 
                             
                                            काठमाडौँ- नेपाली सेनाको दुईदिने पृतनापति समन्वयात्मक बैठक बिहीबारबाट जंगी अड्डामा सुरु भएको छ। बैठकको उद्घाटन उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले गरे।
खड्काले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीहरूको पहिचान गरी समाधानका उपायहरू पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले विभिन्ने विषयहरूलाई राष्ट्रिय मुद्दाको रुपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्बल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील तत्त्वहरूलाई राष्ट्रिय सुरक्षाको प्रमुख चुनौतीको सेनाले लिनुपर्ने बताए। ‘यसलाई नेपाली सेनाले आफ्नो प्राथमिकतामा राखेर कार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने।
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी बहन गरिरहेको बताए। उनले नेपाली सेनालाई थप सुदृढीकरण र आधुनिकीकरण गर्ने तर्फ नेपाल सरकार, रक्षा मन्त्रालयबाट प्राप्त साथ सहयोगको लागि आभार व्यक्त गरे।
उनले समग्र देशको परिस्थिति र परिवेशको विश्लेषण गर्दै अन्तर सुरक्षा निकायबीच सूचना आदानप्रदान गरी भावी सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक रहेको समेत बताए।
शुक्रबारसम्म चल्ने समन्वयात्मक बैठकमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 