विद्यालय बन्द गरेर धर्नामा शिक्षक

हिमाल प्रेस ९ मंसिर २०८० ९:२१
6
SHARES
विद्यालय बन्द गरेर धर्नामा शिक्षक

सर्लाही- सर्लाहीको दक्षिण-पूर्वी भेगमा पर्ने हरि पूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन्।

आर्थिक वर्ष २०८०/०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन्। गएको साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुन्।

शिक्षकको आन्दोलनले गएको बुधवार देखि नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय बन्द हुँदा पाँच हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन्। हरि पूर्वा नगरपालिका–५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालय हरिपूर्वाकी शिक्षिका रीनाकुमारी साहले तलब दिनुपर्ने एक सूत्रीय माग राखेर धर्नामा बसेको बताए।

पढाई नै रोकेर आन्दोलनमा उत्रिनुपर्ने आफूहरूको बाध्यता रहेको उनको भनाइ छ। ‘विद्यालय बन्द गरेर धर्नामा बस्नुपर्ने अन्य कुनै कारण छैन,’ साहले भने, ‘भोकै पेट कति दिनसम्म पढाउने ? चार–चार महिनासम्म पनि तलब नपाउँदा हाम्रो घर, व्यवहार पूरै डामाडोल बनेको छ।’

नगरपालिकामा पटकपटक ध्यानाकर्षण गराउँदा दसैँ, तिहार र छठ जस्ता प्रमुख पर्वमा समेत तलब नपाएपछि बाध्य भई धर्नामा बस्नु परेको आन्दोलित शिक्षकको गुनासो छ। हरि पूर्वा नगरपालिका–४, मा रहेको जनशक्ति प्राथमिक विद्यालय डुमरियाका प्रधानाध्यापक राम जीवन रायले गएको असोज १६ गते ज्ञापन पत्र बुझाएर तलब निकासा गरिदिन माग गरे पनि अहिलेसम्म तलब नपाएको बताए।

ज्ञापन पत्र बुझाएर नगरप्रमुख समक्ष गुनासो राख्दा समेत सुनुवाइ नभएपछि नगरपालिका कार्यालयमा आएर धर्नामा बसेको उनले बताए। ‘यत्तिका महिनासम्म तलब नपाउँदा टाढाटाढाबाट यहाँ आएर पढाउने शिक्षक असाध्य गाह्रो पर्न थालिसकेको छ,’ रायले भने, ‘तलब, भत्ता नपाएसम्म अब हाम्रो यो आन्दोलनको कार्यक्रम रोकिँदैन।’

नगर सभा गर्न नसक्दा हरि पूर्वा नगरपालिकाले शिक्षक, कर्मचारी कसैलाई पनि तलब खुवाउन सकेको छैन। नगरपालिकाका प्रमुख विनोद साह तेलीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर सभा गर्न नसकेको बताए।

प्रमुख प्रशासकीय अधिकृत नपाउँदा आफू निरीह बनेको नगरप्रमुख साहको दुखेसो छ। ‘नगर सभा गर्न नसकेरै यी सबै समस्या आएका हुन्, नगर सभा गर्न प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्न,’ नगर प्रमुख साहले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा आर्थिक गतिविधि ठप्प भएको हो।’

हरि पूर्वा नगरपालिकामा गएको वर्ष चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएर गएदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन। असार अन्तिमतिर तलब, भत्ता खुवाउनका लागि मात्रै भनी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रलाई पठाइएको थियो।

मिश्र केही दिन हाजिर भएर पुनः मन्त्रालयमै फर्किए। त्यसपछि विभिन्न प्रमुख प्रशासकीय अधिकृत पठाइएकोमा कसैलाई बाटोबाटै र कसैलाई केही घण्टाभित्रै अन्यत्र सरुवा गराइएको नगरप्रमुख साहले बताए।

आफूले कयौँ पटक मन्त्रालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन लिखित तथा मौखिक रूपमा आग्रह गरे पनि सर्लाही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य समेत रहेका खानेपानी मन्त्री महिन्द्रराय यादवले हस्तक्षेप गरेर कुनै पनि प्रमुख प्रशासकीय अधिकृतलाई आउनै नदिएको नगरप्रमुख साहले आरोप लगाए।

प्रकाशित: ९ मंसिर २०८० ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =