विराटनगरमा रथयात्राको तयारी पूरा

हिमाल प्रेस २० भदौ २०८० २०:५८
12
SHARES
विराटनगरमा रथयात्राको तयारी पूरा

इटहरी- विराटनगरमा बिहीबार (भोलि) हुने राधाकृष्ण रथयात्राका लागि सबै तयारी पूरा भएको छ। ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने यात्राको आवश्यक तयारीसहित विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

विराटनगरमा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको राधाकृष्ण रथयात्राको सबै तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ। विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने परम्परा छ।

हजारौं भक्तजनको उपस्थितिमा राधा र कृष्णको युगल जोडीसहितको रथलाई विराटनगर बजार परिक्रम गराउने चलन छ। बिहीबार निकालिने रथयात्राको सबै तयारी पूरा भएको राधाकृष्ण रथयात्रा समारोह समितिको भनाइ छ।

विराटनगर महानगरपालिका १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रालाई भव्य, सभ्य र व्यवस्थित बनाउन विभिन्न १८ वटा उपसमिति गठन गरेर परिचालन गरिएको छ।

राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्राका लागि प्यागोडा शैलीको रथलाई सजाउने, सरसफाई गरेर रुट व्यवस्थित बनाउनेलगायत व्यवस्थापनका सबै काम सम्पन्न गरिएको जानकारी दिए।

रथको श्रृंगारका लागि भारतको कोलकाताबाट ६ जना कालीगढ बोलाइएको थियो। रेग्मीका अनुसार रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइ भएको रथ तयार पारिएको छ।

भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ। दायाँतर्फको डोरीबाट पुरुष तथा बायाँतर्फको डोरीबाट महिलाले रथ तान्ने जानकारी रेग्मीले दिए।

दिउँसो ३ बजे राधाकृष्ण मन्दिर परिसरबाट निस्किने रथयात्राको रुट तय भइसकेको छ। विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्रा विसर्जन गरिनेछ।

रथयात्रका लागि करिब ९ किलोमिटर दूरी तय गरिएको छ। विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए। विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने रेग्मीको भनाइ छ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बुधबार प्रहरीलाई ‘विशेष बिफ्रिङ’ गर्दै रथयात्राको सुरक्षामा कुनै पनि कमजोरी हुन दिन नहुने बताए। रथयात्राका लागि बलियो र भरपर्दो सुरक्षा व्यवस्था मिलाउन एसपी पोखरेलसहित डीएसपीहरू रन्जनकुमार दाहाल, विजय श्रेष्ठ, छेदीलाल कामतीलगायत प्रहरी अधिकारी आफै फिल्डमा खटिने छन्।

सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ। भक्तजनलाई विभिन्न सुझाव दिएर सचेत गराउँदै प्रहरीले शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाएको छ। राधाकृष्ण मन्दिर परिसरदेखि विराटनगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी गर्न थालिएको छ।

रथयात्राको अवलोकनमा धेरै भक्तजनको उपस्थिति हुने भएकाले भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीलगायत घटना हुनसक्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ।

प्रकाशित: २० भदौ २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =