दुर्गमको एउटै विद्यालयमा तीन दशक बिताएका ‘सर’को भावुक बिदाइ

हिमाल प्रेस ६ असोज २०८० १२:१२
100
SHARES
दुर्गमको एउटै विद्यालयमा तीन दशक बिताएका ‘सर’को भावुक बिदाइ

बेनी- शिक्षणको सिलसिलामा तराईको रौटहटबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा ३ दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन।

विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए। छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गरेका उनलाई फरक भूगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो।

तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा विस्तारै घुलमिल हुँदै जाँदा आलमले दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गएनन्, जीवनको महत्त्वपूर्ण समय यही गाउँलाई सुम्पिन पुगे।

विद्यालयमा ३० वर्ष ६ महिना शिक्षण गरेका आलमले २३ पर्षदेखि निरन्तर प्रधानध्यापकका रूपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हाले। तराइदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गरेका आलम अनिवार्य अवकास भएपछि सिंगो वडा तथा गाउँका सर्वसाधारणले अभिनन्दन गरेका छन्।

यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति बनेका छन्। विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमति बाजासहित फूल, माला लगाएर अभिनन्दन गरे।

वडाध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित सिंगो गाउँवासीले उनलाई दोसल्ला, सम्मान पत्र, कदरपत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिए।

एउटै विद्यालयमा ३ दशक बढी समय खर्चेका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिंगो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलोपटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले बताए।

बिदाइमा सिंगो गाउँवासी र विद्यार्थीसहित शिक्षक आलमसमेत भावुक बने। बिदाईमा सबैका आँखा रसाएका थिए। बिदाई भएर जाँदै गरेका शिक्षक आलमले आफू सेवा निवृत्त भएर घर जान लागेकोमा खुसीभन्दा जीवनको ३ दशक समय बिताएका गाउँ छाडेर जानुपरेकोमा भावुक भएको बताए।

शिक्षणबाट अवकाश लिएपछि आफूलाई पारिवारिक रूपमा घरपरिवासँगै बस्ने वातावरण भए पनि जीवनको उर्जावान समय बिताएको गाउँसँग टाढिन परेकोमा आफू दुखी भएको उनको भनाइ थियो। ‘हिजोका ती सबै दुःख आज तपाईहरूले देखाउनुभएको मायाँले भुलाइ दिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईहरूको मुल्यांकनको विषय हो, तर तपाईहरूले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाईलाई सरल, सहज र स्मरणीय बनाइदिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यवाद’ आलमले भने।

यही असोज ३ गते नियमित अवकास लिएका शिक्षक आलमलाई गाउँमा बिदाई गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मानसहित बिदाइ गरेकेो हो।

गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गरे। रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा २०५० मा म्याग्दी आएका थिए।

आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकको रूपमा विद्यालयमा नियुक्त गरेका थिए।

आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले विसं २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरवृद्धि गरिएको थियो। विसं २०५७ देखि विद्यालयमा प्रधानध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो।

विसं २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पेका आलमलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यसअघि नगद १ लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

विसं २०५३ मा परीक्षा दिएर विसं २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम विसं २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए। रासस

प्रकाशित: ६ असोज २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =