असोज २१ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल

हिमाल प्रेस ९ असोज २०८० १८:०४
असोज २१ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल फाइल तस्बिर।

काठमाडौँ- सरकारले चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि सञ्चालन गर्ने भएको छ।

अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा सामग्री उपलब्ध गराउने उद्देश्य लिइएको उनको भनाइ छ। चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।

उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानसँगको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँले सस्तोमा बिक्री वितरण हुनेछ।

त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ। यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख २० हजार रुपैयाँ बजेट छुट्याएको छ।

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड छुट्याएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो २ रुपैयाँ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिनेछ।

त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २० रुपैयाँ, पनीर प्रति दुई सय ग्राममा २० रुपैयाँ तथा प्रति पाँच सय ग्राममा ५० रुपैयाँ छुट दिनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङका काठमाडौँ उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहनेछन्।

त्यसबाहेक मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ।

त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टक रहनेछन्।

यस्ता पसलहरू आवश्यकतानुसार थप जिल्ला र स्थानहरूमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ। निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरहरूको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिने सरकारको भनाइ छ।

सञ्चालनमा ल्याइएका सहुलियत मुल्य पसलहरू प्रभावकारी भएको नभएको विषयमा अनुगमन समिति पनि बनाइएको छ। चाडबाडको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले बताएको छ। सहुलियत मुल्य पसल मंसिर ३ गतेसम्म चल्ने छन्। रासस

प्रकाशित: ९ असोज २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =