पोखरामा केपी ओली कप क्रिकेट, १२ टिमले भाग लिने

हिमाल प्रेस ५ मंसिर २०८० १९:३९
8
SHARES
पोखरामा केपी ओली कप क्रिकेट, १२ टिमले भाग लिने

पोखरा- मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालामा बिहीबारदेखि प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ। ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरामा पहिलोपटक केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो।

मंसिर ७ देखि १५ सम्म चल्ने प्रतियोगितामा १२ टिमले भाग लिँदैछन्। प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्व प्रधानमन्त्री ओलीले गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमी अध्यक्ष ध्रुव आचार्यले बताए। उनका अनुसार एकेडेमीले अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न  तथा बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धा आयोजना गरिरहेको छ। यस प्रतियोगिताले पनि खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकाससँगै आर्थिक समृद्धिका लागि समेत महत्त्वपूर्ण टेवा मिल्ने आचार्यले बताए।

प्रतियोगितामा ३ विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरी क्लबसहित कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको टिमले भाग लिनेछन्।

युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना २ टिमलाई समेत मैदान उतार्दैछ। मदन भण्डारी स्पोर्टस् एकेडेमी क्रिकेट विभाग प्रमुख शक्ति गौचनका अनुसार एकेडेमीले हालै देशभरिका २ सय भन्दा बढी युवा खेलाडीमध्येबाट छनोट गरी २ टिम बनाएको हो।

प्रतियोगितामा हरेक दिन २ खेल हुनेछन्। सार्वजनिक खेल तालिकाअनुसार समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन् तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी नीलो छन्। उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रातोबीच प्रतिस्पर्धा हुनेछ।

विजेताले ५ लाख नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै म्यान अफ दी सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २० हजार तथा म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ। यो प्रतियोगिता अब हरेक वर्ष राष्ट्रिय प्रतियोगिता हुने विभिन्न प्रदेशका मैदानमा खेलाउने एकेडेमीको योजना छ।

२०६६ पुस १७ मा स्थापना भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले यसअघि विभिन्न प्रदेशमा खेलुकदका विभिन्न राष्ट्रिय प्रतियोगिता गरिसकेको राखेप बोर्ड सदस्य एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका राजेशकुमार गुरुङले बताए।

एकेडेमी क्रिकेट विभाग प्रमुख गौचनले पोखरामा क्रिकेट प्रतियोगिता हुनुले क्रिकेट खेलको विकाससँगै आर्थिक पर्यटन क्षेत्रमा पनि महत्त्वपूर्ण टेवा दिने बताए।

प्रकाशित: ५ मंसिर २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =