दर्शकको माग निकै थियो’, निर्देशक जेडी तमूले भने, ‘चाडपर्व सुरु भइसकेकाले मञ्चन रोक्नुपरेको थियो।’

नाटक हेर्न चर्चित कलाकारदेखि दर्शकले हल खचाखच भइरहेको निर्देशक तमूले बताए। ‘नाटकबारे हामीले पनि सकारात्मक प्रतिक्रिया पाइरहेका थियौँ’, उनले भने। फलस्वरुपः मंसिर १५ गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक पुनः मञ्चन हुनेछ। यसअघि थापागाउँस्थित मण्डला नाटकघर मञ्चन भएको थियो।

मानसिक स्वास्थ्यका विषयमा आधारित नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायतले अभिनय गरेका छन्।

नाटकमा वाई स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ समाजको सहप्रस्तुति छ।  थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा नाटक ‘काल’ मञ्चन हुँदैछ। मंसिर १४ देखि मञ्चन गरिने नाटकको परिकल्पना, लेखन तथा निर्देशन रामभजन कामतले गरेका छन्। ‘काल’ समाजमा मनोरोगी भएका मानिसको उपचार नाटकको माध्यमबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा आधारित रहेको नाटकका निर्देशक कामतले जानकारी दिए।

‘आर्थिक, सामाजिक, पारिवारिक भूकम्प र प्राकृतिक प्रकोपका कारण मानिस मनोरोगी भइरहेका छन्’, निर्देशक कामत भन्छन्, ‘सामाजिक सञ्जालका कारण पनि मानिस एकाहोरो भएका छन्। उल्टै मृत्यु पर्खेर एकान्तमा बसिरहेका हुन्छन्।’

उनीहरूको कुरा राज्य सरकार, परिवार र समाजले सुनिदिनुपर्छ भन्ने नाटकको उद्देश्य रहेको कामतले बताए।  नाटकमा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल र प्रवीण खतिवडाले पनि अभिनय गरेका छन्। अन्य कलाकार निता राई, सन्देश कार्की, अर्जुन शिवाकोटी, सुरवी कामत, सलिना क्षेत्री, रोशन चन्दलगायत छन्।

नाटक मंसिर ३० गतेसम्म मञ्चन हुनेछ। सोमबारबाहेक साताको प्रत्येक दिन दिउँसो साढे ४ बजे मञ्चन हुने निर्देशक कामतले बताए। शनिबार १ बजे अतिरिक्त सो पनि हुनेछ। एक्टा नेपालको प्रस्तुति र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो।

मण्डला नाटकघर ‘मानिस हराएको सूचना’ मञ्चनको तयारी भइरहेको छ। मंसिर १५ देखि मञ्चन सुरु हुने नाटकका लेखक अमित गिरी हुन्। नाटकको निर्देशन गिरी र सन्तोष विष्टले गरेका छन्।

मंसिर २४ सम्म मञ्चन हुने भनिएको नाटक अस्तित्व बिर्सिएर आफैँभित्र हराइरहेका मानिसको कथामा आधारित छ। नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटरका रंगकर्मीले अभिनय गरेका छन्।

नाटकमा शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश विमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईंको अभिनय छ।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका ५ बजे मञ्चन हुनेछ भने शनिबार १ बजेको अतिरिक्त सो पनि हुनेछ। ब्लु डाइमन्ड सोसाइटी र झ्याल आट्र्सले प्रायोजनमा मञ्चन हुन लागेको नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटर नेपालले सहकार्य गरेका छन्।

टेकुस्थित कौशी थिएटरले सांस्कृतिक नाटक ‘बोधि–सत्त्व’ मञ्चन गर्दैछ। नाटक बौद्ध धर्मसँग पनि सम्बन्धित छ। बुद्धका चार सत्य वचनको प्रयोग मानिसले व्यक्तिगत जीवनमा कतिको उपयोग गर्छ भन्ने कुरालाई पात्रमार्फत देखाउन खोजिएको नाट्यकर्मी इँगिहोपो कोँइच सुनुवारले बताए।

‘बुद्धको चार सत्य वचन अवलम्बन गर्दै कसैलाई नराम्रो गर्न नहुने तथ्य नाटकमा देखाउन खोजिएको छ।’ सुनुवारले भने ‘बुद्धका चार सत्यवचनसहित मनमा बोधिचित्त उत्पन्न गर्नुपर्छ अर्थात् राम्रो चित्त बनाई लोकजनको उपकार गर्नुपर्छ भन्ने वाणीलाई नाटकमा देखाउन खोजेका हौँ।’

नाटकको परिकल्पना, लेखन तथा निर्देशन चन्द्रमान मुनिकारले गरेका हुन्। सुदन मुनिकार, संगीता थापा, युवहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सिर्जना शर्मा, अञ्जु श्रेष्ठ, नवीन काफ्ले, नानुमैया महर्जनलगायतले अभिनय गरेका छन्।

नाटक मंसिर २० गतेदेखि पुस ४ गतेसम्म मञ्चन हुनेछ। प्रत्येक साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार भने एक बजेको अतिरिक्त सो पनि हुनेछ। बज्र कला कुञ्जको प्रस्तुति रहेको नाटकमा ममा आर्ट्सको सहकार्य र काठमाडौँ महानगरपालिकाको सहयोग छ।

त्यस्तै सिनामंगलस्थित पुरानो घरमा ‘मोन्टाज’ नाटक मञ्चन हुँदैछ। मान्छेको जीवनमा विभिन्न घटनाहरुमध्ये तीन कथालाई नाटकमार्फत देखाउन खोजिएको नाटकका निर्देशक सुलक्षण भारतीले बताए।

‘नाटकमा फस्ट किस, घोती भर्सेस ब्रा र इन्गेजमेन्ट ड्रिम गरी शीर्षक छन्।’ निर्देशक भारतीले भने, ‘नाटकको सुरुमा पहिलो चुम्बनको अनुभव, दोस्रोमा उपत्यका र तराईवासीको जीवनसँग सम्बन्धित विषयवस्तु र तेस्रो शीर्षकमा प्रेम र बिछोडको कथा समेटेका छौँ।’ युवा पुस्तालाई लक्षित गर्दै तयार पारिएको नाटकमा उनीहरूकै कथा रहेको निर्देशक भारतीको भनाइ छ।

नाटक मंसिर २२ देखि पुस १५ सम्म मञ्चन गरिनेछ। नाटक निर्देशक भारतीलेनै लेखेका छन्। भारतीसहित नाटकमा रोशनी कार्की, निशा दाहाल, कुन्दन, रौनक कार्की, सोनिया लामा, अरविन्दकुमार मौर्य, सुशील गिरी, इनारा बानु, सनम श्रेष्ठले अभिनय गरेका छन्। कास्टिङमा पूजा तामाङ, अनमोल क्षेत्री, प्रेम सागर सेजुवाल छन्।
नाटक सोमबारबाहेक हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो एक बजेको अतिरिक्त सो पनि हुनेछ।

प्रकाशित: १४ मंसिर २०८० ६:४५

प्रतिक्रिया

One thought on “चलायमान रंगमञ्च, मञ्चनको तयारीमा पाँच नाटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =