जाजरकोट भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु

हिमाल प्रेस २७ कार्तिक २०८० ८:५६
612
SHARES
जाजरकोट भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु भूकम्पले क्षति पुर्‍याएको जाजरकोटको भेरी नगरपालिका–३ स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको भवन। तस्बिर : रासस

सुर्खेत- जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा कात्तिक १७ गते भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलवीर सुनारले रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको जानकारी दिए।

यस्तै रुकुमपश्चिममा ३६ र जाजरकोट ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारले बताए। भूकम्पमा परी जाजरकोटमा एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।

भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन्। जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार ६ सय ८७ जनामध्ये ४० हजार एक सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएको शिक्षा अधिकृत सुनारले बताए।

उनका अनुसार जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुमपश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए।

प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल छ सय सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ। शिक्षा अधिकृत सुनारले तत्काल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने योजना रहेको जानकारी दिए।

कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५३ जनाको निधन भएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ। यस्तै ३७२ जना घाइते भएकामा अधिकांश उपचारपछि फर्किएका छन्। साढे पाँच हजारभन्दा बढी घर पूर्ण क्षति भएको छ। साढे ११ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८० ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =