उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सेक्रेटरी छुङछेङबीच भेटवार्ता

हिमाल प्रेस २५ कार्तिक २०८० १९:१९
6
SHARES
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सेक्रेटरी छुङछेङबीच भेटवार्ता

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधि मण्डलबीच आज गृह मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।

भेटमा सेक्रेटरी छुङछेङले नेपालका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा उनी र चिनियाँ राष्ट्रपति सी जीन पीङबीच भएको सहमति(सम्झौताको कार्यान्वयन पक्षनै आफ्नो भ्रमणको उद्देश्य भएको बताए।

प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमुलक रहेको उनले बताए।  नेपालको सार्वभौम स्वतन्त्र नीतिको चीनले सधैं प्रशंसा गरेको तथा नेपालले एक चीन नीति र तिब्बत पक्षमा देखाएको दृढता अविचलित रहेकोमा उनले खुसी गरे।

चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भूकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने छुङछेङले बताए। कोभिडको कारणले केही समय सीमामा समस्या भएपनि हाल पुराना सबै नाका खुलिसकेको, नेपाल र चीनबीचको व्यापार तथा पारवहन सुचारु भैसकेको तथा केही नयाँ नाकाहरू पनि खुलिसकेकोमा उनले खुशी व्यक्त गरे।

प्रशासन सुधारका लागि नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २० मिलियन चिनियाँ रुपैयाँ (आरएमबी) सहयोग गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी समेत उनले दिए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनैतहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको बताए। नेपालको विपद तथा विकासमा चीनको सहयोग अमुल्य रहेको समेत उनले बताए। भूकम्पमा कोभिडमा र हाल पनि चीनले गरेको सहयोग अविस्मरणीय रहेकोले यसप्रति उनले धन्यवाद व्यक्त गरे।

चिनियाँ राष्ट्रपति सि चिन फिङको नेतृत्वमा अगाडि बढेको बीआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने चीनको नीतिको उनले सराहना गरे।

यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापक रुपमा अगाडि बढाउने गृहकार्य पनि सफल भैछाड्ने विश्वास उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरे। नेपालको सीमा मामिला संघीय सरकारले हेर्ने र चीनको सीमा मामिला त्यहाँको केन्द्रीय, प्रान्तीय र इकाई तीनै सरकारले हेर्ने कारणले कहिलेकाही द्वीपक्षीय सरोकारका समस्या आउदा गरिनुपर्ने समन्वयलाई व्यहारिक बनाईनुपर्ने छलफल समेत भेटवार्तामा भएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनले गरिबी निवारण र भौतिक विकासमा गरेको असाधारण प्रगतिबाट नेपालले पनि सिक्न चाहेको पनि बताए।

बीआरआई सम्मेलनका क्रममा चीनमा आकस्मिक बिरामी पर्दा चिनियाँ सरकार र चिकित्सक एवम् स्वास्थ्यकर्मीले उपचारमा देखाएको तदारुकताबाट आफू धेरै नै प्रभावित भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

प्रकाशित: २५ कार्तिक २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =