रकम अपचलन आरोपमा सहकारीका अध्यक्षसहित पाँच पक्राउ

हिमाल प्रेस ९ मंसिर २०८० १०:०१
44
SHARES
रकम अपचलन आरोपमा सहकारीका अध्यक्षसहित पाँच पक्राउ

इटहरी- बचतकर्ताको रकम अपचलन गरेको आरोपमा इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अध्यक्षसहित पाँचजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेका छन्। एकजनाको नाम भने गोप्य राखिएको छ। उनीमाथि भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले उनीहरूलाई पक्राउ गरेको पुष्टि गरे। ‘जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ,’ डीएसपी कार्कीले भने, ‘सहकारी संस्थाको रकमबारे थप अनुसन्धान भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको उनले बताए। बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पैसा फिर्ता माग गर्दै दबाब सिर्जना गर्दै आएका थिए।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई शुक्रबार इटहरीका विभिन्न ठाउँहरूबाट प्रहरीले पक्राउ गरेको हो।

केही समय यता संस्थाबाट पीडितहरूले दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समितिले गठन गरी संस्थाविरुद्ध आन्दोलन गर्दै आएका थिए। सहकारी डुब्दा संस्थाका पाँच हजार बढी बचतकर्ता तथा सेयर सदस्यहरू मर्कामा परेको पीडितहरू बताउँछन्।

प्रकाशित: ९ मंसिर २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =