शान्त बन्दै नेपालगन्ज, धर्मगुरुहरू टोलटोलमा पुग्ने तयारी

विनोद परियार १८ असोज २०८० १४:१३
12
SHARES
शान्त बन्दै नेपालगन्ज, धर्मगुरुहरू टोलटोलमा पुग्ने तयारी नेपालगन्ज बजार क्षेत्र। फाइल तस्बिर : हिमाल प्रेस

लुम्बिनी- सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा विवादास्पद अभिव्यक्तिका कारण भड्किएको नेपालगन्ज बिहीबार शान्त छ। प्रशासन, राजनीतिक दल, स्थानीय सरकार सबैले सम्भावित साम्प्रदायिक तनाव रोक्ने गरी गतिविधि अघि बढाएपछि अवस्था सामान्य बन्न थालेको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेले १२ घण्टाका लागि कर्फ्यु आदेश हटाएको छ। १६ गते दिउँसो १ः०० बजेदेखि नेपालगन्जमा लागेको कर्फ्यु बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म १२ घण्टाका लागि हटाइएको हो।

जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्रभित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला तोकि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएकोमा बिहान ८ बजेबाट राति ८ बजे सम्मका लागि हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए।

बिहीबार (आज) राति ८ बजेबाट शुक्रबार (भोलि) बिहान ६ बजे सम्म भने कर्फ्यु आदेश कायम रहने पनि जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा उल्लेख छ। ‘अहिले बाँकेको अवस्था सामान्य छ। कुनै अप्रिय घटना भएको छैन’, आचार्यले भने, ‘नागरिकदेखि सबै क्षेत्र संवेदनशील भएको देखिन्छ।’

सामाजिक सञ्जालमा गरिएको टिप्पणीका आधारमा साम्प्रदायिक द्वन्द्वतर्फ उन्मुख भएपछि प्रशासनले तुरुन्तै कर्फ्यु जारी गरेको थियो। बुधबारबाटै स्थिति केही सहज हुन थालेपछि बिहीबार प्रशासनले दिनभरका लागि कर्फ्यु हटाएको हो। यद्यपि कर्फ्यु खुलेको अवस्थामा पनि पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्लाभित्र स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेध आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

जिल्ला प्रशासनले शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न सबैमा आग्रह पनि गरेको छ। सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न नगराउन आह्वान गर्दै प्रशासनले सामाजिक सद्भाव कायम राख्नसमेत अपिल गरेको छ।

यस्तै सद्भाव कायम राख्नका लागि नेपालगन्ज उपमहानगरले पनि आफ्नो संयन्त्रमा निर्देशन जारी गरेको छ। कार्यपालिका सदस्य, वडा अध्यक्षसहितका जनप्रतिनिधि र वडा कार्यालयमार्फत साम्प्रदायिकता फैलाउन नदिन र समाजमा एकता कायम राख्ने गरी स्थानीयलाई बुझाउन निर्देशन जारी गरिएको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले बताए।

‘नेपालगन्ज एकताको सहर हो भन्ने गरी संवेदनशील ठाउँ र टोलमा धर्म गुरुहरूसहित पुग्ने कार्यक्रम तय गरेका छौँ’, राईले भने। उनले कोही कसैको फेसबुक स्टाटसको आधारमा सदभाव बिथोल्न नहुने बताउँदै नगरवासीहरु सचेत हुनुपर्ने बताए। उनले वडाअध्यक्षहरूलाई पनि समन्वय गरेर सद्भाव कायम गर्ने कार्यमा उपमहानगर लागिपर्ने बताए।

नेपालगन्जमा बसेको सर्वपक्षीय बैठक। तस्बिर : हिमाल प्रेस

यस्तै सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भडकाउने, धार्मिक विद्वेष फैलाउने र धार्मिक आस्थामा आँच आउने क्रियाकलापमा संलग्नलाई तत्काल कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ।

बैठकले सामाजिक सद्भाव कायम राख्न र अब उप्रान्त सद्भाव भडकिन नदिने प्रतिबद्धता गर्नुका साथै सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सदभाव र्‍याली गर्ने सहमति गरेको छ। स्थिति सहज हुनासाथ सद्भाव र्‍याली निकालिने प्रशासनले जनाएको छ।

सर्वपक्षीय बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाय, बाँके क्षेत्र नम्बर २ का संघीय सासद डा. धवलशमशेर राणा, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपमेयर कमरुद्धिन राई, विभिन्न दलका प्रतिनिधि, धार्मिक अगुवालगायतको सहभागिता थियो।

बाँके नरैनापुरका एक युवकले फेसबुकमा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर स्टाटस लेखेकै कारण मुस्लिम समुदायले आपत्ती जनाएका थिए। आफ्नो धर्मका प्रतीक पैगम्बर मोहम्मदप्रति गरिएको टिप्पणीलाई लिएर मुस्लिम युवाले १४ असोजमा प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण अवस्थामा पुगेको हो।

मुस्लिम समुदायको प्रदर्शनपछि हिन्दूवादी धार्मिक संस्था ओमकार परिवारले ठूलो संख्यामा र्‍याली निकाल्यो। हिन्दु र मुस्लिम पक्षको र्यालीमै झडप भएपछि कर्फ्यु लगाउनुपर्ने अवस्था उत्पन्न भएको थियो। घाइते भएका पनि उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १८ असोज २०८० १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =