विपन्न ३२ बिरामीको घुँडा प्रत्यारोपण गर्दा थाई चिकित्सकलाई मिलेको खुसी

विनोद परियार १७ असोज २०८० १८:३०
112
SHARES
विपन्न ३२ बिरामीको घुँडा प्रत्यारोपण गर्दा थाई चिकित्सकलाई मिलेको खुसी सामूहिक तस्बिर खिचाउँदै घुँडा प्रत्यारोपण गरेका बिरामी। तस्बिरहरू : हिमाल प्रेस

लुम्बिनी– कपिलवस्तु तौलिहवाका अब्दुलाह नाउँ दुई वर्षदेखि घुँडाको समस्याले हैरान थिए। दाहिने घुँडामा घाउ भएर थलिएपछि उनी काम गर्न सक्ने अवस्थामा थिएनन्। कमजोर आर्थिक अवस्था भएका उनको परिवार बिचल्लीमा परेको थियो।

बुधबार भने घुँडाको निःशुल्क शल्यक्रिया भएपछि नाउँ ठमठमी हिँड्न सक्ने भएका छन्। थाइल्यान्डको विशेषज्ञ चिकित्सकसहितको टोलीले उनको घुँडा प्रत्यारोपण गरेको हो। उनले भने, ‘घुँडाको उपचारका लागि धेरै भौँतारिए। भारतीय ५ लाख रुपैयाँ खर्च भएछ।संयोगले थाइल्यान्डका चिकित्सक टोलीलाई भेट्टाएँ। अब नयाँ जीवन पाएको छु।’

थाइलयान्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरिराज अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराँती सी वानिच नेतृत्वको चिकित्सक टोलीले ३२ जनाको घुँडाको प्रत्यारोपण गरेको हो।

बुद्धको पहिलो पाइला परियोजनाअन्तर्गत थाइल्यान्डका चिकित्सकले पहिलोपटक लुम्बिनी र आसपासका नेपालीलाई पुनर्जीवन दिएका छन्। सिद्धार्थ सिटी हस्पिटल भैरहवासँग सहकार्य गरी सिरिराज हस्पिटलमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको शल्यक्रिया गरेका हुन्।

घुँडा प्रत्यारोपण गरेपछि अब्दुलाह नाउँ।

घुँडा प्रत्यारोपण गरेका बिरामी र अन्य विभिन्न सरोकारवाला व्यक्तिहरूसँग बुधबार आयोजित कार्यक्रममा सबैले थाइल्यान्डको चिकित्सक टोलीलाई धन्यवाद दिए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले थाई चिकित्सक टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचार गरेर ठूलो योगदान दिएको बताए।

उनले बुुद्धको उपदेश मानवसेवा भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्यान्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताए।

राजकीय थाई विहार लुम्बिनीको समन्वयमा थाइल्यान्डको टोलीले बुद्धजन्मस्थलमा विपन्नलाई घुँडाको सफल प्रत्यारोपण गरेको हो। घुँडाको प्रत्यारोपण गरेका बिरामीलाई भेट्दै बौद्धध्यान गुरु सुधर्मले बुद्ध जन्मस्थलमा आएर घुँडाको प्रत्यारोपण गरी सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे।

बिरामीको अवस्थाबारे जानकारी लिँदै थाई टोली।

गत जुलाई २७ र ३० तारिखका दिन बुद्धजन्मस्थल लुम्बिनीमा घुँडा प्रत्यारोपणका लागि निःशुल्क रूपमा छनोट स्वास्थ्य शिविर गरिएको थियो। शिविरबाट घुँडाको जटिल समस्या देखिएका ३२ जना बिरामीलाई अहिले शल्यक्रिया गरिएको भिक्षु सुगन्धले बताए।

‘भगवान् बुद्धकै कारण थाइल्यान्डका सुधर्मगुरु र सिरिराज हस्पिटलका चिकित्सक प्रोफेसर किराँतीको अगुवाइमा ठूलो स्वास्थ्य शिविर सम्पन्न भयो’, बुद्धको पहिलो पाइला अभियानका धार्मिक गुरुसमेत रहेका भिक्षु सुगन्धले भने, ‘बुद्धकै प्रभावले विपन्न समुदायलाई घुँडाको प्रत्यारोपण गरेर थाइल्यान्डका चिकित्सकको पवित्र काम गर्नुभएको छ।’

उनका अनुसार डा. किराँती नेतृत्वको बुद्धको पहिलो पाइला परियोजनाले थाइल्यान्डका पनि ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

देशबाहिर पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गर्ने गरी घुँडाको प्रत्यारोपण शिविर गरिएको भिक्षु सुगन्धले बताए। उनले भने, ‘पहिलो कार्यक्रम लुम्बिनीमा गर्ने त भनियो, तर आर्थिक स्रोत र प्राविधिक जटिलता थिए।’ डा. किराँती र अन्य चिकित्सक एवम् नर्सहरूले कुनै शुल्क नलिई नेपाल आएर शिविर सञ्चालन गरेका हुन्।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराँती सी वानिच।

लुम्बिनी आएर बिरामीको उपचार गर्न पाउँदा निकै खुसी लागेको सिरिराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराँतीले बताए। ‘हामी निकै टाढाबाट प्राविधिक कठिनाइका बीच घुँडा प्रत्यारोपण गर्न आएका थियौँ। सफल हुन्छ कि हुँदैन भन्ने शंका थियो’, उनले भने, ‘आज सबै जना ठिक भएर हिँड्न सक्नुभएको छ। यसले हामीलाई निकै खुसी बनाएको छ।’

घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जना, १४ जना थोरापिस्ट, नर्स तथा अन्य सहयोगी टिमसहित ४५ जना थाइल्यान्डबाट आएका थिए।

टोलीले उपचारका लागि एक ट्रकभन्दा बढी सामान तथा उपकरण ल्याएको सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा. सुबोधकुमार पाण्डेयले बताए। उनले नेपालमा प्रविधिका कारणले निकै महँगो र खर्चिलो मानिने घुँडाको उपचार थाइल्यान्डको सिरिराज हस्पिटलसँगको सहकार्यमा गर्न पाएकोमा खुसी व्यक्त गरे।

सामूहिक तस्बिर खिचाउँदै घुँडा प्रत्यारोपण गरेका बिरामी।

शल्यक्रिया गरेको दुई घन्टामै बिरामीहरू हिँड्न थालेका थिए। लुम्बिनीस्थित राजकीय थाई विहारले बेलाबेलामा स्वास्थ्य शिविर र अन्य रचनात्मक कार्यक्रम गर्दै आएको छ। बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगको उपचार सेवा स्थानीयहरूले निःशुल्क पाएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए।

प्रकाशित: १७ असोज २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =