प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट हुने

हिमाल प्रेस ११ असोज २०८० १५:३१
6
SHARES
प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट हुने

पोखरा- पोखरा रंगशालामा आगामी मंसिरमा प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा ७–१६ मंसिरसम्म हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी गरी ११ टिमले भाग लिने बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सबैका लागि खेलकुद भन्ने मूलनाराका साथ पोखराबाट पहिलो पल्ट केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार यो प्रतियोगिता हरेक वर्ष राष्ट्रिय प्रतियोगिता हुने विभिन्न प्रदेशका मैदानमा खेलाइने छ ।

विजेताले पाँच लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले दुई लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै म्यान अफ दि सिरिजले ३० हजार, बेस्ट बलरले २० हजार र म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

२०६६ साल पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले यसअघि विभिन्न प्रदेशमा खेलुकदका विभिन्न राष्ट्रिय प्रतियोगिता गरिसकेको राखेप बोर्ड सदस्य एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका राजेशकुमार गुरुङले बताए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी क्रिकेट विभाग प्रमुख शक्ति गौचनले प्रतियोगिताले एकेडेमीले विभिन्न खेलविधाका विभाग गठन गरेर बालबालिकादेखि युवा भेट्रान्स समूहसम्मलाई समेटेको बताए । उनले पोखरामा क्रिकेट प्रतियोगिता हुनुले क्रिकेट खेलको विकाससँगै आर्थिक पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण टेवा दिने बताए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष आचार्यले राष्ट्रव्यापी रुपमा व्यावसायिक खेलाडी उत्पादन गरी अनुशासित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्यअनुरुप आफ्ना गतिविधि अगाडि बढाउँदै गएको बताए । पत्रकार सम्मेलनको मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीका सहइन्चार्ज कृष्ण तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

प्रकाशित: ११ असोज २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =