व्यक्तित्व

८० वर्षीय कवि जसराजले देखेको समाज

विवेक विवश रेग्मी ९ मंसिर २०८० १४:३५
2.1k
SHARES
८० वर्षीय कवि जसराजले देखेको समाज कवि जसराज किराती।

इटहरी- जसराज किरातीले जीवनका उकाली-ओरालीमा कैयन् दुःख भोगेका छन्। साहित्यलेखनमा ६० वर्ष बिताएका वयोवृद्ध कविको जीवन नयाँ पुस्ताका लागि दन्त्यकथाजस्तै लाग्न सक्छ।

बहुआयामिक व्यक्तित्वका धनी जसराजलाई धेरैले कविका रूपमा मात्र चिन्छन्। उनी नेपाली कविताका शिखर पुरुष हुन् भन्नेमा विवाद छैन। त्यसैले साहित्यप्रेमी नेपालीले उनलाई अनन्तकालसम्म उम्दा कविका रूपमा चिनिरहनेछन्। त्यसैले उनलाई पढ्नेहरू भन्छन्, ‘जसराजलाई सधैँ पढ्न पाइयोस्, उनको आशीर्वाद प्राप्त भइरहोस्।’

जसराजको जीवनका विभिन्न आयामबारे कमैलाई मात्रै जानकारी हुन सक्छ। कविका रूपमा जसराज चिनिनुअघि उनले गरेका संघर्ष जोकसैका लागि प्रेरणादायी लाग्न सक्छ। जसराजले कहिले अर्काको भारी बोकेर हातमुख जोरे, कहिले शिक्षक बनेर बालबालिकाको पथप्रदर्शक बने अनि कहिले नेता बनेर मुलुक परिवर्तनका लागि मोर्चाबद्ध भए। त्यसैले उनको पहिचान भरिया, शिक्षक र नेताका रूपमा थियो।

जसराजको परिचय पटकपटक फेरियो। अहिले कविबाहेक सबै परिचय गुमनाम बनेको छ। त्यही कवि व्यक्तित्वलाई जीवनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएर उनी बाँचेका छन्। प्रस्तुत छ तिनै कविले भोगेकोे विगत, बाँचेको परिवेश र सम्झनाका पलहरू :

आठ दशक उमेर टेक्दा पनि जसराजमा जोश, ऊर्जा र उत्साह युवाको जस्तै छ। बेलाबेला इटहरी-धरान आउजाउ गरिरहन्छन् उनी। कहिले गाउँ (खोटाङ, बुइपा) बस्छन् त, कहिले काठमाडौँ। सुखसयलपूर्वक जीवन बिताइरहेका विलासिता रुचाउँदैनन्। जसराज सार्वजनिक साधनमै यात्रा गर्न रमाउँछन्। सार्वजनिक साधनमा यात्रा गर्दा मानिसको जीवन बुझ्न मद्दत पुग्ने उनी बताउँछन्।

धनहर्क राई र धर्मलक्ष्मी राईका एक्लो छोराका रूपमा २००१ साउन १७ गते जसराजको जन्म भएको हो। उनी आफूलाई साधारण मानिसका रूपमा चिनाउन रुचाउँछन्। उनी भन्छन्, ‘म साधारण मान्छ हुँ। साधारणमात्रै होइन, अत्यन्त साधारण मान्छे।’

जसराजले आफूलाई साधारण भन्नुको पनि कारण रहेछ। त्यो के भने उनका बुबा जन्मिएको नौ महिनामै हजुरबुबा बितेछन्। हजुरबुबा बितेको नौ महिनापछि हजुरआमा पोइल गइछन्। आपा (बा) टुहुरो भएछन्। उनका बाबुलाई फुपूले हुर्काएकी हुन्। उनी भन्छन्, ‘केही थिएन आपाको, घरमा माटाको भाँडासमेत थिएन रे।’

जसराजले कलिलो उमेरदेखि बुबाले भोगेको आधा दुःख भोगे। त्यसैले बाल्यकाल त्यति सुखद थिएन। उनी सम्झन्छन्, ‘अर्काको भारी बोक्नुपर्ने, बारी जोत्नुपर्ने। दुःखको सीमा थिएन उति बेला।’

बाल्यकालका ती दुःख

गाउँमा भात खानै नपाएको अनुभव छ उनको। ‘भोजपुरको दिङ्लाबाट ६ दिन लगाएर चामल बोकेर ल्याइन्थ्यो। अनि दसैँ मानिन्थ्यो,’ उनी विगत सुनाउँछन्।  जसराजको गाउँमा क्षेत्रीबाहुनको बस्ती थियो। दुई सय मुरीसम्म धान फलाउँथे उनीहरू। ‘आपाले उनीहरूको काम गर्नुहुन्थ्यो, म जोत्थेँ। २८ सालतिर आपाले अलिअलि कमाउनुभयो’, उनले भने। त्यही कमाइबाट परिवारले काँचो धागो, सुर्ती र भाँडाको व्यापार थाल्यो। त्यसपछि बिस्तारै उनीहरूको जीवनले काँचुली फेर्न सुरु गरेको हो।

जसराज अग्रजहरूको पछि लागेर धातुको व्यापारका लागि सामान लिन काठमाडौँसम्म पुग्थे। त्यति बेला धरानबाट हिँडेर १० दिन लाग्थ्यो काठमाडौँ पुग्न। अरू १४ दिनमा भाँडा बोकेर घर पुगिन्थ्यो। बाबुले व्यापार सुरु गरेपछि उनी कहिले भोजपुर पुगे त कहिले तराई झरे। कहिले काठमाडौँ पुगे अनि कहिले गाउँमै रहे। पुरानो भाँडा साट्न भोजपुरको टक्सारसम्म पुग्थे उनी।

गाउँ नजिककै हलेसी मन्दिरमा वर्षमा तीनवटा मेला लाग्थ्यो। मेलामा तिब्बतबाट पनि व्यापार गर्न मान्छे आउँथे रे। तीन महिनासम्म लाग्ने मेलाले उनीहरूको व्यापार फस्टाउँदै गयो। ‘हलेसीमा लाग्ने मेलाले पनि हामीलाई अलिक सम्पन्न बनायो,’ जसराज भन्छन्, ‘पछि राम्रै भयो, ऋणमा परिएन। पैसाको दुःख भएन।’

लुकेर पढेको ज्ञानले खोलेको सिर्जनाको ढोका

जसराजले स्कुलमा पढ्दा बाबुको पिटाइ खाएका रहेछन् धेरैपटक। स्कुल गएकै निहुँमा असह्य गाली सहनुपरेछ। उनी पढ्न गएको थाहा पाएर बाबुले आमालाई पनि पटकपटक पिटेका थिए रे। उनी स्मरण गर्छन्, ‘आपासँग म पढ्छु भनेँ। आपा राईले पढ्नु हुँदैन, काम गर्नुपर्छ भन्नुहुन्थ्यो। स्कुल नगईकन लुकेर पढेँ। शिक्षकले माया गर्थे। म लुकीलुकी किताब पढ्थेँ। आमा सधैँ पढ्न प्रेरित गर्नुहुन्थ्यो।’

जसराजले बाबुलाई थाहै नदिइकन एसएलसी परीक्षा दिए। अंग्रेजीमा फेल हुँदाको क्षण सम्झँदै उनी भन्छन्, ‘राईहरूको गाली त्यही हो। पढेर के गर्छस् भनेर बाबुबाट चुटाइ खाएँ। आमालाई किन पढाइस् भनेर बाबुले चुटेको अहिले पनि सम्झन्छु।’ देवराज ढकालले चाहिँ राईहरूले पनि पढ्नुपर्छ भनेर हौसला दिने गरेको उनले सुनाए। उनी भन्छन्, ‘त्यो ढकाल सामाजिक मान्छे थियो। उसले मेरो आपालाई सम्झायो।’

एसएलसी फेल भएपछि कम्पार्ट दिन भोजपुर सदरमुकाम पुगे जसराज। दोस्रोपटक परीक्षा दिँदा पास भए। अनि उनको जीवनले नयाँ मोड लियो। शिक्षकको जागिर पाए।
‘शिक्षक बनेको पनि आपालाई चित्त बुझेको थिएन। म शिक्षक भएपछि आपाले हेड मास्टरसँग झगडा गरे’, जसराजले भने। उनले महिनामा एक सय ७० रुपैयाँ तलब पाउँथे। कक्षा ८, ९ र १० मा नेपाली पढाउँथे। उनले तीन वर्ष गाउँकै विद्यालयमा पढाएका थिए। उनी सम्झन्छन्, ‘मैले पढाएको विद्यार्थी एकजना पनि फेल भएन।’

