न्युयोर्कमा देउसीभैलो

हिमाल प्रेस ३० कार्तिक २०८० १०:५८
12
SHARES
न्युयोर्कमा देउसीभैलो

काठमाडौँ- द गुरुङ (तमु) सोसाइटी इंक यूएसएले तिहार तथा शुभदीपावली २०२३, देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। सोसाइटीले तिहार हरेक वर्ष आयोजना गर्दै आएको छ।

धर्म हाउस उडसाइडमा भएको कार्यक्रममा सबैभन्दा पाका महिला बेलकुमारी घले र अध्यक्ष ओम गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर र पञ्चकन्या नानीहरू उपस्थित भई कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा उपस्थित सबै सहभागीले नेपालको गाउँघरमा जस्तै मौलिक रूपमा मादल, खैचडी, सारंगी, गितारको तालमा भट्याएर देउसी भैली खेलेका थिए। उपस्थित सहभागीले भैली कार्यकम्रको दृश्य कुनै सहरको हलमा नभएर कुनै गाउँभरको खुल्ला आकाशमा कसैको घर आँगनीमा भैली खेलेको अनुभूति भएको प्रतिक्रिया दिए।

सबै सहभागीहरूले भैलीलाई गक्ष अनुसारको रकम दान गरेका थिए। कार्यक्रममा बाल कलाकार ओजा गुरुङ र २५ वर्षदेखि न्यूयोर्कमा नृत्य गर्दै आएकी वरिष्ठ कलाकार वसन्ती राई तथा कलाकार रुथमान गुरुङले नृत्य प्रस्तुत गरेका थिए। साथै अध्यक्ष ओम गुरुङ, प्रथम महिला डा सुलोचना गुरुङ र युवा अमिर गुरुङले गीत प्रस्तुत गरेका थिए।

अध्यक्ष गुरुङले देउसी भैली कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्थापक अध्यक्ष, सल्लाहकारहरु, सम्पूर्ण आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदी बहिनीहरु, साधारण सदस्यहरु, स्वंयसेवक युवा भाइ बहिनीहरु सबैप्रति आभार व्यक्त गरे।

नेपाली संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्दै जानको लागि र आफ्नो राष्ट्र र माटोको सम्मानको लागि पनि परदेशको भूममिा यस्तो कार्यक्रम आयोजना गरेको सोसाइटीले जनाएको छ।

कार्यसमिति सदस्य अर्जुन गुरुङ तथा कोषाध्यक्ष अञ्जित गुरुङले कार्यक्रमको संयोजन गरेका हुन्। कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष अलिशा गुरुङले स्वागत गरेकी थिइन्। कार्यक्रममा नेपाली मौलिक परिकारहरु सेलरोटी, आलुदम, भट्मासको अचार, नेपाली खाना दालभात, खसी तथा कुखुराको मासु लगायतका परिकार कार्यसमिति सदस्य तथा अन्य स्वयंसेवकहरुले बनाएर सर्भ गरेका थिए।

कार्यक्रममा उपस्थित सबै दाजुभाइहरुलाई टोपी लगाएर तथा दिदी बहिनीहरुलाई फूल दिएर स्वागत गरिएको थियो। साथै द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदी बहिनीहरुले विभिन्न परिकारहरु अचार, सेलरोटी र फूलहरु प्रदान गरी सहयोग गरेका थिए । कार्यक्रममा झण्डै ६ हजार ५ सय डलर रकम संकलन भएको थियो।

 कार्यक्रममा ४ बर्षका बालबालिकादेखि ७५ वर्ष उमेरसम्मका सहभागी सबैलाई निस्शुल्क रूपमा प्रवेश तथा खानाको व्यवस्था गरिएको थियो।

प्रकाशित: ३० कार्तिक २०८० १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =