कलकलले थाल्यो आफ्नै आउटलेटबाट सामान बिक्री

हिमाल प्रेस २० असोज २०८० २०:४०
50
SHARES
कलकलले थाल्यो आफ्नै आउटलेटबाट सामान बिक्री

भक्तपुर- कलकल ग्रुप प्रालिले कटुन्जेथिस्त आफ्नै संस्थाको हातामा शनिबारदेखि आउटलेट सञ्चालनमा ल्याएको छ। यसै आउटलेटबाट अब संस्थाका उत्पादन बेचबिखन गरिने कम्पनीले जनाएको छ।

कलकल ग्रुप प्रालिले शुद्ध तोरीको तेल, फापरको पिठो, मुसुरोको दाल, क्वाँटी, च्याँख्ला, जुम्लाको सिमीको दाल, भुटेको मकै, लोकल आलुचिप्स, खसर, जिम्बु, चना, टिमुरजस्ता रैथाने खाद्य वस्तु उत्पादन र बिक्री गर्दै आएको छ।

पाँच वर्षदेखि सञ्चालनमा रहेको उद्योगले अहिलेसम्म कटुन्जेस्थित उद्योगभित्रैबाट ग्राहकलाई सेवा दिँदै आएको थियो। शनिबार आउटलेट उद्घाटन गर्दै कलकल ग्रुपका अध्यक्ष रविराज कार्कीले नेपाली सेना र बिगमार्टका ७० वटा शाखाबाट कलकलका सामान बेचबिखन भइरहेको जानकारी दिए। साथै भाटभटेनीमा पनि आफ्ना उत्पादन राख्ने पहल भइरहेको उनले बताए।

कम्पनीले आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिने भएको छ। यसैगरी उद्योगभित्र तेल उत्पादन गर्ने अर्को मेसिन तत्काल थप्न लागेको छ।
कम्पनीले सेयर सदस्य थप्ने क्रम पनि जारी राखेको छ। साथै, सेयर सदस्यहरूको सुविधाका लागि आवश्यक खाद्य सामग्री उनीहरुका घरघरमै निःशुल्क रूपमा पुर्‍याइदिँदै आएको अध्यक्ष कार्कीले जानकारी दिए।

संस्थाकी संस्थापक अध्यक्ष सरिता शर्माले उद्योग हातामा आउटलेट सञ्चालनमा आएसँगै ग्राहकलाई सेवा दिन निकै सजिलो भएको बताइन्। शर्माले उद्योगभित्रैबाट उत्पादन र बेचबिखन दुवै कार्य गर्दा कर्मचारीलाई समस्या हुँदै आए पनि आउटलेट सञ्चालनमा आएसँगै संस्थाका कर्मचारी र ग्राहक सबैलाई सहज भएको बताइन्।

स्वदेशमै केही गर्न सकिन्छ कि भनेर आफूहरूले पाँच वर्षदेखि कलकलमा भगीरथ प्रयत्न गर्दै आएको बताउँदै संस्थापक अध्यक्ष शर्माले नैतिकताका आधारमा मात्र आफूहरुले उद्योगलाई व्यावसायिक रूप दिँदै आएको स्पष्ट पारिन्।

कलकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत समिरनारायण श्रेष्ठले १० प्रतिशत छुटमा १२ किसिमका खाद्य सामग्री समेटेर आकर्षक झोलामा उद्योगले ग्राहकलाई सामान उपलब्ध गराउन थालेको जानकारी दिए। कम्पनीले १० प्रतिशत छुटमा आकर्षक झोलामा सामान राखेर दिँदा ग्राहकलाई आलसको तेल निःशुल्क दिन थालेको छ।

प्रकाशित: २० असोज २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =