मालेका मेयर बने माल्दिभ्सका राष्ट्रपति

हिमाल प्रेस १५ असोज २०८० ९:३६
34
SHARES
मालेका मेयर बने माल्दिभ्सका राष्ट्रपति

काठमाडौँ- माल्दिभ्सले अन्ततः नयाँ राष्ट्रपति पाएको छ। शनिबार भएको दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मोहम्मद मुइज्जु नयाँ राष्ट्रपति चुनिएका हुन्।

दक्षिण एसियाको सबैभन्दा सानो देशको यो निर्वाचनमा भारत र चीनको अत्यधिक चासो थियो। निर्वाचन लडेका दुई उम्मेद्वारको कुन देशप्रति बढी झुकाव रहेकोबारे पनि चर्चा थियो।

राजधानी मालेका मेयर रहेका मुइज्जुलाई चीननिकट नेता मानिन्छ। उनले ५४ प्रतिशत मत पाए। आफ्नो कार्यकालमा भारतसँगको सम्बन्धलाई बढी महत्त्व दिने भनिएका सोलिहको पक्षमा ४६ प्रतिशत खसेको माल्दिभ्सको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतीय निर्वाचनमा कुल दुई लाख ८२ हजार मतदाता रहेको र तीमध्ये ८५ प्रतिशत मतदानमा सहभागी भएको बताइएको छ। जसले एक सय ८७ द्धिपमा रहेका पाँच सय ८६ मतदानस्थलमा पुगेर मतदान गरेका थिए।

निर्वाचनको नतिजा आएपछि सोलिहले सामाजिक सञ्जाल एक्समा मुइज्जुलाई बधाइ दिएका छन्। ‘निर्वाचन लोकतान्त्रिक अभ्यास हो। यसमा सहभागी हुने सबैलाई धन्यवाद,’ मतदातालाई पनि सोलिहले धन्यवाद दिएका छन्।

उता विजयी मुइज्जुले माल्दिभ्सका नागरिकले समृद्धि र सार्वभौमिकतालाई रोजेको प्रतिक्रिया दिएका छन्। ‘माल्दिभ्सका नागरिकले सबैले सुन्नेगरी आफ्नो मत जाहेर गरेका छन्,’ विजय घोषित भएपछि मुइज्जुले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने।

४५ वर्षीय मुइज्जुले सिभिल इन्जिनियरिङमा बेलायतबाट विद्यावारिधि गरेका छन्। घरेलु राजनीतिमा होमिनुअघि उनी माल्दिभ्समै इन्जिनियरका रूपमा कार्यरत थिए। सन् २०२१ मा मालेको मेयर बन्नुअघि उनी आवास तथा पूर्वाधार मन्त्री थिए।

राष्ट्रपतीय निर्वाचनमा मुइज्जुले मालेलाई व्यवस्थित सहर बनाउने नारा अघि सारेका थिए। उसै पनि पर्याप्त जमिन नरहेको मालेमा देशको आधा जनसंख्याको बसोबास छ। यसकारण उनले व्यवस्थित मालेको मुद्दालाई चुनावी एजेण्डा बनाएका हुन्। यसबाहेक उनको प्रचार घट्दो अमेरिकी डलर संचितिमा पनि केन्द्रित थियो।

तर यी कुनै पनि मुद्दाले अर्को महत्त्वपूर्ण एजेण्डालाई ओझेलमा पार्न सकेनन्। त्यो एजेण्डा हो, विदेश मामिला। त्यसमा पनि भारत र चीनसँगको सम्बन्ध। भारतबाट लगभग साढे सात सय किलोमिटर पर रहेको माल्दिभ्स पर्यटकीय गन्तब्य त हुँदै हो, विश्व राजनीतिक शक्तिका लागि चासोको देश पनि हो। जसको जनसंख्या पाँच लाख मात्र छ।

‘माल्दिभ्समा भारत र चीनबीच प्रस्ट प्रतिस्पर्धा छ। राष्ट्रपति जो भए पनि तीनै देशले आफ्नो प्रभाव बढाउन प्रयास गर्ने हुन्,’ माले सहरको मतदानस्थलमा भेटिएका मोहम्मद राहुवानले भने।

राजनीतिशास्त्रका विद्यार्थी राहुवानलाई मनपर्ने उम्मेद्वार दोस्रो चरणको निर्वाचनमा थिएनन्। यद्यपि उनले सोलिहको कार्यकालमा माल्दिभ्समा शान्ति र स्वतन्त्रता महसुस भएको प्रतिक्रिया दिए।

दक्षिण एसियाली देशहरुमा आआफ्नो प्रभाव बढाउन भारत र चीन प्रतिस्पर्धामा छन्। यो नौलो विषय होइन।

माल्दिभ्समा पनि यी दुई शक्ति देशबीच केही वर्षयता प्रतिस्पर्धा चर्को बनेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत माल्दिभसलाई टन्न ऋण दिएपछि चीनको प्रभाव बढेको थियो। तर पछिल्लो समय भारतले पनि आफ्नो गतिविधि बढाएको छ।

श्रीलंकालाई गत वर्ष करोडौँ अमेरिकी डलर ऋण दिएको भारत सन् २०१८ बाट माल्दिभ्समा बलियो बनेको थियो।

राष्ट्रपतिमा निर्वाचित भएपछि सोलिहले भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका थिए। जबकि त्यसअघि तत्कालीन राष्ट्रपति अब्दुल्लाह यामिन चीनतिर ढल्किएका थिए। हाल भ्रष्टाचारको मुद्दामा जेलमा रहेका यामिनकै समर्थनमा मुइज्जुले चुनाव जितेका हुन्। यामिनलाई माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचन लड्न वर्जित गरेपछि मुइज्जुले उम्मेद्वार बनेका थिए।

मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएपछि उनका समर्थकले माल्दिभ्समा भारतको प्रभाव घट्ने आशा व्यक्त गरिरहेका छन्। ‘सोलिहले माल्दिभ्सको सार्वभौमिकता भारतलाई बुझाएको महसुस भएको थियो। अब मुइज्जुले माल्दिभ्स फरक किसिमले हाँक्ने आशा छ,’ ३७ वर्षीय एहम्मद रासमले भने।

निर्वाचनको मिति नजिकिँदै गर्दा माल्दिभ्समा भारतसँगको सम्बन्धबारे बहस तात्तिएको थियो। सत्ताबाहिर रहेको मुइज्जुको पार्टी पिपल्स नेसनल कंग्रेसलगायतका पार्टीका कार्यकर्ताले चुनावी प्रचारप्रसारमा ‘इन्डिया आउट’ को नारा लगाएका थिए। सोलिहले आफ्नो कार्यकालमा भारतीय सेनाको एक समूहलाई माल्दिभ्समा बस्न दिएपछि विपक्षीले ‘इन्डिया आउट’ अभियान सुरु गरेका थिए। माल्दिभ्सको जल सेनाका लागि पूर्वाधार बनाइरहेको भारतले त्यहाँ उद्धारका लागि भन्दै सैन्य टुकडी राखेको बताइन्छ।

पछिल्लो पाँच वर्षमा सोहिलले भारतसँगको सम्बन्धलाई देखिनेगरी बढावा दिएका थिए। भारतबाट लगानी भित्र्याउने नाममा आफूले गलत सम्भौता भने नगरेको उनको भनाइ थियो। निर्वाचन प्रचारप्रसारका बेला समर्थकलाई सम्बोधन गर्दा उनले माल्दिभ्समा भारतीय सेनाको उपस्थिति नरहेको पनि दाबी गरेका थिए।

माल्दिभ्समा सेप्टेम्बर ९ मा पहिलो चरणको निर्वाचन भएको थियो। जसमा आठ उम्मेद्वारले भाग लिएका थिए। त्यसबेला मुइज्जुले ४६ र सोलिहले ३९ प्रतिशत मत पाएका थिए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन भएको हो।

निर्वाचनमा पराजित सोलिहले यही वर्ष नयाँ पार्टी गठन गरेका हुन्। बाल्यकालका साथी तथा पूर्वराष्ट्रपति मोहम्मद नाशिदसँगको मतभेदका कारण सोहिलले माल्दिभियन डेमोक्र्याटिक पार्टी त्यागेका थिए। जबकि यसअघि नाशिदकै सहयोगका कारण सोलिह राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसबेला सोलिहले हाल जेलमा रहेका यामिनलाई पराजित गरेका थिए।

यसपालि नाशिदले आफ्ना उम्मेद्वार नउठाएका होइनन्। तर उनको उम्मेद्वारले पहिलो चरणमा जम्मा सात प्रतिशत मात्र मत पाउन सके। हाल सभामुख रहेका नाशिदको पार्टीले दोस्रो चरणको निर्वाचनमा कुनै पनि उम्मेद्वारलाई समर्थन नगर्ने घोषणा गरेको थियो।

प्रकाशित: १५ असोज २०८० ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =