खेलाडीले अनुमति नपाएपछि भारतीय खेलमन्त्रीको चीन भ्रमण रद्द

हिमाल प्रेस ५ असोज २०८० १९:५८
4
SHARES
खेलाडीले अनुमति नपाएपछि भारतीय खेलमन्त्रीको चीन भ्रमण रद्द फाइल तस्बिर

नयाँदिल्ली- एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका ३ जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिइएपछि भारतका खेलकुद मन्त्री अनुराग सिंह ठाकुरले चीन भ्रमण रद्द गरेका छन्।

उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाञ्चल प्रदेशका ३ जना महिला खेलाडीले एसियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र (एक्रिडिएशन) नदिएपछि खेलमन्त्रीले भ्रमण रद्द गरेका हुन्।

चीनले एक्रिडिएनलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भाग लिनबाट वञ्चित भएका हुन्। चीनले अरुणाञ्चल प्रदेशलाई दक्षिणी तिब्बतका रूपमा आफ्नो भूमि दाबी गर्दै आएको छ। उक्त प्रदेशको केही भूभागलाई लिएर नयाँदिल्ली र बेइजिङबीच विवाद छ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले चीनको यो कदमबाट एसियाली खेलकुदको भावनामा गम्भीर आघात पुगेको बताएका छन्।

‘खेलकुदका नियमको उल्लंघन गरिएकाले हामीले नयाँदिल्लीस्थित चिनियाँ दूतावास र बेइजिङस्थित भारतीय दूतावासमार्फ कडा विरोध गरेका छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्।

शुक्रबारदेखि यही असोज २१ गतेसम्म हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बंगलादेश, भुटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यान्मार, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन्।

४८ देश भएको एसिया महादेशका ४ मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन्। अन्तरराष्ट्रिय ओलम्पिकक कमिटी (आइओसी)ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छ भने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो।

धेरै अरब मुलुक उक्त प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ। रासस/एएफपी

प्रकाशित: ५ असोज २०८० १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =