बल्खुमा गणतन्त्रविरोधी नारा लागेपछि…

हिमाल प्रेस ७ मंसिर २०८० १५:०२
22
SHARES
बल्खुमा गणतन्त्रविरोधी नारा लागेपछि…

काठमाडौँ– काठमाडौँको बल्खुमा गणतन्त्रको विरोधमा प्रदर्शन गरिएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ ले बिहीबार आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राजतन्त्रको समर्थनमा नारा लगाएका हुन्।

प्रदर्शनमा सहभागीहरू ‘राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दाबाद, नारायणहिटी खाली गर्’ जस्ता नारा लगाउँदै अगाडि बढेका थिए। प्रदर्शनकारी भन्दै थिए, ‘सिंहदरबार छिर्नैपर्छ। आन्दोलन सफल बनाउनैपर्छ।’ उनीहरू अन्य दलका नेताभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति बढी आक्रामक देखिन्थे।

प्रदर्शनकारीहरू गणतन्त्रविरोधी नारा लगाउँदै कालीमाटी क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्यास प्रहार गर्न थालेको थियो। प्रदर्शनकारीका तर्फबाट ‘हामी निषेधित क्षेत्र तोड्दैनौँ’ भनेर माइकिङ भइरहे पनि प्रहरीले अश्रुग्यास प्रहार गर्न छाडेको थिएन। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न तोकेको स्थलभन्दा बाहिर जान खोजेपछि प्रहरीले प्रसाई पक्षधरलाई रोकेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

अश्रुग्यास प्रहार भएपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए। दुई पक्षबीचको झडपका कारण बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीका तर्फबाट पनि प्रहरीमाथि ढुंगा प्रहार भएको छ। केहीबेरपछि बल्खुचोकमा पुगेर प्रदर्शनकारीहरू एकत्रित भएका छन्।

प्रसाईले नतृत्व गरेको प्रदर्शनमा राप्रपाका सांसद ज्ञानबहादुर शाही पनि पुगेका थिए। महाअभियानले राजतन्त्रको पुनर्स्थापना तथा हिन्दू राज्य कायमलगायतका एजेन्डा अघि सारेर आन्दोलन गरेको छ। राप्रपाले पनि हिन्दू राज्य र राजसंस्थाको पक्षमा रहँदै आएको छ।

प्रसाईको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागिताबारे राप्रपाले औपचारिक रूपमा केही बताएको छैन। प्रसाई समूहलाई प्रशासनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएपछि बल्खुमा आयोजना गरिएको थियो।

यसैगरी काठमाडौँको तीनकुनेमा बिहीबार नै नेकपा एमालेको भ्रातृसंगठन युवासंघ नेपालले विरोध प्रदर्शन गरेको छ। दुई समूहको प्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। प्रदर्शनकै कारण देखाउँदा बिहीबार काठमाडौँ र ललितपुरका सहरी क्षेत्रमा शिक्षण संस्थामा पठनपाठन बन्द गरिएको छ।

प्रकाशित: ७ मंसिर २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =