इजरायललाई सहयोग गरे अमेरिकी सेनामाथि हमला गर्ने धम्की

हिमाल प्रेस २४ असोज २०८० ६:३६
14
SHARES
इजरायललाई सहयोग गरे अमेरिकी सेनामाथि हमला गर्ने धम्की गाजा सहरको बन्दरगाहमा इजरायली आक्रमणपछि निस्किएको धुवाँको मुस्लो। फाइल तस्बिर।

काठमाडौँ- इजरायल–हमास लडाइँमा अमेरिकाले इजरायललाई साथ दिए खाडीमा रहेका अमेरिकी बेसहरुमाथि हमला गर्ने धम्की सशस्त्र समूहहरुले दिएका छन्। यसरी धम्की दिने समूहहरु इराक र यमनका हुन्। जो इराननिकट मानिन्छन्।

गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेको थियो। प्रतिक्रयास्वरुप इजरायलले हाल गाजामाथि बमबारी गरिरहेको छ। पछिल्लो चरणको यो द्वन्द्वमा अमेरिकाले इजरायललाई साथ दिने बताइसकेको छ। इजरायललाई सैन्य सामग्री पठाउने घोषणा गरेपछि अमेरिकालाई ती समूहहरुले चेतावनी दिएका हुन्।

इराकको काताइब हेजबुल्लाहले खाडी क्षेत्रमा रहेका अमेरिकी बेसहरुमाथि क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरिने धम्की दिएको छ। इरानसँग नजिक रहेको मानिने यो समूहले अमेरिकालक्षित आक्रमण गर्न विशेष लडाकु दस्ता पनि खटाउने बताएको छ।

काताइबले विगतमा इराकमा रहेको आफ्नो बेसमाथि हमला गरेको आरोप अमेरिकाले आरोप लगाउँदै आएको छ। तर काताइबले अमेरिकी आरोपको खण्डन गर्ने गरेको छ।

इराकमा हाल करिब २५ सय अमेरिकी सैनिक छन्। इराकको छिमेकी सिरियामा भने नौ सय सैनिक परिचालित छन्। इस्लामिक स्टेट र अन्य लडाकु समूहहरुलाई नियन्त्रणमा लिन भन्दै ती दुई देशमा अमेरिकी बेस राखिएका हुन्।

काताइब मात्र होइन अर्को इराकी संगठन बदरले पनि अमेरिकालाई धम्की दिएको छ। राजनीतिक तथा सशस्त्र संगठन मानिने बदरका नेता हादी अल अमिरीले अमेरिकाले इजरायल–हमास युद्धमा हस्तक्षेप गरे आफूहरु चुप नबस्ने धम्की दिएका हुन्। ‘अमेरिकाले हस्तक्षेप गरे हामी पनि कदम चाल्न बाध्य हुनेछौँ,’ अमिरीले भनेका छन्।

बदरका लडाकु इराकी सरकार अन्तर्गतको अर्धसैनिक बल (पीएमएफ)को हिस्सा हो। पीएमएफमा ६० भन्दा बढी लडाकु समूह समाहित छन्। उनीहरु इस्लामिक स्टेट (आईएस) विरुद्धको लडाइँमा एकबद्ध भएका थिए। लडाइँ सकिएपछि उनीहरु सरकारको मातहतमा पुगेका हुन्। पीएमएफमा रहेका कयौँ समूह इरानसँग नजिक छन्। त्यसमा बदर पनि पर्छ।

बदर पीएमएफभित्रको सबैभन्दा ठूलो समूह हो। फेरि बदर मात्र होइन, पूरै पीएमएफ नै प्यालेस्टाइनको पक्षमा छ। उता इराकी सरकारले पनि हालको लडाइँ इजरायलका कारण सुरु भएको बताएको छ।

पछिल्ला केही वर्षमा इराकमा रहेको अमेरिकी बेसमा पटक पटक हमला भएको छ। बग्दादमा रहेको अमेरिकी दूतावासमाथि पनि रकेट प्रहार भएको थियो। यद्यपि यस्ता हमला पछिल्ला दिनमा भने कम भएको छ।

यमनको शक्तिशाली सशस्त्र संगठन हुथीले पनि अमेरिकी सैनिकमाथि हमला गर्ने चेतावनी दिएको छ। गाजामा अमेरिकी हस्तक्षेप भए हुथीले ड्रोन, मिसाइल र अन्य सैन्य सामग्रीको प्रयोग गरी आक्रमण गर्ने धम्की हुथीले दिएको हो।

हुथीले अमेरिकाविरुद्धको अभियानमा खाडी क्षेत्रका अन्य संगठनसँग मिलेर अघि बढ्न आफू तयार रहेको पनि जनाएको छ। हुथी हेज्बुल्लाह जस्तै सिया संगठन हो। सिया बहुमत इरानले खाडीका विभिन्न सिया संगठनलाई सैन्य र आर्थिक सहयोग गर्ने गरेको छ।

सन् २०१५ मा हुथी र यमन सरकारबीच लडाइँ सुरु भएको थियो। यमनको सरकार साउदी अरब निकट हो। हुथी र सरकारी फौजबीचको लडाइँले हजारौँ यमनीको ज्यान गइसकेको छ। हुथीले गत वर्ष साउदीको तेल प्रशोधन प्लान्टमा आक्रमण गरेको थियो। पछिल्लो समय भने यमनको स्थिति केही सुध्रिएको छ। साउदी हुथीसँगको शत्रुता अन्त्य गर्न लागि परेको छ।

रोयटर्सको सहयोगमा

प्रकाशित: २४ असोज २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =