एमाले लुम्बिनी अधिवेशन

पौडेल-पोखरेल शक्ति सन्तुलन नमिल्दा मतदान

विनोद परियार १८ भदौ २०८० ९:०४
16
SHARES
पौडेल-पोखरेल शक्ति सन्तुलन नमिल्दा मतदान

लुम्बिनी- नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतीमा टुग्याउन निर्देशन दिएपनि अध्यक्षसहित पदाधिकारीमा दुई समूहको छुटाछुट्टै उम्मेद्वारी दर्ता भएपछि मतदान हुने भएको छ।

आइतबार अवेरसम्म पनि सहमतिको प्रयास भएपनि अन्तत अध्यक्षमा वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गरेका हुन्।

निर्वाचन आयोगले सोमबार (आज) बिहान १० बजेसम्म मनोनयनको समय तोकेको छ।

उम्मेद्वार मनोनयन भएपनि अहिलेसम्म निर्वाचन कार्यालयले भने मतदानका लागि यकिन सूचना दिएको छैन। ‘बिहान १० बजेसम्म मनोनयनको समय दिइएको छ, त्यसपछि मतदानको समय तय हुन्छ’ अधिवेशनका प्रमुख निर्वाचन आयुक्त हरिप्रसाद भण्डारीले भने।

उनका अनुसार अध्यक्ष सहित अन्य पदमा पनि उम्मेद्वारी परेको छ। उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा १२ जनाको उम्मेद्वारी परेको छ।

उपाध्यक्षमा उम्मेदारी दिएका श्रेष्ठ कँडेल र विश्वकर्मा रिजाल पक्षका हुन्। अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ।

केन्द्रीय सदस्य समेत रहेका रिजाल प्यूठानबाट प्रतिनिधि छनौट भएपछि लुम्बिनीमा एमालेको अधिवेशन दुई समूहमा विभाजित बनेको थियो। नेतृत्वको विषयमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो शक्तिसँग तुलना गरेकाले अधिवेशन पेचिलो बनेको हो।

नेताहरू उपाध्यक्ष पौडेल र महासचिव पोखरेल समूहमा विभाजित भएर प्रतिनिधि छनौटदेखि नै लविङ भएको थियो। दुई नेताले एकले अर्काको शक्ति लडाइँ र प्रतिष्ठान ठानेकै कारण अध्यक्षका आकाक्षी कँडेल र रिजाल दुवै अडानमा अडिग रहेका हुन्।

महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष राधाकृष्ण कडेललाई समर्थन गरेका छन्।

यो सँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित भएका हुन्। पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेत नारायण आचार्य, भुमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन्।

त्यस्तै पार्टी सचिव छविलाल विश्वकर्मा, अर्का सचिव गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी लगायतका नेताहरु कंडेलको पक्षमा छन्।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ। अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन्।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । केन्द्रीय तहबाट सहमतीमै नेतृत्व टुग्याउनुपर्ने निर्देशन आएकाले निर्वाचन कार्यतालिका स्पष्ट हुन सकेको छैन।

१६ र १७ गतेका लागि तय भएको अधिवेशन सहमतीका नाममा केन्द्रले निर्देशन दिदा तीन दिन बित्दा पनि मतदानको समय यकिन नभएको नेताहरुको भनाई छ । अधिवेशन अझै लम्बिने देखिएको छ।

प्रकाशित: १८ भदौ २०८० ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =