तिहारमा सधैँ गुञ्जिने यी गीत

सुस्मिता बजगाईं २७ कार्तिक २०८० ९:३५
18
SHARES
तिहारमा सधैँ गुञ्जिने यी गीत

काठमाडौँ– नेपाली दोस्रो महान् चाड तिहार सुरु भइसकेको छ। सडक अनि घरमा सजाइएको झिलीमिली बत्तीले झनै उल्लास थपिएको छ। रेडियो टेलिभिजनमा तिहार विशेष गीत घन्किन थालिसकेका छन्। बर्सेनि तिहार लक्षित थुप्रै गीत सार्वजनिक हुन्छन् तर ती सबै गीतले अर्को वर्षदेखि खासै चर्चा पाउँदैन्।

केही यस्ता गीत छन् जुन कालजयी बनेर पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएका छन्। यिनै गीत सुनेर हुर्केका नेपालीलाई बालापनको तिहारमा पुर्‍याइदिन्छ। नयाँ पुस्तालाई विगतको गीतसंगीतबारे जानकारी दिन्छ। भड्किलो बन्दै गएको समाजमा यस्ता गीतले नेपाली संस्कृतिको मौलिकता के हो भन्नेबारे परिचय दिन्छन्।

दियो बाली साँझको‍‍

फिल्म ‘चिनो’को गीत हो ‘दियो बाली साँझको’। तुलसी घिमिरे निर्देशित फिल्म २०४८ सालमा प्रदर्शन भएको थियो। लक्ष्मीपूजा लक्षित गीत बर्सेनि तिहारमा बज्छ। गीत भारतीय गायिका आशा भोस्लेले गाएकी हुन्। गीतमा कुसुम गजमेरको शब्द र रञ्जित गजमेरले संगीत भरेका छन्।

भैलेनी आए आँगन

फिल्म ‘स्वर्ग’ को गीत हो ‘भैलेनी आए आँगन’। गीत निकै चर्चित छ। तिहारमा भैलो खेल्नेले यसै गीतबाट सुरु गर्छन्। यादव खरेलको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ। शम्भु प्रधान निर्देशित फिल्म २०५० सालमा प्रदर्शन भएको थियो। हरेक वर्ष गुञ्जिने यो गीत पनि कालजयी बनेको छ।

आहै झिलीमिली झिलीमिली (देउसी लोक नृत्य)

पूर्वेली लोकभाका शैलीको तिहार गीत हो ‘आहै झिलीमिली झिलीमिली’। अरुण उपत्यकाको लोकभाका शैलीको गीत नवीनकुमार खड्का र लक्ष्मी पराजुलीले संकलन गरेका छन्। गीत नवीनकुमार खड्का, पुस्तक खड्का, बलराम समाल, अच्युत दवाडी, एमी खड्का र भीम बस्नेतले गाएका छन्।

तिहार गीत

नारायण रायमाझीको ‘तिहार गीत’ पनि चर्चित छ। बर्सेनि तिहारमा यो गती नेपालको पश्चिमीतिर निकै बज्छ। सोरठी शैलीमा रहेको देउसी भैलो गीतमा नारायण रायमाझी र उनका साथीहरुले गाएका छन्।

भाइटीकामा भेट्न आउँला

राजु लामाको स्वर रहेको ‘भाइटीकामा भेट्न आउँला’ प्रत्येक वर्ष तिहार सुरु भएदेखि नै बज्न थाल्छ। गीतमा शुक गुरुङको शब्द र संगीत छ। गीतमा विवाह गरेर घर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा प्रस्तुत गरिएको छ।

हाँसेर बोल बहिनी

‘माइती’ फिल्मको ‘हाँसेर बोल बहिनी’ बोलको तिहार गीत पनि बर्सेनि घन्किन्छ। गीतमा आनन्द कार्की, उदितनारायण झा, दीपा झा, दयाराम दाहाल र नगेन्द्र श्रेष्ठले स्वर दिएका छन्। लक्ष्मणले संगीत भरेका छन्। रिसाएकी बहिनी फकाउँदै गरेको गीतको भिडियोमा नायिका निरुता सिंह, स्व. श्रीकृष्ण श्रेष्ठको अभियन छ।

अधरमा आज उनकै छ गीत

‘अन्याय’ फिल्मको ‘अधरमा आज उनकै छ गीत’ बोलको गीत तिहारसँग सम्बन्धित छ। तुलसी घिमिरे निर्देशित फिल्मको गीत पनि प्रत्येक तिहारमा बज्छ। रत्न शमशेर थापाको शब्द रहेको गीतमा मनिला सोताङले स्वर छ। गीतमा रञ्जित गजमेरले संगीत भरेका छन्।

निधारमा लर्काएर सप्तरंगी टीको

‘निधारमा लर्काएर सप्तरंगी टीको’ बोलको तिहार गीत निकै चर्चित छ। यो गीत फिल्म ‘विजय पराजय’को हो। गीतमा हेमलताले स्वर दिएकी छन्। दिनेश अधिकारीको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतमा दाजुभाइ र दिदीबहिनीको प्रेम दर्शाइएको छ।

देउसी रे

बमबहादुर कार्कीको शब्द र संगीत रहेको ‘देउसी रे’ अर्को चर्चित गीत हो। गीतमा कार्कीसहित शिव आले, जित कुमारी, लक्ष्मी र तीर्थले स्वर दिएका छन्।

प्रकाशित: २७ कार्तिक २०८० ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =