मनकामना केबलकार २६ वर्षमा प्रवेश, बेस स्टेशनमा ५५ करोड लागतमा रिसोर्ट बन्दै

हिमाल प्रेस ८ मंसिर २०८० १४:०१
36
SHARES
मनकामना केबलकार २६ वर्षमा प्रवेश, बेस स्टेशनमा ५५ करोड लागतमा रिसोर्ट बन्दै

काठमाडौँ– स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबलकार मनकामना केबलकारले २५ वर्ष पूरा गरेको छ। केबलकार सेवाले २६ वर्ष प्रवेश गरेको अवसरमा विज्ञप्ति जारी गर्दै यसको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गरेको छ।

‘२५औँ वार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदा अर्पण गर्न चाहन्छौँ,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

केबलकार सेवाले प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ। केबलकार सेवा शुभारम्भसँगै मनकामना क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रूपमा स्थापित भएको छ।

मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको हो। प्रालिले २०५४ माघको अन्तिम साता केबलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको थियो। देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौँ चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबलकार सेवा सञ्चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवं उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो। मनकामना केबलकारले अहिले वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ। यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ।

२५ वर्षको दौरानमा कम्पनीले केबलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए। अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ/असोजमा सम्पन्न गर्ने योजना बनाएको छ।

जसका लागि आवश्यक केही उपकरण आयात भइसकेको छ। अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबल साथै केबलकारलाई केबलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ। केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको छ।

सन् २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ। ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ। मनकामना दर्शन प्रालिको भगिनी संस्था रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपैयाँ हुने अनुमान छ।

प्रकाशित: ८ मंसिर २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =