केपी ओली कप क्रिकेट : त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी

हिमाल प्रेस ११ मंसिर २०८० १९:०४
6
SHARES
केपी ओली कप क्रिकेट : त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी

पोखरा- केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विजयी यात्रा सुरुवात गरेको छ। आर्मीले सोमबार पोखरा रंगशालामा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘नीलो’ लाई ११० रनको फराकिलो अन्तरले पराजित गरेको हो। टस जितेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९५ रनको योगफल तयार पारेको थियो।

खेलमा सन्तोष कार्कीले ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए। ३५ बलको सामना गरेका उनी धवन सहनीको बलमा आउट भए। विनोद भण्डारीले २४ बलमा ३ चौका र ३ छक्का मद्दतमा ३८ रन बनाए। प्लेयर अफ दी म्याच कुशल मल्लले २५ रन जोड्दा वासिर अहमदले २३ र रोहित पौडेलले १२ बनाउन सके। अर्का ब्याट्सम्यान सन्दीप रजाली र भीम सार्की नटआउट खेल्दै समान ६–६ रन बनाए।
मदन भण्डारी स्पोर्टस्का लागि मेहुल श्रेष्ठले २ विकेट लिँदा शुभम खनालले १ विकेटमात्र झार्न सके।

१९६ रनको विशाल रनको लक्ष्य पाएको आयोजक १५.४ ओभरमा ८५ रनमा समेटिन पुगेको हो। आर्मीका कुशल मल्लले मात्र २ रन खर्चिँदा ३ विकेट हात पारे। उनले सिमोन रोय, कुशल रुपाखेती र डायमण्ड मण्डललाई पेभिलियन फर्काएका हुन्।

आयोजकका लागि निर्भीक पाठकले २८ रन बनाउँदै रन आउट खेले। रणवीर यादवले १६ रनको व्यक्तिगत योगदान दिँदा ओपनर रोनिम तिवारीले १५ रन बनाए। आर्मीका लागि जितेन्द्र मुखिया र साहव आलमले समान २–२ विकेट लिँदा रोहित पौडेल र विवेक यादवले १ विकेट हात पारे।

अर्को खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। मात्र ५८ रनको लक्ष्य पाएको मधेशले २ विकेटको क्षतिमा ९२ बल बाँकी रहँदै पूरा गरेको हो।

टस जितेको पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा अलआउट हुन पुगेको थियो। ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा खाता नखोली पवेलियन फकिँदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए। कप्तान राजु रिजाल २ रनमा आउट भए। त्यस्तै खडक बोहोरा ९ बलको समना गर्दै १ रनमा पवेलियन फर्किए। वसन्त कार्कीले ४ रन बनाउँदा किरण ठगुन्नाले १० रन जोडे। नरेश साउदले १८ रनको योगदान दिँदा भोजराज भाट १० रनमा सीमित भए।

मधेश प्रदेशका हरिशंकर साहले सर्वाधिक ४ विकेट लिए। रुपेश सिंहले ३ विकेट लिँदा अनिल साहले १ विकेट लिए। मधेश प्रदेशले मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भएको हो। ३ बल सामना गरेका प्लेयर अफ दी म्याच हरिशंकर साहलाई गजेन्द्र बोहोराको बलमा शून्यमै आउट गरेपछि मधेश दबाबमा परेको थियो। तर अनिल साहले जितको आधार तयार पारे। अनिलले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाए। इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी रहँदा नटआउट खेले।

मंगलबार पहिलो खेल सुदूरपश्चिम र नेपाल पुलिस तथा दोस्रो खेल कोशी प्रदेश र त्रिभुवन आर्मीबीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८० १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =