इजरायलमा ११ नेपाली सम्पर्कविहीन, मन्त्री साउद भन्छन् : हताहतीको शंका छ

हिमाल प्रेस २१ असोज २०८० १५:१३
4
SHARES
इजरायलमा ११ नेपाली सम्पर्कविहीन, मन्त्री साउद भन्छन् : हताहतीको शंका छ द्वन्द्वग्रस्त आफ्नो भूमि नियन्त्रणमा लिने क्रममा इजरायली सेना। तस्बिर : एपी/रासस

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको द्वन्द्वग्रस्त दक्षिणी क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी केही नेपाली हताहत भएको आशंका व्यक्त गरेका छन्। उनले आइतबार संसद्लाई जानकारी दिने क्रममा अध्ययनमा गएका केही नेपाली हताहत भएको आशंका व्यक्त गरेका हुन्। सम्पर्कमा नआएका कारण मन्त्री साउदले यस्तो अभिव्यक्ति दिएको बताइएको छ। यद्यपि इजरायलमा रहेका नेपालीहरूले भने हराएका भनिएकाहरू बंकरमा रहेर सम्पर्कमा आउन नसकेको  आशंका गर्छन्।

अर्न एन्ड लर्न प्रोग्रामका लागि गत भदौमा सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थी गएका थिए। तीमध्ये १७ जना प्रत्यक्ष आक्रमणमा परेको र अन्य ३२ जना बंकरमा पस्न सफल भएको बताइएको छ।

यसरी गएकामा सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ब्याचलर आठौँ सेमेस्टरका विद्यार्थी हुन्। उनीहरू सोतेन नेगेभ कृषि तलिम केन्द्रको अलगअलग फार्ममा कार्यरत थिए। इजरायलमा भिसा नरहेका बाहेक दुई सय ५० नेपाली कषि क्षेत्रमा छन् भने चार हजार तीन सयभन्दा बढी केयर गिभर छन्।

नेपालस्थित इजरायली र इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा नौ जना नेपाली घाइते भएका र ११ जना विद्यार्थी सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। घाइते विद्यार्थीमध्ये चार जनालाई अस्पताल लगिएको त्यहाँस्थित एक नेपालीले जानकारी दिए। एक जना भने बंकरमै छन्।

इजरायलका हरेक घरमा बंकर बनाइएको हुन्छ। युद्ध वा बमबारी सुरु भएलगत्तै सबै बंकरमा गएर बस्ने चलन छ। हराएका भनिएका व्यक्ति मोबाइलको चार्ज सकिएर पनि सम्पर्कमा नआएको आशंका इजरायलस्थित नेपाली दूतावासका अधिकारीले गरेका छन्।

१७ जना नेपाली किवुज अलमिनको कृषि फर्ममा फसेका छन्। दुई जनासँग सम्पर्क भए पनि अन्यसँग हुन नसकेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ। शनिबार बिहान आक्रमणपछि भागदौड हुँदा उनीहरू दुई समूहमा बाँडिएका थिए।

‘एउटा बंकरमा रहेका दुईजनासँग नियमित सम्पर्कमा छौँ। दुईमध्ये एकको घुँडामा गोली लागेको भनिएको छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हिमाल प्रेससँग भनिन्, ‘अर्को बंकरमा रहेकामध्ये चार जनालाई अस्पताल लगिएको छ। अस्पतालमा लगिएका चारमध्ये एकजना आईसीयूमा छन्।’

उनका अनुसार एक जना डिस्चार्ज हुँदैछन्। दूतावासले ११ जना नेपालीसँग भने सम्पर्क स्थापित गर्न सकेको छैन। उनीहरूको खोजी भइरहेको छ। इजरायली सरकारले पनि सबैतिर खोजी कार्य तीव्र पारेको छ। इजरायलमा रहेका विदेशी नागरिकलाई उपचार, खाना र राहतमा समस्या हुँदैन।

समस्यामा परेकालाई तुरुन्त अस्पताल लगिएको छ। इजरायली सरकारलाई नेपालका तर्फबाट कहाँकहाँ नेपाली रहेको जानकारी गराइसकिएको छ।

किवुज अलुमिन क्षेत्रमा इजरायली सेना पुग्दैछ। त्यो गाँजा क्षेत्रबाट नजिक रहेको स्थान यतिबेला हमास लडाकुको नियन्त्रणमा छ। रकेट आक्रमण रोकिएको छैन। इजरायलले पनि जबाफी आक्रमण गरिरहेको छ। हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली भूमिका प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

इजरायलमा यस्ता घटना फाट्टफुट्ट भइरहे पनि यसरी नेपाली नै आक्रमणमा परेको पहिलोपटक हो। यसअघि यस्ता घटना हुँदा इजरायल प्रतिकार गर्न सफल हुन्थ्यो। यसपटक भने गाजापट्टिबाट प्रवेश गरेर आक्रमण भएको अधिक घाइते भएका हुन सक्छन्।

प्रकाशित: २१ असोज २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =