कोशीमा अस्थिरता

कार्कीलाई पछि हट्न राष्ट्रपति पौडेल र सभापति देउवाको दबाब

विवेक विवश रेग्मी २६ असोज २०८० १२:५२
508
SHARES
कार्कीलाई पछि हट्न राष्ट्रपति पौडेल र सभापति देउवाको दबाब

इटहरी- कोशी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीलाई पछि हट्न राष्ट्रपति रामचन्द्र पौडेलले नै दबाब दिएका छन्। संविधानतः राष्ट्रपतिलाई कुनै दलविशेषको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन। यद्यपि राष्ट्रपति पौडेलले कार्कीको दाबी जसरी पनि  फिर्ता गराउन कांग्रेस नेता डा. शेखर कोइरालालाई दबाब दिएको कांग्रेसका एक नेताले बताए। कार्की डा. कोइराला निकट मानिन्छन्।

यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कार्कीलाई दाबी फिर्ता दिलाउन कोइरालामाथि दबाब दिएका छन्। ‘कार्कीलाई पछाडि हटाउन शीतल निवास र सभापति देउवाबाट पटकपटक दबाब आएको छ’, डा. कोइराला निकट कांग्रेसका एक नेताले भने।

कोशीमा कांग्रेसको संस्थापन समूहले नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसभित्रकै शेखर समूह नेकपा एमालेको समर्थनमा कांग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारीमा जुटेको हो।

दुवै जनाले बिहीबार मुख्यमन्त्रीमा दाबीसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका छन्। आङ्बोले सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

कांग्रेसकै शेखर समूहबाट केदारबहादुर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनलाई नेकपा एमालेको साथ छ। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ‘५’ अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयावधि शुक्रबार सकिँदैछ। उनले समय सकिनुअघि सनाखत गराएर जसको पक्षमा बहुमत पुग्छ उसलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापाले दुई पटकसम्म विश्वासको मत लिन नसकेपछि कांग्रेस संकटमा परेको कोइराला पक्षका एक नेता बताउँछन्। सोही कारण एमालेको समर्थनमा कांग्रेसले नेतृत्व लिनुपर्ने कोइरालाको अडान रहेको ती नेताले बताए।

कोइरालाको भनाइ उधृत गर्दै ती नेताले भने, ‘राष्ट्रपति पनि ब्याक हुनुपर्छ भन्नुहुन्छ। देउवाको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्कीले पनि टेलिफोन गरेर ब्याक हुनुपर्‍यो भनिरहेका छन्।’

ठूलो पार्टी भएर पनि कांग्रेस केन्द्रमा दोस्रो वरीयतामा रहने अनि प्रदेशमा पनि माओवादीलाई नेतृत्व सुम्पने हो भने कांग्रेसलाई माओवादीमा लगेर मिलाउनुपर्ने कोइरालाको भनाइ छ। उनले भनेका छन्, ‘कोशीमा कांग्रेसलाई ब्याक गराएर किन माओवादीलाई नेतृत्वमा लैजान लागिएको होला? यो विषय मैले बुझ्न सकेको छैन।’

यस्तो प्रवृत्तिले कांग्रेसको अस्तित्व संकटमा पर्ने कोइरालाले बताएका छन्। कांग्रेसलाई बचाउन पनि अहिले कोशी प्रदेशमा नेतृत्व लिनुपर्ने पक्षमा कोइराला छन्। ‘केन्द्रको विषयमा उहाँहरू (पार्टी पदाधिकारीहरू) को सरोकार विषय होला। प्रदेशमा पनि कांग्रेसलाई कमजोर बनाएर नेतृत्व माओवादीलाई दिने भएपछि म अघि बढेको हुँ,’ कोइरालाको भनाइ उधृत गर्दै ती नेताले भने, ‘म पार्टी सभापति लडेको व्यक्ति हुँ। राम्रै मत पनि ल्याएको छु। तर सभापति र महामन्त्रीहरू पार्टी सक्ने खेलमा लागेपछि चुप लागेर बस्ने अवस्था रहेन। म ब्याक हुने अवस्थामा नै छैन्।’

कोइरालाले सत्ता प्राप्तिलाई मात्र आफूले राजनीति नगरेको बताएका छन्। उनले भनेका छन्, ‘हामीले कांग्रेस बचाउने हो। कांग्रेसको भविष्य सुनिश्चित गर्ने हो। सत्ता आवश्यक हुन्छ तर आफू लत्रिएर अरूको पुच्छर समाएर सत्तामा रहनुको कुनै तुक हुँदैन। बरु बलियो प्रतिपक्ष सही हुन्छ।’

कानुनविद्हरूका अनुसार धारा १६८ को उपधारा ५ बमोजिम सरकारमा दाबी गर्दा पार्टीको ह्विप लाग्दैन। पार्टीले पनि यही प्रकरणमा अनुशासनको कारबाही नमिल्ने भएपछि कोइरालाले कार्कीलाई अघि सारेका हुन्।

यस प्रकरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई साथ दिएका छन्। महामन्त्री थापा डा. कोइराला निकट मानिन्छन्।

पार्टीका महत्त्वपूर्ण निर्णयमा आफूलाई सामेल नगराएको कोइरालाको गुनासो रहँदै आएको छ। कांग्रेसले गर्ने निर्णय सधैँजसो प्रचण्ड वा माधवकुमार नेपालबाट थाहा पाउनुपर्ने अवस्था रहेको भन्दै डा. कोइराला नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन्। ‘कोशीमा कांग्रेस बलियो छ भन्ने सन्देश हो। यसले कोशीमा कांग्रेसको साख बढेर आउँछ’, कोइरालालाई उधृत गर्दै कांग्रेसका ती नेताले भने।

के छ संविधानकाे धारा १६८ मा?

१६८. प्रदेश मन्त्रिपरिषदको गठनः

(१) प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ।

(२) उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।

(३) प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ।

(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।

(५) उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।

(६) उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमाले हो। यहाँ एमालेका उपसभामुखसहित ४० सांसद् छन्। त्यस्तै कांग्रेसका २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका ६ र जसपाका १ सांसद छन्।

देउवा, गगन र विश्वलाई आक्रोशित शेखरको प्रश्न : पार्टी माओवादीलाई बुझाउन लागेको हो?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =