भूकम्पपीडितलाई चिसोबाट बच्नै सकस

कति उठ्यो राहत?

हिमाल प्रेस ३० कार्तिक २०८० ९:२६
6
SHARES
भूकम्पपीडितलाई चिसोबाट बच्नै सकस फाइल तस्बिर : हेमन्त केसी/रासस

काठमाडौँ- न्यानो कपडा र राम्रो राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन्।

भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ। घर भत्केका र चर्केका उनीहरु खुला आकाशमुनि बसिरहेका छन्।

तत्काल राहतका त्रिपाल, फोम र खाद्य सामग्री विभिन्न संघसंस्थाले बाँडेका थिए। तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका हुन्। बालबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन्।

त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको जाजरकोटको नलगाड–१, चिउरीका सन्तोष कुमाइको गुनासो छ। चिसो बढ्न थालेसँगै पीडितलाई कसरी जोगाउने भन्ने अर्को चिन्ता थपिएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए।

एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन ढिला हुने भएकाले थप समस्या देखिएको घर्तीले बताए। सरकारले तत्काल अस्थायी संरचना निर्माणका साथै पुनर्निर्माणका काम थाल्ने भने पनि अहिले बालबालिका, सुत्केरी, वृद्धवृद्धा बिरामी हुन थालेका छन्।

भूकम्पको केन्द्रबिन्दु जाजरकोट यसअघि पनि झाडापखालाबाट निक्कै प्रभावित भएको जिल्ला हो। अहिले पनि रुघाखोकी, ज्वरो र अन्य सरुवा रोगको जोखिम बढेको छ। उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर अवस्था थप नाजुक हुन नदिन डाक्टरसहित स्वास्थ्यकर्मीको टोली निरन्तर प्रभावित क्षेत्रमा खटिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले बताउँछन्।

कति उठ्यो राहत?
जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि राहत र पुनर्स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग जम्मा गर्न आग्रह गरेको थियो।

सरकारले एकद्वार प्रणालीमार्फत् राहत उपलब्ध गराउने भन्दै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्न आग्रह गरेको हो।

कोषमा शुक्रबारसम्म १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ ४४ पैसा जम्मा हुन आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

कोषमा राष्ट्रिय वाणिज्य बैंकले १ करोड, बुद्ध एयरले १ करोड, भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरूङले १ करोड ११ लाख ११ हजार १११, सत्तारूढ दल नेपाली कांग्रेसले ५० लाख, मुक्तिनाथ दर्शन प्रालिले ५ लाख रूपैयाँ जम्मा गरेका छन्।

त्यस्तै, ग्लोबल आइएमई बैंकले एक करोड, क्यान सेन्ट्रल पेमेन्ट रिलिजकातर्फबाट १ करोड, सूर्या नेपाल प्रालिले १ करोड, गोर्खा ब्रुअरीले १ करोड रूपैयाँ जम्मा गरेका छन्।

कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट, बारेकोट-१ रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५४ जनाको ज्यान गएको थियो। तीन सयभन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण साढे २६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। ३५ हजार घरमा आंशिक क्षति भएको छ।

जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेको छ। सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड र त्यसमा १ अर्ब ७५ करोड रूपैयाँ थपेर १० अर्ब विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो।

प्रकाशित: ३० कार्तिक २०८० ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =