सेलिब्रेटी सिँगार्ने ट्रान्सजेन्डर

संगीता श्रेष्ठ ६ असोज २०८० १५:०३
10
SHARES
सेलिब्रेटी सिँगार्ने ट्रान्सजेन्डर सोफी सुनुवार, उमिशा पाण्डे र नीलम पौडेल।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरैले अपनाउने पेसा बनेको छ, मेकअप आर्टिस्ट। आफू पनि सजिने र अरूलाई पनि चिटिक्क पारिदिने काममा धेरै पारलैंगिक (ट्रान्सजेन्डर) महिला रमाउने गरेका छन्। यस पेसाले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाएको छ। उनीहरूमा आत्मविश्वास जगाएको छ। अनि इज्जत दिलाएको छ।

नेपालकी पहिलो ट्रान्सजेन्डर मेकअप आर्टिस्ट हुन्, सोफी सुनुवार। सन् २००८ मा ६ महिने मेकअप आर्टिस्टको तालिम लिई उनी यस पेसामा लागेकी हुन्। नेपालका सफल मेकअप आर्टिस्टमा गनिने उनी अहिले अमेरिकाको न्युयोर्कमा बस्छिन्। उनी आफूलाई बाल्यकालदेखि नै सौन्दर्य पेसामा रुचि रहेको बताउँछिन्। ‘सानोमा आमाका सौन्दर्य सामग्रीसँग खेलिबस्थेँ,’ उनी भन्छिन्, ‘त्यहीँबाट मेकअपमा मोहनी लाग्यो।’

कपाल र मेकअपसम्बन्धी आधारभूत तालिम लिएपछि उनलाई व्यावसायिक रूपमा यस क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो। ‘तालिम लिएपछि मैले गर्ने काम यही हो भन्ने लाग्यो,’ उनी सुनाउँछिन्।

नेपालका लोकप्रिय मेकअप आर्टिस्टमा दरिएकी उनले सौन्दर्य क्षेत्रमा लामो समय बिताएकी छन्। उनी काम गर्दा आइलागेका हरेक चुनौतीलाई अवसरका रूपमा लिने गर्छिन्। अनि काममा दक्षता हासिल गर्दै गइरहेकी छन्। नेपालमा हुँदा केही प्रसिद्ध फेसन, ब्युटी र लाइफ स्टाइलसम्बन्धी पत्रिकाका लागि उनले काम गरेकी छन्।

नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’मा २०१५, २०१६ र २०१७ गरी तीन वर्ष उनी आधिकारिक मेकअप आर्टिस्ट थिइन्। जहाँ उनले सबै प्रतियोगीको कपाल र मेकअप गरिदिन्थिन्। ‘त्यो मेरा लागि सबैभन्दा राम्रो प्लेटफर्म थियो,’ उनी भन्छिन्।

काठमाडौँ, नागपोखरीमा उनको हेयर एन्ड मेकअप स्टुडियो थियो। अमेरिका जानुअघि त्यो बेचिन्। म्युजिक भिडियो, ठूलठूला कार्यक्रम र टीभी सोका लागि मात्र नभई नेपाली फिल्ममा समेत उनले मेकअप आर्टिस्टका रूपमा काम गरेकी छन्। नेपालका धेरै चर्चित सेलिब्रेटीको मेकअप उनले गरिसकेकी छन्।

यूएनडीपीको ‘सफल महिला’ सिरिजमा अटाएकी सोफीले नेपाल टेलिभिजनबाट प्रसारण भएको एक कार्यक्रममा आफ्नो कामबाट खुसी भएको बताएकी थिइन्। ‘आफ्नो कामबाट सन्तुष्ट छु,’ अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेकअप गर्नु कामजस्तै लाग्दैन। यो त मेरा लागि ध्यानजस्तै हो। खेलिरहेको जस्तो। खेल्दाखेल्दै पैसा कमाइरहेको जस्तो।’

डेढ दशकयता नेपालका फेसन र मनोरञ्जन उद्योगमा सक्रिय उनी ट्रान्सजेन्डरप्रति नेपाली समाजको दृष्टिकोण अहिले पनि पूर्ण रूपमा नबदलिएको बताउँछिन्। ‘सीप र क्षमता अभिवृद्धि गरेर आफ्नो काममा सफल बन्न सके समाजको दृष्टिकोण बदल्न सकिन्छ,’ उनी भन्छिन्।
उनीजस्ता धेरै पारलैंगिक महिलाका लागि सौन्दर्य पेसा ठूलो अवसर बनेको छ।

सोफीलाई नै आफ्नो प्रेरणा मान्ने अर्की ट्रान्सजेन्डर मेकअप आर्टिस्ट हुन्, नीलम पौडेल। ‘बच्चामा ड्रेस डिजाइनर बन्ने रहर थियो,’ उनी भन्छिन्, ‘आफूसँग भएका ड्रेस काटेर नयाँनयाँ डिजाइन दिने गर्थेँ। त्यही सोखले यतातिर डोर्‍यायो।’

सोफीजस्तै नीलमले पनि सुरुमा मेकअप आर्टिस्टको आधारभूत तालिम लिएकी थिइन्। त्यसबाट अलिअलि काम पाउन थालेपछि उनको आत्मविश्वास बढ्यो। यसै क्षेत्रमा लाग्न हौसिइन्। आफ्नो सीपमा निखार ल्याउन यससम्बन्धी तालिम लिन थालिन्। तालिमकै लागि विदेशसम्म पुगेकी छन्। मेकअपसम्बन्धी त्यहाँका नयाँ-नयाँ अनुभव बटुलेकी छन्।

मेकअप आर्टिस्ट भइसकेपछि थुप्रै नेपाली सेलिब्रेटीलाई उनले सजाइदिएकी छन्। प्रियंका कार्की, वर्षा शिवाकोटी, माल्भिका सुब्बालगायत सेलिब्रेटी नीलमबाट सिँगारिका छन्।

नीलम मेकअप आर्टिस्टमात्र होइनन्। उनी मोडल पनि हुन्। फेसन सोहरू पनि आयोजना गर्ने गर्छिन्। सौन्दर्य क्षेत्रमा रमाइरहेकी उनी सुरुमा पेसाका रूपमा अँगालेको काम अब आफ्नो ‘प्यासन’ बनेको विभिन्न अन्तर्वार्तामा उनले बताएकी छन्।

एउटा टेलिभिजन अन्तर्वार्तामा नीलमले मेकअप गर्नुलाई कलाको संज्ञा दिएकी थिइन्। ‘मेकअप गर्नु कला हो,’ प्रीति पिटरसँग कुरा गर्दै उनले भनेकी छन्, ‘चित्रकारले चित्र बनाएजस्तै मेकअप आर्टिस्टले कसैलाई सिँगार्नु भनेको एक कला हो।’

मेकअपसम्बन्धी तालिमकै लागि केही समयअघि उनी भारतको राजधानी दिल्लीमा पुगेकी थिइन्। दिल्ली हुँदा उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गरेकी थिइन्, ‘भनिन्छ नि सपना त्यो पूरा हुन्छ जुन खुला आँखाले देखिन्छ, मैले पनि एउटा सपना देखेको थिएँ। त्यो आज पूरा भएको छ।’ मेकअप आर्टिस्ट भएर नाम कमाउने आफ्नो सपना पूरा भएको भावले उनले त्यो स्ट्याटस पोस्ट गरेकी थिइन्।

उमिशा पाण्डे अर्की ट्रान्स मेकअप आर्टिस्ट हुन्। उनले मेकअप गरिदिन थालेको दुई दशकभन्दा बढी भइसक्यो। उनी कलाकार पनि हुन्। ‘नृत्यमा सानैदेखि रुचि थियो,’ उनी भन्छिन्, ‘सडक नाटक, थिएटरसबै गरेकी छु। डान्सर त म अहिले पनि हो।’

काठमाडौँकी रैथाने उनी आफ्नो मेकअप आफैँ गर्थिन्। उनको सीपको सबैले प्रशंसा गर्थे। जसले उनको हौसला बढायो। ‘मेरो मेकअप देखेर धेरैले तारिफ गर्थे,’ उनी भन्छिन्, ‘यसमै केही गर्नुपर्छ भन्ने लाग्यो।’ अनि नृत्यसँगै सौन्दर्य पेसा पनि अघि बढाइन्।

काम गर्ने सिलसिलामा फिल्मका कलाकारसँग भेटघाट र चिनजान भयो। जसले उनलाई म्युजिक भिडिओ, टेलिभिजन कार्यक्रम र फिल्ममा कलाकारको मेकअप गरिदिने अवसर दिलायो। नेपालका चल्तीका अभिनेत्री र मोडलको अनुहार क्रिमपाउडर दलेर टिलिक्क पारिदिएकी छन्। तिनका कपाल कोरीबाटी गरिदिएर चिटिक्क पारिदिएकी छन्। ‘नेपालका लगभग सबै नायिका र गायिकाको मेकअप गरिदिएकी छु,’ उनी भन्छिन्।

अभिनेत्री करिश्मा मानन्धरकी त उनी मन पर्ने मेकअप आर्टिस्ट हुन्। धेरैजसो उनले अभिनेत्रीको सिँगारपटार गरिदिने गरेकी छन्। धेरै ठाउँ र कार्यक्रममा उनीसँगै हिँड्ने गरेकी छन्। ‘उहाँले मलाई असाध्यै माया गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘कार्यक्रममा आफूसँगै लग्नुहुन्छ।’

उमिशा अहिले कलाकारिताभन्दा मेकअपमा बढी सक्रिय छिन्। ‘हरेक मानिसमा कुनै न कुनै सीप हुनैपर्छ,’ उनी भन्छिन्, ‘सीपले मान्छेको आत्मबल बढाउँछ। गरिखाने बाटो देखाउँछ।’ दामभन्दा पनि नाम कमाएकोमा उनलाई खुसी लाग्छ।

‘करिश्मा मानन्धर, सुषमा कार्की, नीता ढुंगानालगायत धेरै सेलिब्रेटीको मेकअप गरिदिएकी छु,’ उनी सुनाउँछिन्, ‘मेकअप आर्टिस्टका रूपमा चिनिँदा खुसी लाग्छ।’ नयाँ पुस्ताका केही कलाकारको मेकअप गर्न पाएकी छैनन्। अवसर पाए तिनको मेकअप पनि गर्ने इच्छा उनको छ। मेकअप आर्टिस्टकै लागि तीनटा अवार्ड पनि जितिसकेकी छन्।

पहिलेभन्दा अहिले समय र परिवेश बदलिए पनि ट्रान्सजेन्डरहरूलाई हेर्ने दृष्टिकोण नबदलिएको उनी बताउँछिन्। ‘मेकअपमा कि महिलालाई प्राथमिकता दिन्छन् कि पुरुषलाई,’ उनी भन्छिन्, ‘हामीलाई त एलियन हो कि जस्तै गरी हेर्छन् कतिपयले।’ पारलैंगिक महिलाले कुनै न कुनै सीप सिकेर आफूप्रतिको दृष्टिकोण बदल्नुपर्ने उनी बताउँछिन्।

प्रकाशित: ६ असोज २०८० १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =