केपी ओली कप क्रिकेट : बागमतीको दोस्रो जित, गण्डकीले हरायो एपीएफलाई

हिमाल प्रेस ८ मंसिर २०८० १९:०१
18
SHARES
केपी ओली कप क्रिकेट : बागमतीको दोस्रो जित, गण्डकीले हरायो एपीएफलाई

पोखरा- केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटमा बागमती प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार पहिलो खेलमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले विजयी यात्रा जारी राखेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल स्कोर खडा गरेको थियो। १९० रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली मात्र ९९ रनमा समेटिन पुगेको हो। कर्णाली १७.३ ओभरमा अलआउट भयो।

बागमतीका लागि सन्दीप लामिछानेले ४ विकेट झार्दा कर्णाली धराशायी बन्न पुगेको थियो। कर्णालीका कप्तान रवीन्द्र शाहीले १९ बल खेल्दै ३ चौकासहित मात्र २० रन जोडे। अर्जुन घर्तीले २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा बनाए। विपीन शाही २१, दीपेन्द्र रावतले १२ रन जोडे। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्।

बागमतीका दीपेश श्रेष्ठले २ विकेट लिन सफल भए। प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले समान १–१ विकेट हात पारे।

बागमतीको फराकिलो रन अन्तरको जित दिलाउन रीत गौतम र प्लेयर अफ दी म्याच इशान पाण्डेले व्यक्तिगत अर्धशतकीय पारी खेले। रीत र इशानले १४३ रनको साझेदारी गरे। रीतले १० चौका र २ छक्का प्रहार गर्दै ५९ बलमा व्यक्तिगत ८२ रनको योगदान दिएकोमा इशानले कुल ३८ बलमा ७० रन जोडे। प्रतिश जिसी १२ रनमा नटआउट हुँदा टिम कप्तान सन्दीप लामिछाने भने शून्य रनमा पवेलियन फर्किन पुगे। दिनेश अधिकारीको बलमा उनी बोल्ड भएका हुन्। कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए।

शुक्रबारको दोस्रो खेलमा घरेलु टोली गण्डकीले विभागीय एपीएफविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ। उसले ४ विकेटको जित हात पारेको हो। गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो। गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो।

टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनायो। एपीएफका कप्तान प्रदीप ऐरीले २३ बलमा २० रन जोडे। उनले २ चौका १ छक्का प्रहार गरे। अर्का ओपनर आशिफ शेखले १२ रन मात्र जोडे। उनलाई विपीन खत्रीको एलविडबलु धरापमा परे आउट गरे। भुवन कार्की र सुमित महर्जनले १४/१४ रन बनाउँदा लोकेश बमले १२ रन जोडे।

प्लेयर अफ दी म्याच गण्डकीका अमृत गुरुङ, विपीन खत्री, चन्द्र पौडेल र कमल परियारले समान २–२ विकेट हात पारे। दिनेश बुढामगर र सुदीप अर्यालले १–१ विकेट लिए।

अन्तिम ओभरमा २ विकेट गुमाए पनि गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दिलाए। गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे। दिनेश बुढामगरले २४ र अभिषेक थापाले ११ रन बनाए।

शनिबार पहिलो खेल मदान भण्डारी स्पोर्टस् एकेडेमी रातो र कर्णाली प्रदेश तथा दोस्रो खेलमा लुम्बिनी प्रदेश र एपीएफबीच प्रतिस्पर्धा हुने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले जानकारी दिए। १५ मंसिरसम्म चल्ने प्रतियोगितामा १२ टिमले भाग लिएका छन्। जसको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेका थिए।

विजेताले ५ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै म्यान अफ दी सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २० हजार तथा प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ८ मंसिर २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =