काभ्रेमा ८४९ सहकारी ‘अज्ञात’ अवस्थामा

हिमाल प्रेस २४ असोज २०८० ९:५९
8
SHARES
काभ्रेमा ८४९ सहकारी ‘अज्ञात’ अवस्थामा

काभ्रे- काभ्रेपलाञ्चोकमा ८४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ।

दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा ६४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी संघले जनाएको छ।

बनेपा नगरपालिकामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा संघका अध्यक्ष दिलीप शर्मा जंगमले काभ्रेमा क्रियाशील सहकारीमा ६ लाख ७९ हजार ८१८ सेयर सदस्य रहेको तथ्यांक फेला परेको बताए।

उक्त प्रतिवेदन मंगलबार नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरिएको छ। यसबाट जिल्लाको जनसंख्या तीन लाख ६४ हजार ३९ भन्दा करिब तीन लाख १५ हजारले सेयर सदस्य बढी देखिएको अध्यक्ष जंगमले बताए । उनका अनुसार क्रियाशील सहकारीमा पाँच हजार ७८२ जना सञ्चालक छन् भने दुई हजार ६५५ कर्मचारी कार्यरत रहेका छन्।

यस्तै, सञ्चालनमा आएका सहकारीमा पाँच अर्ब पाँच करोड रुपैयाँको सेयरपुँजी रहेको छ भने ३६ अर्ब रुपैयाँको बचत कारोबार रहेको अनुगमनले देखाएको संघले जनायो।

उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक २४ करोड ९१ लाख रुपैयाँ राजस्व बुझाइएको अध्ययनले देखाएको छ। पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसंगति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जंगमले बताए।

प्रतिवेदनमा सबैभन्दा बढी जिल्लाको प्रमुख सहर बनेपामा रहेका २२० सहकारीमध्ये १२३ क्रियाशील रहेको उल्लेख गरिएको छ। ती सहकारीमा तीन लाख १८ हजार ७३८ सेयर सदस्य छन् । बनेपाको जनसंख्या ६७ हजारमात्रै देखिन्छ।

कुल सहकारी तथा सेयर सदस्यमध्ये बनेपामा मात्रै आधा रहेको पाइएको जनाइएको छ। बनेपामा रु दुई अर्ब सेयरपुँजी र १९ अर्ब बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ।

दैनिकजसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका सेयर सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरले जिल्ला सहकारी संघमार्फत नगरभित्रका सहकारीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएकामध्ये ७७ वटा सहकारी संस्था बितेको चार महिनाको अवधिमा बेपत्ता भएको पाइएको संघले जनायो।

प्रतिवेदनमा केही सहकारीले कारोबार सुधार गर्न नसकेको बताएका छन् भने केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, विनियममा केरमेट, विनियमबिना सञ्चालन भएकोजस्ता समस्या देखिएको उल्लेख गरिएको छ।

यस्तै, कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि सहकारीमा देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरूको समूहले प्रतिवेदनमार्फत सुझाव दिएको हो। हाल बनेपाका केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएका छन्।

डिभिजन सहकारी कार्यालयका अनुसार बनेपामा १४ वटा सहकारी एकीकरण भएका छन् भने १९ वटा सहकारी प्रदेशअन्तर्गतका छन्। ६४ वटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र ६ वटा सहकारीले नियामक निकायमा प्रतिवेदन नबुझाएका जनाइएको छ । बनेपाको तीन सहकारीले नगरको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको संघका अध्यक्ष जंगमले गुनासो गरे। रासस

प्रकाशित: २४ असोज २०८० ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =