ल्यारक्याल लामा विवादित होइनन्, विवादित बनाइयो : मन्त्री किराती

हिमाल प्रेस १७ भदौ २०८० २०:५९
6
SHARES
ल्यारक्याल लामा विवादित होइनन्, विवादित बनाइयो : मन्त्री किराती सुदन किराँती

मोरङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नु जायज भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल मोरङले आज (शुक्रबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लामा विवादित नभएर विवादित बनाइएको तर्क गरेका हुन्। ‘उहाँ (लामा) कुनै पनि संवैधानिक निकायमा दोषी ठहरिनुभएको छैन,’ उनले भने, ‘लामालाई विवादित बनाइएको हो।’

लामामाथि नक्कली नागरिकता र राहदानी बनाएको, गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरेको, लामाको बैंकको लकरमा गोली भेटिएकोलगायतका आरोप लाग्दै आएको छ।

मन्त्री किरातीले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारी मोडलमा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा छिट्टै प्रस्ताव लग्ने जानकारी दिए। उनले जनताप्रति उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रमा सहज रूपमा आवतजावत गर्न हवाई उडान सञ्चालनका लागि एयरलाइन्सले आफ्नै लगानीमा तीनवटा साना जहाज खरिद गर्न लागेको बताए।

यस्तै मन्त्री किरातीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष सञ्चालन हुने बताएका छन्। दलहरू अस्थिरताबाट जोगिन र कामका आधारमा वर्तमान सरकार अक्षरस सहमति पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने उनले दाबी गरेका हुन्।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार न्यूनीकरण अभियान नरोकिने भन्दै उनले अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरे।

‘इतिहासदेखि जातीय द्वन्द्व र साम्प्रदायिक सद्भाव खलबलाउने कार्य नेपाली जनताले अस्वीकार गरेका छन्, आफ्नो संस्कृतिलाई लागू गर्दा अर्काको संस्कृतिमा आँच आउन दिनु हुँदैन,’ उनले भने। राससको सहयोगमा

प्रकाशित: १७ भदौ २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =