 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भूकम्पपीडित जोगाउन शीर्ष नेताहरूसँग अनुरोध गरेका छन्। मंगलबार व्यवस्था जोगाउन भन्दै सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकका सन्दर्भमा लामिछानेले भूकम्पपीडित जोगाएमा व्यवस्था आफैँ जोगिने बताएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा सबै पार्टी मिलेर भूकम्पपीडितका घरमा पाल र ब्ल्यांकेट पुर्याउन र चिसोमा जनता जोगाउन उल्लेख गरेका छन्।
‘आदरणीय “सर्वदलीय हेड सर” हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्पपीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफैँ जोगिन्छ, परिवर्तन आफैँ जोगिन्छ। सुत्केरीहरूको जीउ सुन्निएको छ, अस्थायी शौचालय छैनन्, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ,’ उनले भनेका छन्।
त्यस्तै जुटाइदिएको पाल, चामल, दाल समयमै बाँड्न नसक्ने भन्दै उनले व्यवस्था र परिवर्तनको चिन्ता गर्नेप्रति प्रश्न गरेका छन्। ‘जुटाइदिएको पाल, चामल, दाल समयमै बाँड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तनको? तपाईंहरूले सक्नुहुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ। त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन,भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस्।’
परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आँखा नराम्ररी बिझाएको उनको भनाइ छ। भूकम्प प्रभावित क्षेत्रमा उद्दार कार्य उत्कृष्ट रहे पनि राहत वितरण सही नभएको उनले उल्लेख गरेका छन्।
सर्वदलीय बैठक : व्यवस्थामाथि आक्रमण गर्नेविरुद्ध मिलेर प्रतिवाद गर्ने

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 