काठमाडौँ- नेपालको इन्टरनेसनल फिचर फिल्म छनोट समितिले ९६औँ ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अवार्डका लागि फिल्म ‘हल्कारा’लाई सिफारिस गरेको छ।
अन्तर्राष्ट्रिय फिचर विधाका लागि समितिले विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न चाहने नेपाली फिल्म माग गरेको थियो। फिल्मकर्मीले आफ्नो फिल्म सेप्टेम्बर १५ (भदौ २९)सम्म बुझाउनुपर्ने जानकारी समितिले गराएको थियो। त्यसैअनुसार फिल्म ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’ले आवेदन दिएका थिए।
अस्करमा सिफारिसका लागि परेका आवेदनमध्ये ‘हल्कारा’ छनोट भएको छ। प्राप्त फिल्ममध्ये फिल्मका प्राविधिक पक्ष, कथा प्रस्तुति, पात्रको भावनात्मक विश्लेषण तथा सिर्जनात्मक प्रस्तुति आदि पक्षलाई दृष्टिगत गरी फिल्म सिफारिस गरेको समितिले जनाएको छ।
विक्रम सापकोटाको निर्देशन र सम्पादनमा बनेको फिल्ममा हुलाकीको सपना, अन्तरसंघर्ष र वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ। फिल्ममा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।
१० मार्च २०२४ मा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९६औँ अस्कर अवार्ड समारोह हुनेछ। राजु केसीको नेतृत्वमा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ। समितिमा मन्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना र हृतिका भट्टराई सदस्य रहेका छन्।