तीन जोईको पोइ, १७ सन्तानका पिता

कवि जसराजको वैवाहिक जीवन पनि अनौठो छ। १४ वर्षको उमेरमा बिहे भएको उनलाई थोरै सम्झना छ। उनी भन्छन्, ‘म १४ वर्षको उमेर हुँदा आपाले बिहे गराइदिनुभएछ। धेरै कुरा त बिर्सिसकेँ।’ उनी १९ वर्षको हुँदा छोरी जन्मिइन्। २१ सालमा उनलाई पत्नीशोक पर्‍यो।

अभिभावककै सहयोगमा २०२२ सालमा उनको दोस्रो बिहे भयो। ‘त्यसबेला मन पर्‍यो भने ल्याइहाल्ने चलन थियो, जसको स्वास्नी भए पनि हुन्थ्यो,’ जसराजले रोमान्टिक हुँदै सुनाए, ‘तर मेरो दोस्रो बिहे कन्या केटीसँगै भएको हो।’

दोस्रो बिहे गरेकै वर्ष उनको जीवनमा अर्को नारीको प्रवेश भयो। पहिलो ससुराले आफ्नी अर्की छोरी उनैलाई दिए। ‘मेरो ससुराको प्रशस्त सम्पत्ति थियो। ज्वाइँले दुःख पायो भनेर उहाँले पहिलाको बुढियाको बहिनी बिहे गरिदिनुभयो’, उनले भने। तिनको पहिलो बिहे लाहुरेसँग भएको रहेछ। जसराजले भने, ‘अर्काको स्वास्नी ल्याउने चलन थियो। लाहुरेसँग बिहे गरे पनि सम्बन्ध राम्रो भएनछ। २२ सालमै दुईपटक बिहे भयो मेरो।’

जसराज अहिले दुवै श्रीमती सँगै छन्। उनी नौ भाइ छोरा (जेठा छोराको निधन भइसकेको छ) र सात छोरीका पिता सबै सम्पन्न र खुसी रहेको बताउँछन्।

राजनीतितर्फको झुकाव

जसराजको जीवन शिक्षकबाट बिस्तारै राजनीतितर्फ मोडियो। गाउँ पञ्चायतको वडाध्यक्ष बने। राजनीतिमा बढोत्तरी भइरह्यो। जिल्ला पञ्चायतको सदस्य हुँदै उपसभापतिसमेत भए उनी। अनि माओवादी राजनीतिमा संलग्न भए। उनी नेता बनेको बाबुलाई पटक्कै मन परेनछ। त्यसको रिस आमामाथि पोखेको उनी सुनाउँछन्।

जसराज भन्छन्, ‘आपाले आमालाई छोरा नेता भो भनेर कुटेको छ, कुटेको छ। आमा लाटी! बोल्दै नबोल्ने। बाउबाट कति पीडा खेपियो खेपियो।’ उनलाई घरमा पनि प्रवेश अनुमति भएन। कतिपटक त उनले बारीको कान्लामा आमाले खोपी बनाएर त्यहाँ राखिदिएको खाना खाएर जीवन गुजारे। सशस्त्र संघर्षमा लागेको पार्टीमा लागेकाले उनका बाबुलाई चित्त बुझेको रहेनछ।

जसराज माओवादीमा कसरी लागे त? उनलाई पार्टीमा संलग्न हुन रामबहादुर थापा ‘बादल’ र गोपाल किरातीको ठूलो भूमिका छ। उनीहरू जसराजको घरमा पटकपटक जान्थे। बैठक गर्थे। त्यसपछि उनी पनि पूर्णकालीन कार्यकर्ता बने।

‘उनीहरू (बादल र किराती) ले मलाई माओवादी बनाए। माओवादी भइयो। कति मान्छे बचाएँ। माओवादीको सन्त्रासबाट गाउँलेलाई पनि बचाएँ’, जसराजले मुस्कुराउँदै भने। त्यसपछि उनी केही भावुक पनि बने। ‘२०६४ सालको कुरा हो, केन्द्रमा माननीय उठाउने भयो, समानुपातिकमा। तर सोचेजस्तो भएन।’

समानुपातिकतर्फ धेरै मत आएपछि उनी माननीय हुनेमा ढुक्क बने। मतदाताको विश्वास पनि थियो। मतगणनापछि गणेश अधिकारीलाई समानुपातिक सांसद बनाइयो। जसराज भन्छन्, ‘त्यसबेला मलाई नारायणकाजी श्रेष्ठले निकै आश्वासन दिएका थिए। तर पूरा गर्न सकेनन्। अनि रिस उठेर माओवादी र राजनीति दुवै छाडेँ। कविता लेखनलाई निरन्तरता दिएँ।’ राजनीति भनेको ‘झेलको खेल’ रहेको उनको बुझाइ छ।

सत्यमोहनबाट पाएको प्रेरणा

जसराजले २० को दशकबाटै कविता लेख्न सुरु गरेका हुन्। तर चर्चामा भने ३० को दशकपछि मात्रै आए। उनलाई कविता लेख्न र प्रकाशन गर्न धेरै अग्रजहरूले सहयोग गरेका छन्। उनीहरूमा गोरखबहादुर श्रेष्ठ, रामेश, मञ्जुललगायत छन्। गोरखबहादुरले त कविताका पुस्तक गाउँमै ल्याइदिन्थे। त्यसैले त जसराज गोरखबहादुरलाई कविताका गुरु मान्छन्।

रामेश र मञ्जुलले पनि कविताकर्मका लागि प्रेरित गरेको जसराज सुनाउँछन्। रामेश र मञ्जुल ‘राल्फा आन्दोलन’का अभियन्ता हुन्। जसराज पनि सोही समूहको सदस्य बनेर विभिन्न अभियानमा सरिक बने। उनी शताब्दी पुरुष सत्यमोहन जोशीबाट प्रेरित रहेछन्। ‘है किराती पढ्नुसढ्नु छैन। कवि भनेको छ, हिँडेको छ’, जोशीलाई सम्झँदै उनी भन्छन्, ‘तर तिमी साँच्चिकै कवि हो।’

२०३४ सालमा उनको पहिलो कवितासंग्रह ‘उज्यालो खोज्ने आँखाहरू’ प्रकाशित भयो। परशु प्रधान सीडीओ भएर खोटाङ आएको समयमा उनले कविता सङ्ग्रह विमोचन गरेका थिए। प्रधान र जसराज साहित्यिक मित्र हुन्।

२०५७ मा दोस्रो कवितासंग्रह ‘जसराज किरातीका कविता’ प्रकाशन भयो। २०६५ मा उनको तेस्रो कवितासंग्रह ‘जसराज किरातीका प्रतिनिधि कविता’ प्रकाशित भयो। उनको नाममा ‘जसराज किराती प्रतिभा पुरस्कार’ समेत स्थापना भएको छ। ‘तपाईँका कविताको सङ्ग्रह खोज्नुहोस् भनेर एकेडेमीले पनि भनिरहन्छ, खोज्छु भेट्दै भेट्दिनँ’, उनी भन्छन्।

जसराजको अगुवाइमा कुनै बेला साहित्यिक पत्रिकासेमत प्रकाशित भएको थियो। ‘आक्रोेश’, ‘हलेसी कुञ्ज’ जस्ता साहित्यिक पत्रिका प्रकाशनको नेतृत्व गरेको उनी स्मरण गर्छन्। २०२८ सालदेखि प्रकाशन आरम्भ भएको हस्तलिखित पत्रिका ‘गोरेटो’ लामो समयसम्म रह्यो।

भारी बोकेर पनि सन्तानलाई शिक्षा दिने जिम्मेवार अभिभावक

उमेर छिप्पिँदै जाँदा छोराछोरी पढाउने र छोराछोरीले कसरी असल काम गर्छ भन्नेमै ध्यान गएको जसराज बताउँछन्। अलिअलि कमाएको बखत खेत किने। त्यही खेत बेचेर छोराछोरी पढाए। औसत नेपालीले आफ्ना सन्तानलाई गर्ने जिम्मेवारी पूरा गरेको उनले बताए।

‘अहिले आएर छोराछोरी आफ्नो बाटो लागे। राम्रै लाग्छ। हामीले चामलको भात नखाएकै हो। तर गाउँको काम कहिल्यै दुःख लागेन,’ उनी भन्छन्। उनले पढ्न पाएनन्। बाबुले पनि पढ्ने हौसला नदिएपछि उनी स्कुल जाने कुरै भएन। जसराज भन्छन्, ‘कलेजको त कुरै नगरौँ।’

छोराछोरी सबैले स्नातक पास गरेका छन्। उनी त्यसैमा खुसी छन्। ‘छोरा पढाउनु हुँदैन, भन्ने गाउँमा हुर्किएको म। छोरी पढाएँ।’ आफूले पढ्न नपाएकै झोकमा सबै सन्तानलाई पढाएको उनी। बताउँछन्। उनले भारी बोकेर छोरा र छोरीलाई पढाएका थिए।

अहिले गाउँमा एक छोराबुहारी छन्। कहिलेकाहीँ गाउँ जान्छन्, उनी। एक छोरा धरानमा अर्का इटहरी बस्छन्। अन्य सबै काठमाडौँमा छन्। बेलाबेला छोराहरूकहाँपालैपालो गरी बस्छन्, जसराज।

उनका छोराहरूले पनि कविको उत्तराधिकारीको जिम्मेवारी निर्वाह गरेका छन्। त्यसैले उनका छोराहरूलाई वंशज कवि पनि भनिन्छ। छोरा देवान किराती युवापुस्ताका लोकप्रिय कवि हुन्। इटहरी बसेर कविताकर्म गरिरहेका देवान नयाँ पुस्ताको कुनै सङ्ग्रह आए जसराजलाई उपहारजसरी पढ्न दिन्छन्। अर्का छोरा अनिल किराती निजामती सेवामा कार्यरत छन्। उनी पनि निरन्तर कविता लेखिरहेका छन्।

अर्का छोरा प्रवीण किराती सिनेमा र संगीत क्षेत्रमा सक्रिय छन्। यस्तै, अर्का छोरा मिलन किराती गीतकार र छोरी बबिना किराती गायिका छिन्। , देवानकी छोरी सक्षम किराती पनि नाटकमा अभ्यास गरिरहेकी छन्।

यी सबै सम्झदैँ जसराज भन्छन्, ‘सबैलाई मेरै प्रभाव पर्‍यो। छोराछोरी पढेको, लेखेको देख्दा साह्रै खुसी लाग्छ।’ उनी कर्ममा मात्रै विश्वास गर्दैनन्। कर्मसँगै भाग्य पनि हुने उनको जीवनले अनुभव लिएको छ। ‘भाग्य भन्ने कुरामा कहिलेकाहीँ विश्वास लाग्छ। कर्म र भाग्य दुई चिज हुन्छ। कर्म काम गर्ने हो, कामलाई सघाउने भाग्यले हो।’

छोराछोरीले पढेरै पैसा कमाए। उनलाई अब ढुक्कले बस्छु भन्ने लागेको थियो। तर रोगले च्यापेको छ। त्यसैले उनी कहिलेकाहीँ आफैँसँग बात मार्छन्।

‘कविता लेख्नु भनेको नक्कल गर्नु होइन’

उनले अहिलेका कविहरूले कविता नक्कल गरेर लेखेको उनको बुझाइ छ। पछिल्लो समय अर्कालाई जित्छु भनेर कविता लेखिने गरेकाले कविताभित्र कविता नै नहुने उनी बताउँछन्।

‘हाम्रो पालामा लेखेको कविता नक्कल थिएन। हामीले अर्कालाई जित्छु भनेर लेखेको होइन। हामीलाई दुखिरहेको, हेरिरहेको, भोगिरहेको समय थियो। कविता मान्छेको लागि लेखिने हो, मान्छेहरूको भन्दा राम्रो लेख्छु भन्नु भनेको अर्काको नक्कल गर्नु हो,’ उनले वर्तमान समयका कविता नियालिरहे पनि आफूले नबुझ्ने बताए। जसराजले भने, ‘अहिलेका कविता कपोकल्पित लेखिएको पाइन्छ। लेखेर मात्रै कविता हुँदैन। अचेल त म नेपाली कविता बुझ्दिन भन्छु, कवितामा के भन्न खोजेको हो? गुदी नै पाउँदिनँ।’

पछिल्लो समय ठूला र मोटा किताब लेखिए पनि भित्री कुरा केही नहुने उनको तर्क छ। ‘किताबहरूको भोल्युम ठूलो हुन्छ, भित्र केही हुँदैन। जुनसुकै लेखकले जेसुकै भनोस्। म अनपढ हुँ, त्यसकारण नबुझेको हो कि? म त्यसलाई बुझ्छु, जो नपढी लेखेका हुन्छन्। मान्छेहरू धेर पढेर कविता लेख्न थाले। कसैलाई पछ्याएर लेख्न खोज्नुहुँदैन’, जसराजको सुझाव छ।

कवि, लेखकले आफ्ना सिर्जना ढाँटेर लेखेजस्तो लाग्ने गरेको उनी बताउँछन्। कवितामा पनि राजनीति मिसिएको उनको अनुभव छ। उनले भने, ‘जे लेखे पनि ढाँटेर लेख्नु हुँदैन। अरू भाइहरूको पनि कविता पढ्छु, बुझ्दिनँ। सबै ठाउँमा राजनीति मिसियो।’

गाउँठाउँ रित्तिएकामा असन्तुष्टि

दलीय राजनीतिका कारण गाउँ रित्तिएकोमा उनलाई चिन्ता छ। ‘सरकारले के गर्छ? राजनीतिले के गर्छ? तर राजनीतिलाई नपछ्याई धरै छैन,’ सर्वहाराप्रति चिन्ता व्यक्त गर्दै उनले सुनाए, ‘प्रधानमन्त्रीहरू मान्छेलाई झुक्याइरहेका छन्। राजनीतिमा गोटी चलाउन जान्नु र सिपालु हुन सक्नुपर्नेरहेछ। नेपालमा ठूलो दुर्घटना हुनसक्ने के पनि छ भने केटाकेटीहरूलाई सम्झना हुन सक्ने गरी केही पढाइएन।’

उनले सहरकेन्द्रित र अंग्रेजीबाहेक केही नपढाएकोमा दुःखसमेत व्यक्त गरे। ‘केटाकेटीलाई अंग्रेजीबाहेक केही पढाइएन। नेपाली जान्दै जान्दैन। हामीले विदेशीे मुलुकलाई आफ्नोजस्तो बनाउन खोजेर देश बन्दैन,’ उनले भने, ‘नेपाली भाषामै जागिर खाने हो। हामीकहाँ नेपालीपन र आफ्नोपन हराउँदै गएको छ।’

दुःखबाट मुक्ति पाउन लाहुरे बनेकाहरूले देशमै रहेर आफ्नो पहिचान बनाउनुपर्ने जसराजको सुझाव छ। उनी भन्छन्, ‘सबैजना विदेश गएर डाक्टर, वकिल भएका छन्। तिनीहरूले के दिए देशलाई? हामीले धेरै अर्काको गुलामी गर्यौँ, हाम्रो मुलुकमा अस्तित्व कायम गर्नुपर्छ। देशका लागि केही नगर्ने? बाहिर बस्नेहरूले उल्टै हामीलाई पो हकार्छन्। हुन त मुलुकमा कहिल्यै, केही भएकै पनि छैन।’

जसराजले आफूलाई सहर मन नपर्ने बताए। आफू बसिरहेको घरलाई एकफेर नियाल्दै उनले भने, ‘सहर यति सुन्दर र सफा छ, तर मलाई किनकिन मन पर्दैन। सहरमा मान्छेले मान्छे देख्दैन। काठमाडौँमा त कसरी धनी हुने, कसरी माथि जाने भन्नेबाहेक केही छैन। मलाई त सहर मान्छेको बस्तीजस्तो पनि लाग्दैन।’

उनको बुझाइमा सहरको हावापानी दूषित छ नै, मान्छेको सोचाइ साँघुरो छ। उनी सहरमा आफ्नो मन मिल्ने मान्छे भेटाउँदैनन्। आफूसँग कुरा गर्ने मान्छे पाउँदैनन्। मान्छेको भीड भएर पनि एक्लै भएको अनुभूत गर्छन्। बरु यी सबै सम्झँदा गाउँको हावापानीसँगै आफूले गरेको दुःख सम्झँदा बेलाबेला उतै बस्ने सुनाउँछन्।

मान्छेहरूले देश गरिब भएको भनिए पनि उनी त्यो कुरा स्वीकार गर्दैनन्। बरु देश गरिब नभएर मान्छे गरिब, मान्छेको सोच गरिब भएको उनको तर्क छ। ‘सहर त भरिइसक्यो, मान्छेहरू सबै सहर बस्न रुचाए,’ उनी भन्छन्, ‘यही माटोमा बढे, यही माटोले चिनायो, यही माटोले कमाउन सिकायो, अन्त्यमा सबैले गाउँ छाडेर हिँडे।’

उनले गाउँको बिम्ब भने पनि देश छाडिरहेकाहरूप्रति चिन्ता व्यक्त गरेको आशय बुझिन्थ्यो। ‘मान्छेको मन कहिल्यै भरिलो हुँदैन। जतिसुकै सम्पन्न भए पनि कहिल्यै पुग्दैन। मान्छे त साह्रै लोभीपापी हुँदोरहेछ,’ जसराजले लामो सुस्केरा हाल्दै गहन मुद्रामा सुनाए, ‘अब त गाउँ पनि रित्तियो, ठाउँ पनि रित्तियो।’

जीवनको ऊर्जावान् समय पठनपाठनमा बिताएका कारण उनी अहिले पनि किताब पढिरहन्छन्। बजारमा कुनै नयाँ साहित्यको किताब आएको थाहा पाए किनिहाल्छन्। घरीघरी किताबको मूल्य हेर्दै उनी भन्छन्, ‘यो किताबको मूल्य चैँ अलिक बढी रहेछ। गुदी कुरा भए त हुने!’

कलासाहित्यसँग सम्बन्धित कार्यक्रममा बोलाएको ठाउँमा सकेसम्म पुग्छन्, उनी। माइकमा पुग्नासाथ जसराज भन्छन्, ‘म अलिअलि कविता लेख्ने मान्छे हुँ। म आफ्नै कविता पनि भन्न बिर्सिन थालेँ। स्मरणशक्ति घट्यो।’

जसराजले आफ्नो स्मरणशक्ति घटेको सुनाए पनि कविता पढिरहेकै हुन्छन्। दिनभर आफ्नो बोल्ने मान्छे नहुँदा पढिरहेकै भेटिन्छन्, उनी। कापीमा केही लेखिरहेकै भेटिन्छन्। ‘म घाँसेदाउरे मान्छे। नजानीनजानी पनि आफैँलाई के गरिराखेको छु भनेर सोध्छु, कहिलेकाहीँ,’ उनी भन्छन्, ‘नयाँ पुस्ताले आफूलाई सुधार गर्नुपर्छ। कविता लेख्नु र कविता भन्नु साधारण कुरा होइन।’

जसराज गम्भीरसँगै रौसे पनि छन्। मनमा आएको कुरा फ्याट्टै भनिहाल्छन्। दैनिकीबारे चासो राख्दा उनले भने, ‘दिउँसो कहिल्यै सुत्दिन। दिउँसो सुत्ने बानी लागेन। टायम-टायममा दबाई खान्छु। साँझ परेपछि थोरै रक्सी चैँ अनिवार्य खानैपर्छ। म जुनसुकै रक्सी खान्नँ। गाउँको रक्सी, त्यो पनि शुद्ध कोदोको रक्सी अलिकति खान्छु।’ आफूलाई रक्सी नखाएसम्म निद्रा नपर्ने र बिसन्चोजस्तो हुने उनले सुनाए।

प्रकाशित: ९ मंसिर २०८० १४:३५

प्रतिक्रिया

2 thoughts on “८० वर्षीय कवि जसराजले देखेको समाज

  1. विस्तृत कुराकानी गर्नुभएछ । विवेकजीलाई धन्यवाद ।

  2. हाम्रो बुइपाका अभिभावक तथा साहित्यकार श्री जसराज किराँतिज्युको सम्पुर्ण बिस्तृत जिवनी तथा संघर्षपुर्ण साहित्यीक यात्राको चित्रण गर्नुभएकोमा धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =